सभामुखले "पत्रकार बिक्रीमा छन् ..." भनेपछि सामाजिक सञ्जालमा "ठीकै त भने नि!" भन्ने र "त्यसो भन्नु हुँदैनथ्यो" भन्नेहरू आआफ्ना तर्क राखिरहेका छन्। कतिले त "जो बिकाउ छन्, रिसाउने तिनै हुन्" समेत भनेका छन्।
म पनि "सभामुखले गलत भने" नै भन्छु, तर त्यति मात्र भनेर मेरो कुरा सकिँदैन।
१. सबै पेशामा गलत मान्छे छन्, तर गलतका कारण पेशालाई नै बद्नाम गर्न हुँदैन। आफूले काम गर्ने निजी अस्पताललाई अवाञ्छित नाफा गराएर बसेका डाक्टर नभएका होइनन्, तर दोषी औँल्याए हुन्छ, त्यसैका कारण डाक्टरी पेशालाई बद्नाम गराउनु हुँदैन।
सबै पेशाका यस्ता उदाहरण जोडेर म यो पोस्ट लामो बनाउँदिनँ।
२. खास व्यक्ति र दलहरूमा पत्रकारिताजगतप्रति अलि चर्कै रिस छ। कारण हो, राम्रो पत्रकारिताका कारण उनीहरू मनोमानी गर्नबाट पटक पटक रोकिएका छन्। मण्डलेहरू र चर्का राजावादीहरूमा २०५८ - ६३ देखिकै रिस जम्मा भएको छ। केपी ओलीले संसद विघटन गर्न खोज्दा पत्रकारिता जगतले गरेको प्रतिकारको रिस पनि त सितिमिति मर्ने कुरा भएन नि !
३. राजनीति गर्नेहरू मध्ये धेरै (अनुपातमा हेर्ने हो भने पत्रकारभन्दा धेरै) गलत मति र आचरण भएका व्यक्ति छन्। तर हामी तिनका कारण "राजनीति नै गलत" भन्दैनौँ। उत्साहसाथ भोट दिन्छौँ र ती गलतहरू मध्येकै कुनैलाई जिताउँछौँ। "राजनीति गलत हो" भन्ने भाष्य स्थापित भयो भने तानाशाहीलाई बल पुग्छ भन्ने कुरा हामीले आफ्नै देशमा पटक पटक बेहोरिसकेका छौँ ।
४. पत्रकारिता जगतमाथि नै पटक पटक हिलो छ्यापिनुको खास कारण अर्कै छ। आधुनिक संसारमा पत्रकारिता नभएर हुँदैन र अर्को देशबाट निष्पक्ष पत्रकार ल्याएर यहाँको पत्रकारिता हुँदैन। यो देशमा लोकतन्त्रका पक्षमा बलियो गरी लगिरहेका व्यक्ति र संस्थाहरूलाई बद्नाम गर्न सकियो भने मनमानीतन्त्र चलाउन सजिलो हुन्छ भन्ने कुरा सबै पार्टीका फटाहाहरूलाई थाहा छ, र नै उनीहरू यो काम गरिरहेका छन्। तर यो "बिकाउ पत्रकारिताले एक दिन पनि आफ्नो समाचार छापेन भने कानी नभेटेको अम्मली जस्तो छटपटाउने यिनै हुन्छन् ।
अन्त्यमा,
कृष्णबहादुर महरा बलात्कारको अभियोग प्रमाणित भएर जेल बसेका हुन् भन्दैमा "सभामुख भनेको बलात्कारी पद हो" भनेर कसैले भन्यो भने त्यो खुस्किएछ भनेर बुझे हुँदैन?
एउटा पुरानो हिन्दी गीत पनि छ नि, "चोरों को सारे नजर आते है चोर ..."