मेचीनगरक, फागुन १४ । विदेशी नागरिकको कब्जामा परेकी झापा मेचीनगर ११ धाइजनकी १३ बर्षिया किशोरीको हिजो काठमाण्डौँबाट उद्धार भयो ।
किशोरी चिनिँया नागरिकको साथमा रहेको जानकारी पाएपछि प्रहरीले खोजी तिव्र बनाएको थियो । मोबाइल र लोकेसन ट्रयाकको सहयोगमा व्यापक खोजी गरिएपछि प्रहरी किशोरीलाई उद्धार गर्न सफल बन्यो ।
तर १३ बर्षिया किशोरी चिनिँया नागरिकको कब्जामा कसरी पुगिन् ? यो रहस्यको विषय बनेको छ । विद्यालय जान्छु भनेर हिडेँकी किशोरी चिनिँया नागरिकको साथमा आखिर कसरी पुगिन ? यस विषयमा अनुसन्धान भइरहेको झापा प्रहरी बताउँछ ।
झापा प्रहरीका प्रवक्ता खगेन्द्र प्रसाद रिजाल भन्नुहुन्छ ‘किशारीको बयानका आधारमा सिआइबीको टोली सहित ललितपुर प्रहरीले व्यापक अनुसन्धान गरिरहेको छ, किशोरीलाई उद्धार गरेर ललितपुर प्रहरी परिषरमा राखिएको छ ।’
उहाँका अनुसार किशोरी कब्जामा पार्ने अन्दाजी ४५ बर्षिय चिनिँया नागरिक पनि अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । किशोरीलाई भने आज आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त नागरिकले मेचीनगरकी मात्रै नभएर अन्य किशोरी समेत नियन्त्रणमा लिने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
‘अन्य किशोरीलाई पनि नियन्त्रणमा लिने गरेको अनुसन्धानमा देखिएको छ, यद्यपी यस विषयमा अनुसन्धान जारी छ ।’ प्रहरी प्रवक्ता रिजालले भन्नुभयो । अनुसन्धान पछि यस विषयमा थप प्रस्ट पार्न सकिने उहाँले बताउनुभयो ।