मेचीनगर, फागुन २६ । मेचीनगर ५ का टेक बहादुर खड्कालाई केहिदिन अघि नगरपालिकाले व्हिलचियर वितरण गर्दैछ भन्ने कुरा थाहा भयो । घरमा बुबा बृद्ध भएकाले बुबाले व्हिलचियर पाउनुहुन्छ कि भन्ने उहाँलाई आशा लाग्यो । वडासदस्यहरुले पनि बुबाले व्हिलचियर पाउनुहुन्छ भनेर आश्वासन दिए ।
वडासदस्यकै जानकारी अनुसार उहाँ आज विहान मेचीनगर नगरपालिका परिषरमा बृद्ध बुबालाई लिएर आउनुभयो । तर नगरपालिकामा त व्हिलचियर वितरण होइन जनप्रतिनिधिबिच नै व्हिलचियर कसलाई दिने कसलाई नदिने भन्ने कुरामा भनाभन हुन थाल्यो ।
व्हिलचियर लिन भनेर आउनुभएका उहाँ आफै अलमलमा पर्नुभयो । मेचीनगर ५ बाट खड्का मात्रै होइन अन्य ३ जना पनि नगरपालिकामा उपस्थित भएका थिए । तर नगर परिषरमा जनप्रतिनिधिबिच भएको त्यो व्यवहारले उनीहरु नै जिल्ल परे ।
वास्तवमा मेचीनगर नगरपालिकामा आज अपांगता भएका व्यक्तिलाई व्हिलचियर वितरण गर्ने भनेर कार्यक्रम राखिएको थियो सोहि अनुसार विभिन्न वडाबाट नागरिकहरु उपस्थित भएका थिए । तर आज विहान जनप्रतिनिधिबिच नै कार्यविधिका विषयलाई लिएर विवाद हुदाँ नागरिकहरु अन्यौलमा परेका हुन् ।
नगरले अत्यावयश्यक, अपांगता भएका नागरिकहरु जो हिँड्नै सक्नुहुन्न, जसलाई व्हिलचियरको अत्यन्तै आवयश्यक छ उहाँहरुलाई मात्रै वितरण गर्ने भनेर कार्यविधि बनाएको थियो । नगर उपप्रमुख मिना पोखरेल उप्रेतीका अनुसार अत्यावयश्यकलाई मात्रै व्हिलचियर दिने गरी कार्यविधि निर्माण गरिएको थियो ।
‘तर वडासदस्यहरुले कार्यविधि नै नबुझी नागरिकहरु लिएर आउनुभयो, वडा सदस्यले त कार्यविधि जान्नुपर्छ नि ।’ उपप्रमुख उप्रेतीले भन्नुभयो ‘नगरपरिषरमा आएका नागरिकहरु कसरी फर्काउनु ?’
नगरउपप्रमुखले यसो बताइरहेका बेला वडासदस्यहरु भने नगरले पठाएको नाम अनुसार नै नागरिकहरु लिएर आएको बताउँछन् । एक वडासदस्यका अनुसार यी यी मानिसलाई लिएर आउनु भनेर नगरपालिकाले जानकारी गराएको थियो । सोहि अनुसार वडाले मानिस पठाएको हो ।
तर जनप्रतिनिधिबिच नै व्हिलचियर कसलाई दिने कसलाई नदिने भन्ने विषयमा तकवितर्क हुदाँ आज विहान नागरिकहरु अलमलिएका थिए । ‘वास्तवमा यो नगरको तरिका नै यस्तै छ, नागरिकलाई बोलाएर जनप्रतिनिधि आफैँ यसरी तर्क वितर्क गर्ने हो ।’ एक नागरिक भन्दै थिए ‘कार्यविधि हेरेर, छलफल गरेर मात्रै हामीलाई बोलाउनुपथ्र्यो, यसरी त हामीले प्रतिनिधिका कुरा कसरी बिश्वास गर्ने ?’
८ वटा व्हिलचियर वितरण
यसरी नगर परिषरमा तर्क वितर्क भएपनि नगरपालिकाले ८ वटा व्हिलचियर भने वितरण गरेको छ । रातो कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुलाई आज व्हिलचियर वितरण गरिएको हो ।
अन्य अपांगता भएका व्यक्तिहरुलाई भने अब छलफल गरेर वितरण गरिने जनाइएको छ । कार्यविधि भरखरै निर्माण भएकाले वृहत छलफल गर्न नसकिएको र छलफल गरेपछि नगरले आफै बोलाएर व्हिलचियर वितरण गर्ने आज नगरउपप्रमुखले बताउनुभएको हो ।

‘कार्यविधि भरखरै निर्माण भयो, हामी यस विषयमा छलफल गरेर तपाँईहरुलाई आफै बोलाएर व्हिलचियर दिन्छौँ ।’ उहाँले भन्नुभयो ।
रोटरी क्लब अफ काँकरभिट्टाले केहिदिन अघि उपलब्ध गराएको व्हिलचियर नगरले वितरण शुरु गरेको जनाइएको छ ।
आज ८ वटा मात्रै वितरण गरेपनि अपांगता भएका नागरिकहरुको पहिचान गर्दै अन्य व्हिलचियर पनि वितरण गरिने नगरका वरिष्ठ प्रशासकिय अधिकृत अननन्तप्रकाश वस्तीले बताउनुभयो ।