मेचीनगर, फागुन २६ । मेचीनगर नगरपालिका वडा नं ८ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गरिएको छ ।
सृजना चोक पूर्व ४ कट्ठा जग्गामा निर्मित २ तले वडा कार्यालय भवनको आज आयोजित कार्यक्रमका बिच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको हो ।
स्थानीय चन्द्र बहादुर, शिवमाया बस्नेत परिवारले उपलब्ध गराएको ४ कट्ठा जग्गामा मेचीनगर नगरपालिकाका पूर्व मेयर बिमल आचार्यले भवन शिलान्यास गर्नुभएको थियो । जुन भवनको निर्माण सम्पन्न पश्चात आज उद्घाटन गरिएको हो ।
नवनिर्मित भवन परिषरमा आज आयोजित कार्यक्रममा जग्गादाता बस्नेत परिवार सहित पूर्वजनप्रतिनिधि, स्थानीय कृषक, समाजसेवी तथा विभिन्न क्षेत्रबाट वडाको विकासमा योगदान पु¥याउनुभएका दुई दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिना पोखरेल उप्रेतीको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख बुढाथोकीले स्थानीय जनताले प्राप्त गर्ने सेवा सुविधा सहज बनाउनका निम्त्ति जनप्रतिनिधिहरु सदैव लाग्नुपर्ने बताउनुभयो ।
‘भवन मात्रै नयाँ चिटिक्कको बनाएर हुदैँन, जनताले कस्तो प्रकारले सेवा प्राप्त गर्दैछन् ? यस विषयमा हामीले विषेश ध्यान दिनुपर्छ ।’ उहाँले भन्नुभयो ।
वडाध्यक्ष गिरिराज धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य मनकुमारी गिरिले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने वडा सदस्य द्वय बिष्णु भट्टराई र कुन्दन निरौलाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पुण्यचोक स्थित भाडाको कोठाबाट दिइँदै आएको वडाका सेवाहरु अब आइतबारबाट भने वडाको आफ्नै भवनबाट प्रदान गरिने जनाइएको छ ।
कर्मचारीको भिड किन ?
आज आयोजित कार्यक्रममा नगर प्रमुख, उपप्रमुखको उपस्थिती त थियो नै नगरका अधिकांश कर्मचारी पनि त्यहाँ पुगेका थिए ।
लेखा देखि लिएर स्वास्थ्य क्षेत्र नगरका अधिकांश कर्मचारी कार्यक्रममा देखिए । नगरका वरिष्ठ प्रकाशकीय अधिकृत अनन्तप्रकाश वस्ती, लेखा शाखा प्रमुख पदम कार्की, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की लगायत अधिकांश कर्मचारीको कार्यक्रममा आतिथ्यता थियो ।
वडा कार्यालयको भवन उदघाटन कार्यक्रममा अनावश्यक रुपमा नगरका कर्मचारीको ठुलो संख्यामा उपस्थीति भए पछि नगर कार्यापालिकाको कार्यालयमा भने सेवाग्राहीले भने कर्मचारी नभएका कारण काम नभएको गुनासो गर्दै फर्किनु परेको थियो ।