मेचीनगर, फागुन ८ । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्रका बेरोजगारहरुलाई लक्षित गर्दै एक सय दिनका लागि न्युनतम रोजगारी दिदैँछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक बर्ष २०७८/७९ का लागि आएको बजेट मार्फत नगरपालिकाले रोजगारी प्रदान गर्न लागेको हो ।
आर्थिक बर्ष २०७८/७९ का लागि मेचीनगर नगरपालिकालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट ३८ लाख बजेट आएको थियो । सोही बजेटबाट नगर क्षेत्रका ६६ जनालाई १ सय दिनसम्म न्युनतम रोजगारी दिन लागिएको मेचीनगर नगरपालिकाकी रोजगार संयोजक कृपा रेग्मीले सेतोपत्रसगँ बताउनुभयो ।
‘मन्त्रालयबाट आएको अघिल्लो आ. व. को ३८ लाख बजेटबाट न्युनतम रोजगारी दिन लागिएको हो ।’ उहाँले भन्नुभयो ‘यो काम पहिले नै गर्नुपर्ने भएपनि नगरपालिकाको कार्य अस्तव्यस्ताका कारण ढिला भएको हो, अब भने एक दुई दिन भित्रै काम शुरु हुन्छ ।’
उहाँका अनुसार ६६ जनालाई प्रतिदिन ५ सय ७७ रुपैँयाका दरले १ सय दिनसम्म रोजगारी दिइनेछ । जसमा एकजनाले १ सय दिनको जम्मा ५७ हजार ७ सय रुपैँया प्राप्त गर्नेछन् ।
नगरमा बेरोजगारहरुको संख्या त निक्कै धेरै छ ६६ जना मात्रै चाहिँ कसरी छनोट गर्नुहुन्छ ? भन्ने सेतोपत्रको प्रश्नमा रोजगार संयोजक रेग्मीले छनोटको जिम्मेवारी वडा र टोल विकास संस्थाहरुलाई दिइएको बताउनुभयो । पारिवारिक स्थिती, आर्थिक अवस्था, दक्षताको मुल्यांकन लगायतका आधारमा छनोट गरिने उहाँको भनाई छ ।
‘जनतासगँ प्रत्यक्ष जोडिएको टोल विकास संस्थाहरुको छनोट अनुसार वडाले नगरमा नाम पठाउँछ ।’ उहाँले भन्नुभयो ‘जसको आधारमा छनोट हुनेछ, यसो गर्दा वास्तविक बेरोजगारहरुको नाम छनोटमा पर्ने हामीले अपेक्षा पनि गरेका छौँ ।’
छनोटमा परेकाहरुले १ सय दिनसम्म विकास निर्माणमा समावेश भएका काम गर्नुपर्नेछ । जसमा नाला खन्ने, बाटो बनाउने, बाटो सरसफाइ गर्ने लगायतका काम रहेको जनाइएको छ ।
यो बर्ष फारम, अर्को बर्ष काम
नगरपालिकाले केहि दिन अघि एक सुचना निकाल्दै न्युनतम रोजगारीमा संलग्न हुनका लागि फागुन ३० गतेसम्म फारम भर्न आग्रह पनि गरेको छ । तर यस बर्ष भरिएको फारमको आधारमा छनोटमा परेकाहरुले रोजगारी भने अर्को बर्ष मात्रै पाउने जनाइएको छ ।
‘अहिले शुरु हुन लागिरहेको काम पनि अघिल्लो बर्ष छनोट भएकाहरुका लागि हो, यस बर्ष छनोटमा परेकाहरुका लागि आगामी बर्ष मात्रै रोजगारी दिइन्छ ।’ संयोजक रेग्मीले भन्नुभयो ।
वडा कार्यालयमा फारम पाउने भएकाले आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा गई फारम भर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
नगरपालिकाले प्रकाशित गरेको सुचना :