मेचीनगर, फागुन १६ । मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्क परिषरमा आजबाट ७ दिने सांगितिक मेला शुरु हुदैँछ ।
मेचीनगर नगरपालिकाको अनुमतिमा पिस एण्ड हार्मोनी क्लबले सांगितिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
आजबाट शुरु हुने मेला ७ दिनसम्म सञ्चालन हुने देवकोटा पार्क व्यवस्थापन समितिका सचिव फडिन्द्र घिमिरेले सेतोपत्रलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्क व्यवस्थापन समितिले ठाउँ मात्रै उपलब्ध गराएको हो, समिति आयोजक भने होइन । ‘नगरपालिकाको अनुमति आएसगैँ हामीले ठाउँ उपलब्ध गराएका हौँ, पुरानो शौचालय भएको ठाउँ मात्रै दिइएको छ ।’ उहाँले भन्नुभयो ‘पार्क परिषरमा रहेको शालिक भएको ठाउँ भने मेलाको लागि दिइएको छैन, त्यता बार लगाइएको छ ।’
मेलाका लागि १० वटा स्टल बनाइएको छ । कोभिड महामारीपछि सांगितिक कार्यक्रम खासै आयोजना नभएकाले रिफ्रेसमेन्टका लागि मेला आयोजना गर्न समितिले ठाउँ उपलब्ध गराएको पनि उहाँले बताउनुभयो ।
मेला आयोजनाका क्रममा पार्क परिषरमा कुनै क्षति भए त्यसको जिम्मेवारी भने आयोजकले लिनुपर्ने सहमति भएको उहाँको भनाई छ । ‘परिषरमा बिरुवाहरु लगाइएको छ, मेलाका क्रममा कुनै क्षति भए आयोजकले जिम्मेवारी लिनुपर्छ ।’ उहाँले भन्नुभयो ।
मेला प्रवेशका लागि टिकटको समेत व्यवस्था गरिएको छ । एक टिकटको २५ रुपैँया लाग्ने उहाँले बताउनुभयो । यसअघि एक पत्र लेख्दै मेचीनगर नगरपालिकाले मेला सञ्चालनका लागि उक्त क्लबलाई अनुमति प्रदान गरेको थियो ।
पार्कमा मेला आयोजना भइरहँदा स्थानीय नागरिकहरुले भने पार्क परिषरमा क्षति हुने हो कि ? भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक संजालमार्फत पार्कको जग्गामा नगरपालिकाले कुन प्रयोजनका लागि अनुमति दिएको भन्दै स्थानीयले प्रश्न गरेका छन् ।