झापा, फागुन १६ । प्रथम भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज दुई शसक्त टिम ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा हुँदैछ ।
भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिता अन्तर्गत पहिलो संस्करणको उपाधि आफ्नो कब्जामा पार्न यी दुई टिम बिच फाइनल खेल आज दिउँसो साढे २ बजे हुन लागेको आयोजक समितिले जनाएको छ ।
आर्मीले पहिलो सेमी फाइनलमा संकटा क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने, मछिन्द्र क्लबले अन्तिम सेमी फाइनलमा एफिएफलाई पराजित गर्दै उपाधिका लागि आर्मीसंगको भेट पक्का गरेको थियो ।
फागुन ७ गतेदेखि सुरु भएको गोल्डकप आज समापन हुनेछ । तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।
तियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।