झापा, फागुन १५ । गत बर्षको पुस अन्तिममा पहिलोपटक पूर्वी आकाशमा प्याराग्लाइडिङले फन्को मा¥यो । प्राकृतिक सुन्दरताले भरिएको इलामको रोङ गाउँपालिकाको आकाशमाथि प्याराग्लाइडिङले फन्को मारेको हो ।
त्यतिबेला रोङको ६ नं वडा स्थित झन्डीडाँडाबाट झापाको मेचीनगरस्थित तिरिङसम्म प्याराग्लाइडिङको परिक्षण उडान पनि भयो । यहाँको पर्यटकिय सम्भावनाको प्रवद्र्धन गर्दै पालिकालाई प्रमुख पर्यटकिय क्षेत्रमा विकास गर्न गाउँपालिकाको सिफारीस र पर्यटन व्यवसायी रमेश अधिकारीको पहलमा प्याराग्लाइडिङ उडेको थियो ।
आकाशमा प्याराग्लाइडिङले फन्को मार्दा स्थानीय उत्साहित बने, पर्यटकिय सम्भावना बढ्ने अपेक्षा स्थानीयको थियो । साँच्चै पर्यटकिय सम्भावनाले भरिपुर्ण छ, यस रोङ गाउँपालिका । सोहि सम्भावनाको प्रवद्र्धन गर्दै स्थानीय नागरिकको जिवनस्तर उकास्न पालिका र पर्यटन व्यवसायीले ल्याएको यस योजनाको सबैतर्फ स्वागत भयो । तर परिक्षण उडान भएको १ बर्षभन्दा धेरै समय बितिसक्दा पनि आकाशमा प्याराग्लाइडिङ उडेको छैन ।
आकाशमा प्याराग्लाइडिङ उडाउने योजना नै कहाँ पुग्यो ? स्थानीय अन्योलमा छन् । यस विषयमा गाउँपालिकाका प्रमुख मनिकुमार स्याङ्बोसगँ बुझ्दा योजना दर्ता प्रक्रियामा छ । नागरिक उड्डयन प्राधिकरणमा दर्ता प्रक्रियामा रहेको आफुले जानकारी पाएको अध्यक्ष स्याङ्बोले सेतोपत्रसगँ बताउनुभयो ।
‘पालिकाले योजना सिफारीस गरेको हो, पर्यटन व्यवसायी रमेश अधिकारीले सञ्चालन गर्न लाग्नुभएको योजना हो यो ।’ उहाँले भन्नुभयो ‘दर्ता प्रक्रियामा रहेको जानकारी पाएको छु, उहाँले प्याराग्लाइडिङ उडानका लागि तयारी गरिरहनुभएको छ ।’
अध्यक्ष स्याङ्बोका अनुसार प्याराग्लाइडिङ उडानलाई लक्षित गरेर सलकपुरमा १० रोपनी जग्गा समेत व्यवसायी अधिकारीले किन्नुभएको छ । उक्त जग्गामा आवयश्यक होटल लगायतका पूर्वाधार निर्माण भइरहेको उहाँले बताउनुभयो ।
प्याराग्लाइडिङको परिक्षण उडानका क्रममा वर्तमान वडाध्यक्ष रहनुभएका स्याङ्बोले परिक्षण उडान्ले स्थानीयमा उत्साह थपेको बताउनुभएको थियो । व्यवसायीक रुपमा प्याराग्लाइडिङ उड्ने हो भने उत्कृष्ट सम्भावना बोकेको क्षेत्र हो यो ।
यहाँबाट इलामको पहाड र झापाका फाँटहरू सुन्दर देखिन्छन् । इलामको कन्याम, फिक्कल, इलाम बजार, सलकपुर, पाथीभरा मन्दिर रोङको आकाशबाट नजिकै देख्न सकिन्छ भने झापाका विभिन्न क्षेत्रसगँै भारतको पश्चिम बंगाल, दार्जिलिङ, मिरिक, सिलिगुडी लगायतका दृष्य पनि यहाँबाट देख्न सकिन्छ ।