मेचीनगर, चैत्र १ । विगत केहिदिन देखि चारआलीबाट दक्षिणी भेगमा पर्ने हातेमालो सामुदायिक वन अन्तर्गतको जंगल क्षेत्रमा निरन्तर आगो लागिरहेको छ ।
चारआली-चन्द्रगढी सडक अन्तर्गत पूर्व पश्चिम राजमार्गबाट करिब १ किमि दक्षिणमा निरन्तर डढेलो लागिरहेको हो । वनमा डढेलो लागिरहँदा वनबाट निस्किएको धुवाँले सडक नै ढाक्ने गरेको छ भने स्थानीयको स्वास्थ्यमा समेत धुवाँले असर गरिरहेको छ । उक्त वन क्षेत्र हातेमालो सामुदायिक वन उपभोक्ता समुह अन्तर्गत पर्छ ।
वनमा निरन्तर डढेलो लागिरहेका बेला वन समिति भने डढेलो नियन्त्रण प्रयासमा निरन्तर लागिरहेको बताउँछ । समितिका अध्यक्ष चन्द्र प्रसाद सिग्देल वन समितिका पदाधिकारी तथा वन हेरालु डढेलो नियन्त्रण गर्न हरसम्भव प्रयास गरिरहेको बताउनुहुन्छ ।
‘हामी नियन्त्रण गर्न लागिरहेका छौँ, वनमा सुकेका पात पतिंगर अत्यन्तै धेरै भएकाले नियन्त्रणमा समस्या भइरहेको छ ।’ सेतोपत्रसगँ कुराकानी गर्दै उहाँले भन्नुभयो ‘गएराति मात्रै ११ बजेसम्म निरन्तर आगो निभाउन लागि लागि प¥यौँ ।’
वन क्षेत्र ४ सय हेक्टरमा फैलिएकाले एकातिर निभाउँदा अर्को तिर लाग्ने, त्यता निभाउँदा अर्को तिर सल्किने समस्या भइरहेको उहाँले बताउनुभयो ।
चन्द्रगढी क्षेत्रबाट फैलिएको डढेलोले समस्या भइरहेको उहाँको भनाई छ । ‘चन्द्रगढीबाट सल्किएको डढेलोले वन क्षेत्रमा ठुलो असर पुर्याइरहेको छ ।’ उहाँले भन्नुभयो ।
हात्तीबाट बच्न वनमा डढेलो !
अध्यक्ष सिग्देलले हात्तीबाट बच्न अदृष्य उपभोक्ताले नै वनमा आगो लगाउने गरेको आफुले जानकारी पाएको बताउनुभयो ।
‘घरअगाडी ठुलो घारी भएपछि हात्ती देखिँदैन त्यसकारण अहिले नै डढेलो लगाएर पछि हात्तीबाट बचिने भएकाले अदृष्य उपभोक्ता ले नै डढेलो लगाउने गरेका छन् ।’ उहाँले भन्नुभयो ।
भित्रि वन क्षेत्रमा शिकारीले डढेलो लगाउने गरेको उहाँको भनाई छ । अदृष्य उपभोक्ता र शिकारीले नै डढेलो लगाउने गरेकाले नियन्त्रणको प्रयास निरन्तर गरिरहेपनि पुर्ण रुपमा नियन्त्रणमा लिन असफल भइरहेको उहाँको भनाई छ ।
यद्यपी वनमा डढेलो लगाउँदा वन्यजन्तुको बासस्थान मासिने, स्थानीयको स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने भएकाले डढेलो लगाउने व्यक्तिको खोजीमा निरन्तर लागिरहेको उहाँले जानकारी दिनुभयो ।


