झापा, फागुन २५ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गर्नुभएको छ ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाउनुभयो ।
अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाँले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले आधिकारिक नतिजा भने सार्वजनिक गर्न बाँकी छ ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।
संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहनुभएकाले मतदानमा सहभागी हुनुभएन ।