मेचीनगर, फागुन २९ । आँप लिचीका बोटमा झपक्क फुलेका छन् मज्जर । चियाको बगानमा हरियो पालुवा बनेर आएको छ कलिलो मुना । चियाका हरिया मुना र आँप लिचीमा फुलेका फूलहरुले अहिले गाउँको सुन्दरता नै बदलिदिएको छ ।
गाउँमा अधिकांश घरमा आँपका बोट छन् । सबै बोटमा आँपका फूलहरु फुलिरहेका छन् । यसपाली पर्याप्त बर्षा नभएपनि आँपले फूल खेल्न भने कुनै लोभ गरेको छैन । हाँगा नै नुहुनेगरी मञ्जरी फूल फुलेका छन् ।
बोटभरी झपक्क मज्जर फुलेका देखेर किसान पनि खुशी छन् । ‘चैत बैशाखमा ठुलो हावाहुरी नआए यसपाली आँप मज्जाले फल्नेछ, किनकि पातै नदेखिने गरी फुल लागेको छ ।’ मेचीनगर ५ का स्थानीय दुर्गा चौलागाँइ भन्नुहुन्छ ‘अघिल्लो बर्षपनि आँप, लिची राम्रो फलेको थियो यसपाली पनि त्यस्तै फल्ने गरी फूल लागेको छ ।’
आँपले झपक्क फूल खेलिरहँदा बर्षा भने पर्याप्त हुन सकिरहेको छैन । जसका कारण रोग लाग्ने हो कि भनेर स्थानीय चिन्तामा छन् । ‘आँप, लिचीलाई यतिखेरको बर्षा अमृत झैँ हुन्छ, तर पानी खासै परेको छैन ।’ उहाँ भन्नुहुन्छ ‘त्यसैले रुखो छ, मधुवा लाग्छ कि भन्ने चिन्ता छ ।’
तरपनि किसान बोटमा लागेका फूलहरु देखेर अत्यन्तै खुशी छन् । चैत बैशाखमा ठुलो हावाहुरी नआइदिओस भन्ने किसानको कामना छ ।
बोटभरी झपक्कै मज्जर (तस्वीरहरु)



आँप र लिचीमा झपक्कै मज्जर मात्रै होइन । चिया बगान पनि यतिबेला उत्तीकै हरियाली छ । चियाका नयाँ मुनाहरुले बगानलाई नै सजाइदिएको छ ।
तस्वीरहरु


