मेचीनगर, फागुन ११ । प्रखर वक्ताका रुपमा परिचित रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । आज झापाको मेचीनगर–१३ चारआलीमा स्थित आइतमाया थेवे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईंलाई नगदसहित सम्मान गरेको हो ।
मेचीनगर नगरपालिककाा प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित प्रतिष्ठानको १२ औंँ वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो । प्रत्येक बर्ष फागुन ११ गते प्रतिभा सम्मान कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानले यसअघि विभिन्न विधाका १६ जना प्रतिभालाई सम्मान गरिसकेको छ ।
सम्मानित हुनेहरूमा वर्तमान उपसभामुख इन्दिरा राना मगरदेखि नेपाली राष्ट्रिय क्रिकेट महिला टिमकी क्याप्टेन रूविना क्षेत्री, विश्व साइकल यात्री पुष्कर शाह लगायत रहनुभएको छ ।
प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सम्मान कार्यक्रममा नगर प्रमुख बुढाथोकी, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवम् अग्रज पत्रकार चन्द्र भण्डारी, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, जेष्ठ आमाहरूबाट गणेश कुमारी न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष बिरू बेघा, नेपाली काँग्रेसका नेता सन्तोस न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव विश्व थापाले गर्नुभएको थियो ।