बिर्तामोड २ फागुन । नेपाली काङ्ग्रेस झापाले संगठन सुदृढीकरणका लागि ६ महिने अभियान संचालन गर्ने भएको छ । पार्टीका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ-नगर सभापति, भातृ सस्थाका सभापतिहरुको संयुक्त बैठकले ६ महिने अभियान संचालन गर्ने निर्णय गरेको हो ।
"पार्टीको शक्ति टोल एवं वडा समिति भएकाले टोल एवं वडास्तरमा कार्यक्रम केन्द्रित गरि संगठन सुदृढीकरण अभियान थालिएको हो"- सभापति देउकुमार थेबेले भन्नुभयो-" पार्टीको क्षेत्र, प्रदेश क्षेत्र, गाउँ-नगर, वडा र टोल समितिको नियमित बैठक, जेष्ठ नागरिक सम्मान, प्रजातान्त्रिक योद्धाको सम्मान, बार्षिक क्यालेन्डर बनाएर पार्टीको नीति, सिद्धान्त र समसामयिक राजनीतिमा पार्टीको धारणाका बिषयमा प्रशिक्षण, पार्टीका शीर्ष नेताको जन्मजयन्ती एवं स्मृति दिवस, मेलमिलाप दिवस लगायतका कार्यक्रम तय गरिएको छ ।" अब काङ्ग्रेस कार्यकर्ताले एक- अर्काको आलोचना छोडेर संगठन सुदृढीकरणमा लाग्नुपर्नेमा सभापति थेबेले जोड दिनुभयो ।
यसअघि गत माघ २१ गते सम्पन्न पार्टीका पदाधिकारी, क्षेत्रीय सभापति र गाउँ- नगर सभापतिहरुको संयुक्त बैठकले ६ महिने अभियान कार्यक्रम र कार्यतालिका बनाउन पार्टीका सचिबद्वय कृष्ण हुमागाइ, नवीन बिमली र २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली रहेको तीन सदस्यीय समिति गठन गरेको थियोे । उक्त समितिले तय गरेको कार्यतालिकालाई आजको बैठकले पारित गर्दै अभियान सन्चालन गर्ने निर्णय गरेको छ भने उपसभापति केशवराज पाण्डे नेतृत्वको समितिले तयार पारेको आर्थिक प्रतिबेदन पारित गरेको छ ।
बैठकले झापाका १५ पालिकाका १३१ वटौ वडामा महाधिवेशन प्रतिनिधि खटाउने निर्णय गरेको छ भने मातहतका संगठनलाई बार्सिक रूपमा सम्मेलन गर्न पनि आग्रह गरेको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच तालमेल हुनुपर्नेमा बैठकका सहभागीले जोड दिएका थिए । सभापति थेबेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सद्स्यहरु महेन्द्राकुमारी लिम्बू, सुशीला ढकाल, गोमा भट्टराई, प्रदेश १ का पुर्ब मन्त्री ओमप्रकाश सरावगी, प्रदेश सासदहरु गोपाल तामाङ, भुमीप्रसाद राजबन्सी, प्रदेश-१ का सदस्यहरु, गाउँ- नगरमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यालय सचिब जयकुमार दाहालले जानकारी दिनुभयो ।