झापा, फागुन १८ । जब आगलागीका घट्ना बढ्न थाल्छन् तब बहसमा आउन थाल्छन् दमकलका कुरा । ‘दमकल समयमा नआउँदा लाखौँको क्षति’ ‘दमकल बिग्रँदा आगलागी नियन्त्रणमा समस्या’ यी समग्र विषयहरु तब बहसमा आउँछन जब आगलागीका घट्ना एक पछि अर्को हुन थाल्छ ।
सुक्खा मौसम, सुकेका वनमा लागिरहेको डढेलो लगायतका कारण आगलागीको जोखिम पनि बढ्ने गरेको छ। केहिदिन अघि मात्रै वनमा लागेको डढेलोले भिषण आगलागीको रुप लिँदा तेह्रथुमको आठराईमा करोडौँको क्षति भयो ।
१४ घर जलेर नष्ट भए भने ९ परिवार विस्थापित बने । यस्तै आगलागीको घट्ना अघिल्लो बर्ष झापाको मेचीनगरमा पनि पटक पटक भएको थियो । काँकरभिट्टाको जुत्ता फ्याक्ट्री देखि नगरकै चाउचाउ उद्योगसम्मलाई आगलागीले क्षति पु¥याएको थियो ।
यतिबेला यस्तै सम्भावित घट्नाको जोखिम बढिरहेको छ । एकातिर जोखिम बढिरहेको छ भने अर्कातिर झापाका अधिकांश पालिकामा दमकल छैनन् ।
दमकल संचालन गर्ने योजना बनाएका झापाका चार पालिकाको योजना पनि अन्योलमा छ । जिल्लाको अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाले आपसी समन्वयमा दमकल संचालन गर्ने योजना बनाएका थिए ।
पालिकामा हुने सम्भावित घट्नाको आँकलन गर्दै प्रदेश सरकारसगँ समन्वय गर्दै यी ४ पालिकाले दमकल सञ्चालन गर्ने योजना बनाएका हुन् । तर योजना अहिले प्रदेशमा अड्किएको छ ।
‘हाम्रो तर्फबाट सबै काम सकेर प्रदेशमा योजना पठाएका छौँ, योजना प्रदेशमा पुगेको छ ।’ कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सेतोपत्रसगँ भन्नुभयो ‘हामीले यस विषयमा प्रदेशमा लगातार जानकारी गराइरहेका छौँ, प्रदेश सरकारले चाँडै हाम्रो योजना सुनुवाई गर्छ भन्ने अपेक्षा छ ।’
उहाँका अनुसार स्वीस विकास कोष र प्रदेश सरकारको आपसी लगानीमा दमकल खरिद हुने हो भने ४ पालिकाले दमकल सञ्चालन गर्नुपर्नेछ । ‘स्वीस विकास कोष र प्रदेश सरकारको लगानीमा दमकल खरिद गर्ने भनिएको छ, हामीले भने सहकार्य गरेर सञ्चालन गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो ।
दमकल सञ्चालनका लागि अर्जुनधाराको मदनपुरमा विपद् व्यवस्थापन केन्द्र समेत स्थापना गरिएको छ । सोहि केन्द्रमार्फत दमकल सञ्चालन गर्ने योजना बनाइएको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्मचारी, दमकल सञ्चालनका लागि आवयश्यक सामाग्रीको व्यवस्थापन भने ४ पालिकाको समन्वयमा गरिनेछ । प्रदेश सरकारसमक्ष योजनाका विषयमा पहल गरिरहेको र चाँडै दमकल सञ्चालन हुनेमा बिश्वस्त रहेको उपप्रमुख पराजुलीले बताउनुभयो ।
यी ४ पालिकामध्ये विर्तामोडसगँ मात्रै दमकल रहेको छ भने अन्य ३ पालिका दमकलविहिन छन् ।