झापा, फागुन ३ । नेकपा एमालले ‘मिसन ग्रासरुट’ अभियानका लागि झापामा ७ जना केन्द्रीय सदस्यहरुलाई खटाएको छ । फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ चलाउने केन्द्रीय सचिवालयको निर्णयअनुसार झापा लगायत देशभरका स्थानिय तहमा केन्द्रीय सदस्यहरु खटाइएको हो ।
फागुन ५ देखि दुई महिनासम्म सञ्चालन हुने अभियानका लागि झापाको १५ पालिकामा ७ केन्द्रीय सदस्यहरु खटाइएको हो । एमालले मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाँउपालिकाका लागि केन्द्रीय सदस्य मञ्जु भण्डारीलाई पठाएको छ ।
त्यस्तै भद्रपुर नगरपालिका र कचनकवल गाँउपालिकाका लागि सकुन्तला बस्नेत, बिर्तामोड नगरपालिका र हल्दिबारी गाँउपालिका लागि उर्मिला थेवे, कन्काइ नगरपालिका र बाह्रदशी गाँउपालिकाका लागि तिलकुमार मेयान्बोलाई जिम्मेवारी दिइएको छ । त्यस्तै दमक नगरपालिका र कमल गाँउपालिकाका लागि इन्दिरा गौतम, गौरादह नगरपालिका तथा गौरीगञ्ज गाँउपालिकाका लागि युवराज बाँसकोटा तथा शिवसताक्षी नगरपालिका र झापा गाँउपालिकाका लागि भगवति चौधरीलाई खटाइएको एमालले जनाएको छ ।
त्यस्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख तथा एमाले केन्द्रीय सदस्य मिना उप्रेतीलाई मोरङको पथरी शनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकामा पठाइएको छ भने झापाली नेता रबिन कोइरालालाई इलामको चुलाचुली, माङ्सेबुङ तथा फाकफोकथुम गाँउपालिकाको जिम्मेवारी दिइएको छ ।
अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।