झापा, फागुन १५ । सुक्खा मौसमका कारण आगलागीको घट्ना हुने आँकलनका साथ सतर्क नै थियो, तेह्रथुमको आठराई गाउँपालिका ।
पालिकाको ३ वटा वडामा रहेका गाउँ चुहानँडा, छातेढुङ्गा, थोप्लुङ लगायतका गाउँमा फुसका घर धेरै भएका कारण र सुक्खा वन अधिक भएका कारण आगलागीको जोखिम बढी थियो, र पालिकाले सम्भावित आगलागीको आँकलन गरेको थियो ।
गत शुक्रबार पालिकाले आँकलन गरे जस्तै भयो । गाउँपालिकाको ६ नं वडा स्थित चुहाँनडाडाँ गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट डढेलो सल्कियो । दिउँसो वनबाट सल्किएको डढेलो बेलुका भने बस्तीसम्म फैलियो ।वनबाट शुरु भएको डढेलोले चुहानँडाडाको हात्तीखर्क बस्तीमा भिषण आगलागीको रुप लियो ।
फुसको छानो भएका घर धेरै भएको बस्तीमा आगलागी सहजै नियन्त्रणमा आउन सक्ने अवस्था थिएन । प्रहरी, स्थानीय नागरिक, जनप्रतिनिधि सबैले प्रयास गर्दा पनि बस्ती आगलागीबाट बच्न सकेन । आगलागीमा १४ वटा घर जलेर खरानीमा परिणत भए । सयौँ पशुचौपाय आगोमा जले । ९ घरमा स्थानीयको बसोबास रहेको थियो भने ५ घर खाली थिए । जसका कारण ९ परिवार पुर्णरुपमा विस्थापित बन्यो ।
अहिले ९ घरका परिवार घर जलेपछि बारीमा पालिकाले दिएको त्रिपाल टाँगेर बसिरहेका छन् । आगलागी पनि करिब २ दिनपछि हिजो मात्रै पुर्णरुपमा नियन्त्रणमा आयो । तेह्रथुम गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमका अनुसार आगलागी हिजो मात्रै पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उहाँका अनुसार आगलागीबाट साँढे २ करोड बराबरको क्षती भएको पालिकाले अनुमान गरेको छ ।
‘आगलागीबाट विस्थापित स्थानीय परिवार त्रिपाल टाँगेर बसेका छन्, पालिकाले प्रत्येक परिवारलाई नगद ३० हजारसगैँ लत्ता कपडा, दाल, चामल लगायतका खाद्यन्न राहत स्वरुप उपलब्ध गराएको छ ।’ अध्यक्ष पाहिमले सेतोपत्रसगँ भन्नुभयो ‘अनेकन प्रयासका कारण आगलागी हिजो मात्रै नियन्त्रणमा आएको हो, तर आगलागीको जोखिम भने टरिसकेको छैन ।
तेह्रथुम जाने बाटोले ठुलो दुर्घट्ना बचायो
पालिकाका अध्यक्ष माहिमका अनुसार त्यसबेला आगलागी बस्तीबाट क्षणिक रुपमा नियन्त्रणमा आएपनि पुन अर्को ठाउँमा स¥यो । सुक्खा खर, मसिना तर सुकेका झारहरु धेरै भएका कारण आगलागी अर्को ठाउँमा सरेको उहाँ बताउनुहुन्छ ।
‘त्यसबेला तेह्रथुम बजार जाने बाटो नभएको भए, ठुलो घट्ना हुने थियो, ६० भन्दा धेरै घर जलेर खरानी हुने थिए, बाटोले अग्निरेखाको काम ग¥यो ।’ उहाँ भन्नुहुन्छ ‘सुक्खा वनका कारण अझै ३ वटा गाउँ उच्च जोखिममा छन् ।’
उहाँका अनुसार चुहानँडा, छातेढुङ्गा, थोप्लुङ लगायतका गाउँ उच्च जोखिममा भएका गाउँ हुन् ।
छिमेकी पालिकाको सहयोग
आगलागीबाट बस्ती बचाउन पालिकाले फिदिम नगरपालिकाबाट दमकलको सहयोग लियो । आठराईमा एउटा मात्र दमकल भएका कारण छिमेकी नगरपालिकाबाट दमकलको साहरा लिएको अध्यक्ष पाहिम बताउनुहुन्छ । दमकलले आगलागी नियन्त्रणमा ठुलो सहयोग पुगको उहाँको भनाई छ ।
सदरमुकामबाट ३ घण्टाको दुरीमा पर्ने गाउँमा भिषण आगलागी भएको हो ।