मेचीनगर, फागुन २७ । विर्तामोडका सविन लिम्बु र भद्रपुरकी सुस्मिता राईले रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला म्याराथन दौड प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
आज आयोजित खुला म्याराथन दौडमा प्रतिस्पर्धिहरुलाई उछिन्दै पुरुष तर्फ सविन र महिला तर्फ सुस्मिता उपाधि जित्न सफल बन्नुभएको हो ।
काँकरभिट्टाबाट धुलाबारीसम्मको निर्धारित दुरी १९ मिनेट १७ सेकेन्डमा पार गर्दै विर्तामोडका सविन लिम्बुले प्रमाण पत्रसगैँ प्रथम पुरस्कार १० हजार प्राप्त गर्न सफल बन्नुभयो भने निर्धारित दुरी २६ मिनेट ५७ सेकेन्डमा पार गर्दै भद्रपुरकी सुस्मिता राईले प्रथम पुरस्कार कब्जा गर्नुभएको हो । उहाँले पनि प्रमाण पत्रसगँै नगद १० हजार प्राप्त गर्नुभयो ।
यस्तै प्रतियोगितामा पुरुष तर्फ क्रमश: सरदसिंह लिम्बु दोस्रो, प्रज्वल रायमाझी तेस्रो, बबि चौधरी चौथो र अर्जुन बस्नेत पाचौँ हुनुभयो । उहाँहरुले क्रमश ७ हजार, ५ हजार र २/२ हजार प्राप्त गर्नुभएको छ ।
यस्तै महिला तर्फ पनि क्रमश: सविना तामाङ दोस्रो, रुपा राई तेस्रो, सरिता दनुवार चौथो र सबिता चौहान पाँचौ बन्न सफल बन्नुभयो । उहाँहरुले पनि क्रमश क्रमश ७ हजार, ५ हजार र २/२ हजारसगैँ प्रमाण पत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा चौथो र पाँचौ हुने दुवैलाई २/२ हजार पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष अनन्तप्रकाश वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, कञ्चन बराल लगायत रोटरी तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । म्याराथन दौडमा सहभागी सबै विद्यार्थीहरुलाई संस्थाले प्रमाण पत्र पनि प्रदान गरेको छ ।