इटाभट्टा, असोज ११ ।
झापाको मेचीनगर नगरपालिकाले असारमा सम्पन्न नगरसभाबाट चालु आर्थिक बर्ष २०७७/०७८ का लागि एक अर्ब ३५ करोड ५८ लाखको बजेट स्वीकृत गरेको छ ।
नेपालकै धेरै बजेट भएको नगरपालिकाका रुपमा परिचित मेचीनगरले यो बर्षको बजेटमा चालु खर्चका लागि १७ करोड ४७ लाख रकम छुट्याएको छ ।
नगरपालिकाले स्वास्थ्य शाखाका लागि सबैभन्दा थोरै रकम बिनियोजन गरेको छ । मेचीनगरको बार्षिक नगरबिकास योजना पुस्तीकामा प्रकाशन गरे अनुसार यो बर्ष स्वास्थ्य शाखाका लागि ३० लाख मात्रै बजेट बिनियोजन गरेको छ । स्वास्थ्य शाखाको बजेटमा यो बर्ष नियमित कार्यक्रम मात्रै समावेश गरेर ३० लाख रकम बिनियोजन गरिएको छ ।
मेचीनगरको सबैभन्दा धेरै बजेट भौतिक पुर्वाधार शाखामा छुट्टिएको छ । यो शाखाका लागि ४० करोड ६२ लाख रकम बिनियोजन भएको छ । त्यस्तै सामाजिक विकास शाखामा एक करोड ९० लाख रकम बिनियोजन भएको छ ।
नगरको कृषि विकास तथा पशु सेवा शाखाका लागि एक करोड ४४ लाख रकम छुट्याइएको छ । जसमध्ये कृषि तथा पशु विकास तर्फ ५० लाख, कृषि कार्यक्रम अन्तर्गत ५९ लाख र पशु सेवा तर्फ ३५ लाख रकम छुट्याइएको हो ।
त्यस्तै आर्थिक विकास शाखाका लागि एक करोड २० लाख रकम छ भने शिक्षा विकास शाखाका लागि एक करोड ३ लाख रकम बिनियोजन गरिएको छ ।
नगरपालिकाले सबै १५ वटा वडा कार्यालय मार्फत खर्च हुने गरि हरेक वडा कार्यालयलाई एक करोडका दरले १५ करोड रकम छुट्याएको छ । वडा कार्यालयलाई थप श्रोत ब्यवस्थापन भएमा भनेर थप एउटा वडालाई ५० लाखका दरले ७५ लाख रकम समेत बिनियोजन गरेको छ ।
मेचीनगर नगरपालिकाले स्थापना गरेका विभिन्न कोषहरुमा यो बर्ष दुई करोड ५८ लाख रकम छुट्याइएको छ ।