अन्यथा अर्थ नलागेमा यो काम बन्द गरौं , काम भए पो गर्नु नकाम किन गर्नु ? कसरी भनौँ गज्जब चेतना ? जागिर खान कोही आउँछ ,जान्छ, समय गुजेस्ता गर्छ, फिर्छ । त्यो जागिरे जीवनको नियमित प्रक्रिया नै हो। कोही कहिँ आउनु र फर्कनु नियमित आकस्मिकता हो। यो बाहेक केही हो र ! सिडियो जागिर खान आउँछन् । पुलिसको काम पनि त्यही हो, सिडियो र पुलिस किटान गर्यो भनेर आवेग, उत्तेजनामा कोही नआउनु नै वेश। सरकारको सिन्दुर लगाउनेको यो जिम्मेवारी हो। लिएपछि त्यो जिम्मेवारी जो कसैले पूरा गर्नु पर्छ, त्यो उसको कर्तव्य नै हो। तोकिएको कार्यसम्पादनका लागि कोही कर्मचारी आउँदा स्वागत र जाँदा भव्य विदाइ! के जितिन्छ यसो गर्दा ? जुन अफिसमा जो आउँछ, त्यहाँ स्वागत हुन्छ । त्यो स्वभाविक हो। आउँदा स्वागत र जाँदा बिदाई अन्यथा मान्न सकिन्न र होइन। तर, झापामा एउटा अनौठो प्रक्रिया चलिरहेको छ। देख्दै सरम लाग्ने। सचेततापूर्वक शब्द थपौँ, लाजले पनि कुरिकुरी भन्ने। आयोजक, सहआयोजक, प्रायोजक, सहप्रायोजकसँग माफ मागेरै प्रश्न गर्नु पर्ने भयो- काम नपाएर यसो किन गरेको? रिस भयङ्कर उठ्न सक्छ । पंक्तिकारलाई कसैले भेट्यो भने उँ आवेगमा पनि आउँन सक्छ । यो सोच्नु ठिकै हो । किनकि, बेकाम गर्ने र बेचैन मनले सोच्ने नै यही हो। तर, जागिर खान आएको मानिसलाई लामद्ध भएर स्वागत गर्नु र निर्धारित समय गुजारेर फर्कन लागेको मानिसलाई बिदाइ गर्नुको मतलब के? कि तिमी जहाँ जान्छौं , हामी आउँदा राम्रो खानपिन गराउ, घुमाउ, आराम गराउ भनेको? सरकारी जागिर खाएपछि नागरिकको सेवा गर्नु जोसुकै कर्मचारीको दायित्व हो। त्यही दायित्व निर्वाह गरेको मानिसलाई सामुहिक स्वागत र बिदाइ सस्तो लोकप्रियता हो।
सचेत झापालीले गरिरहेको यो कर्म नागरिक जिम्मेवारीमा पर्छ कि कुसंस्कारको पटाक्षप? कुनै राष्ट्रसेकलाई नागरिक अभिनन्दनकै शैलीमा स्वागत र बिदाई गरिनु लगाएको कपडा फुस्किएर वा च्यातिएर लाज चिहाउनु जस्तो मात्रै हो। आदर्श भित्रको आडम्बर जरुरी छ ? छैन भने के सन्देश दिने, पट्क्कै लाग्दैन यो नकाम हो भन्ने ? पंक्तिकारको आग्रहमा फ्याट्टै कोही नरिसाउनु होला । प्रशासकको काम राम्ररी प्रशासन चलाउने नै हो, जहाँ उसको उत्कृष्टता जरुरी हुन्छ । त्यसकै खातिर कोही प्रशासक बनेको हो। राज्यको ढुकुटीबाट तनखा खाएको हो। यसमा तारिफ जरुरी छ र! प्रहरीले सुशासन कायम राख्न प्रयास गर्ने हो। चोर समात्यो, जाली, फटाह , बेइमान र व्यभिचारीलाई कारबाही गर्यो, भनेर उत्सव मनाउनु को के अर्थ ? त्यो उसको दायित्व नै हो। डाक्टरले बिरामी निको पार्नु जादु चलाउनु हो र! अस्पतालमा बिरामी मर्यो भने पो अनौठो मान्ने हो। बिमार जाति हुनु, निको पार्नु त डाक्टरको विज्ञताको परिणाम हो। तर, यो सारा कुरा बिर्सेर सरकारी कर्मचारीको स्वागत र बिदाईमा हापझाप गर्दै समय खर्चनुलाई कसरी उत्कृष्ट कर्म भन्ने ? अतिथि देवो भव: यो नेपाली संस्कार हो। यसमा कसैको विमति छैन। तर, संस्कारलाई कुसंस्कारमा बदल्ने र अतिरञ्जित गरेर जवरजस्त संस्थागत गर्ने मनसुवा राखियो भने त्यो त्यो असोभनीय कर्म हुन्न। हो, यही दृश्य झापामा बारम्बार देखिँदै आएको छ, यो गर्नेहरूका दृष्टिमा मात्रै सुरम्य हो। झापामा यही असोभनीय कर्मका निकृष्ट दृश्य बारम्बार दोहोरिएका छन् । जो अपाच्य र कुरुप हुन् भन्न किन डराउने ?
