मेचीनगर, फागुन १४ । पत्रकारितामा प्रविधिले फड्को मारिरहेको वर्तमान समयमा मेचीनगरबाट एक नयाँ अनलाइनले प्रकाशन प्रारम्भ गरेको छ ।
मेचीनगरमा रहेर आम नागरिकका विषयमा सधैँ क्रियाशिल रहनुहुने संचारकर्मी अर्जुन कार्कीको सम्पादकत्वमा ‘मेचीनगर अनलाइन डट कम’ ले आजबाट प्रकाशन प्रारम्भ गरेको हो ।
एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले आज अनलाइनको उद्धघाटन गर्नुभएको छ । धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख बुढाथोकीले ल्यापटपमा क्लिक गरेर अनलाइनको विधिवत शुभारम्भ गर्नुभयो ।
अनलाइनको उद्धघाटन गर्दै नगर प्रमुख बुढाथोकीले सञ्चारमाध्यको बिश्वसनियता पहिलो सर्त भएको बताउनुभयो । समाचारमा भाषाशैलीको प्रमुख भूमिका रहने भन्दै उहाँले भाषा छनोटमा गम्भिर बन्न आग्रह पनि गर्नुभयो । साथै मेचीनगर नगरपालिकाले गठन गर्न लागेको आम संचार प्रतिष्ठान अब छिट्टै गठन हुने चरणमा रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक पर्वत पोर्तेल, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी, आदिबासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल, सामाजिक कार्यकर्ता हरि दाहाल लगायतले शुभकामना राख्नुभएको थियो ।
बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार अर्जुन कार्कीले यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, मेची ट्युन्स एफएम, सौर्य दैनिक काठमाडौँ लगायतका सञ्चारमाध्यममा रहेर जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
पाउँ पाथिभरा सञ्चार प्रालि प्रकाशक रहेको मेचीनगर अनलाइनले कृषि, शिक्षा, स्वास्थ्य लगायतका आम विषयका समाचार प्राथमिकतामा राख्ने सम्पादक कार्कीले बताउनुभयो ।