मेचीनगर, फागुन १९ । आसन्न स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनहरुबिच विवाद हुदाँ काँकरभिट्टा बहुमुखी क्याम्पसमा निर्वाचन कार्यक्रम नै स्थगित भएको छ ।
निर्वाचनका लागि दल दर्ता गर्ने दिन आज विद्यार्थी संगठनहरु बिच नै विवाद भएपछि निर्वाचन अर्को सुचना जारी नभइनजेल सम्मका लागि स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।
तर विद्यार्थीहरु बिच के विषयमा विवाद सृजना भयो ? यस विषयमा भने निर्वाचन समितिले खुलाएको छैन । असहज वातावरण सृजना भएकाले स्थगित गरिएको भनेर समितिले सुचना जारी गरेको छ ।
तर यस विषयमा विद्यार्थी संगठनहरुले भने आचारसंहिता अनुरुप कार्यक्रम हुन नसक्दा विवाद भएको र निर्वाचन स्थगित भएको बताएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालयले आचारसंहिता विपरित विद्यार्थी भर्ना गरेको र आफुहरुले विरोध गर्दा विवाद भएको बताएको छ ।
अनेरास्ववियुका क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेलले आफुहरुको संगठनलाई चौतर्फी घेराबन्दी भएको बताउनुभएको छ । उहाँका अनुसार आज संगठनले क्याम्पसमा होली मिलन कार्यक्रम आयोजना गरेको थियो ।
‘हामीले क्याम्पस प्रशासनको अनुमतिमा कार्यक्रम राखेका थियौँ, तर अघिल्लो दिनसम्म अनुमति दिएको क्याम्पस प्रशासनले सुचना निकालेर कुनैपनि कार्यक्रम नगर्न भन्यो ।’ उहाँले भन्नुभयो ‘हामीले कार्यक्रम गर्न पाउनुपर्छ भनेर माग राख्यौँ, तर हामीलाई सुनियोजित रुपमा कार्यक्रम गर्न दिइएन ।’
आचासंहिता आफुहरुलाई मात्रै लागु नहुने भन्दै उहाँले निर्वाचनलाई लक्षित गरि एकैदिन एक सय पचास जति विद्यार्थी भर्ना गरिएको पनि बताउनुभयो ।
यता नेवि संघले भने यस विषयमा सत्यता नभएको बताएको छ । सेतोपत्रसगँ कुराकानी गर्दै नेवि संघका जिल्ला सदस्य योगेन्द्र खड्काले क्याम्पस प्रशासनले नै आजसम्म विद्यार्थी भर्ना मिति तोकेको र सोहि अनुसार आज विद्यार्थी भर्ना भएका बताउनुभएको छ ।
‘विद्यार्थी भर्ना हुन पाउने मिति आजसम्म थियो, यो क्याम्पसले नै तोकेको मिति हो ।’ उहाँले भन्नुभयो ‘हामीले यसमा कुनै योजना बनाएका थिएनौँ ।’
उहाँका अनुसार विद्यार्थी संगठनहरुबिच विवाद हुदाँ क्याम्पस परिषर तनावग्रस्त बनेको थियो । आचारसंहिता लागु हुदाँ सबै संगठनलाई लागु हुने भन्दै उहाँले अनेरास्ववियुले आचारसंहिता विपरित कार्यक्रम गर्न खोजेकाले रोक्न खोज्दा विवाद भएको बताउनुभयो ।
उहाँका अनुसार हिजो क्याम्पस परिषरमा विद्यार्थी संगठनहरुबिच छलफल पनि भएको थियो । तर छलफलमा आ आफ्ना मागहरु राखिए । जसमा सहमति बन्न नसक्दा आज विवाद भएको हो ।
यतिबेला विद्यार्थी संगठनहरु आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीमा छन् । स्ववियु निर्वाचन हुने अवधि अब तिन साता पनि बाँकी छैन । निर्वाचनलाई लिएर आजबाट आचारसंहिता लागु भइसकेको छ ।