झापामा केही समय अघिदेखि मानवीय र सामाजिक संघसंस्थाले सरकारी कर्मचारीलाई सामुहिक स्वागत, बिदाई र सम्मान गर्ने गरेका थिए । देखिने ती दृश्यले बोल्थे, यो सोभनीय छैन, असामान्य पनि । ती असामान्य दृष्य अहिलेका लागि स्वभाविक मानिए पनि यो कर्म कुनै दिन कहीँ नभएका दृष्य गैरी गाउँका हुनेछन् भन्ने । ती दृष्यका " मुर्कुटा" अहिले सग्लो देखिए, अनि यो सत्य सावित पनि भयो । तथापि, औँलामा गनिने बाहेक झापाले यसमा पटक्कै सन्तुष्टि जनाएन। उपमा दिने नै हो भने आत्मरतिमा रम्नेदेखि बाहेक। झापाली संघसंस्था निरन्तर अघि बढे ,चरम अवसरवादको पथ समातेर । त्यो उनीहरूको निर्णय हो, टिप्पणी को के अर्थ र ! उनीहरूको पाटो र विषय स्वाट्टै छोडिदिउँ, यथार्थ हो, स्थानीय सरकार शक्ति सम्पन्न छ, अधिकारका दृष्टिले । तर, एउटा कर्मचारीलाई बिदाई गर्न पालिकाका प्रमुख, उपप्रमुख हुत्तिनु, आफ्नो क्षेत्राधिकारलाई कुल्चनु हो, आफू को हुँ भनेर नचिन्नु र बिर्सनु हो। यसले जनअभिमतलाई अपमान मात्रै गरेको होइन, पच्याकपुचुक हुञ्जेल कुल्चेको छ। सर्वाङ्ग लत्याएको छ। स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारका नागरिकलाई अधिकार सम्पन्न बनाउन र आफू चल्न कानुन बनाउँछ, त्यो अधिकार संवैधानिक हो। त्यसमा हेक्का नपुर्याउने मेचीनगर र बिर्तामोड नगरको स्थानीय सरकारलाई के भन्ने ? बेताले, बेसुरा वा अविवेकी। जे भयो सकियो, त्यो सामान्य तर्क होला। तर, यही सुर र तालमा नाच्ने हो भने पास होइन, केवल फेल, फेल र फेल मात्र त हुइन्छ ? यो चाहिँ भविष्यका खातिर सोच्ने पाटो हो। असन्तुष्टि जनाउनु र सार्वजनिक टिप्पणी गर्नुको के अर्थ स्थानीय सरकार प्रमुखहरुसँग। जसलाई मत दिएर जिताएकोमा दु:ख बाहेक। सिंहदरबार गाउँमा आयो भनेर झ्याली पिट्न सहज होला। तर, एउटा प्रहरी अधिकृतलाई बिदाई गर्न लाम लाग्ने प्रमुख र उपप्रमुखलाई सोध्ने अब कुनै प्रश्न नै छैन।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र बिर्तामोडबाट भर्खरै सरुवा हुनुभएका डिएसपी ( क्रमशः ज्ञानकुमार महतो र रुगमबहादुर कुँवर ) ले आफ्नो कार्यदक्षता देखाउनुभयो। उहाँहरु सफल प्रहरी अधिकृत हो। जहाँ कार्यक्षेत्र परेपनि र जानू भएपनि सफल हुनुहुनेछ। कार्यक्षेत्रमा सफल रहनुहोस्, हाम्रो शुभकामना , शुभेच्छा! अब रह्यो आलेखको आशय, यो आलेख खास लेख्नुपर्ने आवश्यकता थिएन । तर, आफूलाई जननिर्वाचित भन्ने मात्रै होइन, हाम्रो मतले जित्नु भयो ? । ( पंक्तिकारले मत दिएन होला ! ) मत दिनेको मतको कदर हुन्न भने के ! अर्को प्रश्न तपाईंहरुलाई! तपाईं जननिर्वाचित जनप्रतिनिधि। यतिमा पंक्तिकार ढुक्क छ,स्थानीय सरकार शक्ति सम्पन्न छ। यो अधिकार उपयोग गर्न नसक्ने हो भने समावेशीता, किन संघीयता ?अन्त्यमा :- सिडियोले पहिलो आसनग्रहण गर्दा आफूलाई कमजोर र तल्लो स्ततरको मान्छे मान्ने अनि आसन ग्रहण नगर्ने जनप्रतिनिधिले आफूले कुन तहको कर्मचारीलाई बिदाई गर्न लाम लागे भन्ने नसोच्नु नकाम गर्नु हो। नकाम नगरौं, काम गरौं , हार्दिक शुभेच्छा !