झापाको मेचीनगर नगरपालिका साधन र स्रोतका हिसाबले देशकै सम्पन्न स्थानीय तह मध्येमा पर्छ । पुर्वी नेपालको सिमान्त नगर भएका कारण पनि यसको सामरिक महत्व छ । व्यापारिक नाका, सांस्कृतिक नगर, लोपोन्मुख जात जाति र भाषा भाषीको बसोबास भएका कारण पनि यो नगर ग्रामिण क्षेत्रले भरिएको एउटा महत्वपूर्ण भूगोलका रुपमा स्थापित छ ।
तराईको फाँट देखि भित्री मधेश हुँदै चुरे क्षेत्र समेत समेटिएको मेचीनगरको भूगोल साँच्चै लोभलाग्दो छ । विकासको योजनाबद्ध कार्यान्वयन गर्ने हो भने सम्भावनाको मूल फुटाउन सकिन्छ । अत्यन्तै सह्रिदयी नागरिक, सुझबुझ पूर्ण सचेतना भएका कारण पनि यहाँ काम गर्न सहज छ ।
तर बिडम्बना नै भन्नु पर्छ मेचीनगरमा निर्वाचित भएर शासनको बागडोर सम्हालेका जनप्रतिनिधिहरुले फराकिलो मतिस्कका साथ काम गर्न र आफ्नै दैनिक व्यवहार परिवर्तन नगर्दा सोचे अनुरुप विकास भने हुन सकेको छैन । या भनौ हिजो र आज नै मेचीनगरका जनप्रतिनिधिले विकासको परिभाषालाई नै बुझ्न सकेका छैनन ।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट काँग्रेसका बिमल आचार्य प्रमुख र एमालकी मिना उप्रेती उपप्रमुख निर्वाचित हुनु भयो भने १५ वडा मध्ये काँग्रेस र एमालेले ७/७ वटा र माओवादीले एउटा वडा अध्यक्ष जिते । त्यो बेलाका कार्यक्रमहरुमा शुरुवात देखि नै प्रमुख र उपप्रमुखसंगसंगै हिडे । सामान्य लाग्ने कार्यक्रमदेखि महत्वपूर्ण कार्यक्रममा नै प्रमुख र उपप्रमुख जोडी बाँधिएर नै हिडे र एउटै कार्यक्रममा दुवै जनाले अनिवार्य बोल्नु पर्ने थियो । शुरुवातका दिनमा नागरिक तहबाट निक्कै आलोचना आए पनि त्यसले प्रमुख र उपप्रमुखलाई छोएन । पछि त्यो संस्कृति जस्तै बन्यो र कार्यकाल सकियो । त्यो बेला एउटा कुराले घर गर्यो र नगरबासीले चित्त बुझाए । त्यो के भने दुई फरक फरक राजनितिक दलका प्रमुख र उपप्रमुख निर्वाचित भएका कारण रणनैतिक हिसावले पनि कार्यक्रममा दुवै जना जानु ठिकै हो भन्ने तर्क पेश गरियो । त्यो तर्क पूर्णत गलत भए पनि प्रमख र उपप्रमुखलाई जति भने पनि नलागे पछि त्यही तर्कलाई अगाडी सारेर काम चलाउनु पर्ने अवस्था बन्यो र त्यो कार्यकाल बितेर गयो ।
२०७९ बैशाखमा पुन निर्वाचन सम्पन्न भयो । यस पटक भने नगरप्रमुख र उपप्रमुख सहित करीब ८५ प्रतिशत जनप्रतिनिधि एमालेबाट निर्वाचित भए । १५ मध्ये ११ वटा वडा अध्यक्ष पनि एमालेकै उम्मेद्वारले जिते । प्रमुखमा प्रदेश सांसद त्यागेर आउनु भएका गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना उप्रेतीले नै दोहोर्याउनु भयो । निर्वाचनको परिणाम पछि अरुलाई के लाग्यो कोनी थाहा भएन तर मलाई चैं एउटा कुराको ढुक्क जस्तो भएको थियो । त्यो भनेको नगरप्रमुख र उपप्रमुख एउटै कार्यक्रममा दौडिएर पुग्नु पर्ने अनि दुवै जनाले बोल्नै पर्ने कुराको अब अन्त्य हुन्छ भन्ने लागेको थियो ।
त्यसको मसंग बलियो तर्क पनि छ । दुवै जना एमालेबाटै निर्वाचित हुनु र बहुसंख्यक वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु पनि एमालेबाटै निर्वाचित भएकाले अब एउटा कार्यक्रममा प्रमुख र उपप्रमुख नै जानु पर्दैन भन्ने लागेको थियो । सायद सारा मेचीनगरबासीको पनि सोचाई त्यस्तै थियो होला । तर मेचीनगरको नियति फेरिएन । अहिले पनि नगरप्रमुख बुढथोकी र उपप्रमुख उप्रेती एउटै कार्यक्रममा दुई वटा गाडी लिएर पुग्ने गर्छन भने कार्यक्रममा दुवै जनाले बोल्नै पर्ने हुने गरेको छ ।
नगर क्षेत्रमा हुने एकाध बाहेकका सबैजसो कार्यक्रममा प्रमुख र उपप्रमुख नै उपस्थीति हुन्छन र दुवै जनाले बोल्ने गर्छन । यहाँसम्मकी कार्यक्रम आयोजकले दुई मध्ये एकलाई मात्रै उपस्थीत गराउने भन्दा पनि कसो कसो गरेर दुवै जनालाई उपस्थीत गराउने बाध्यता आइलाग्ने अवस्था बनाउने पनि गरिएको बुझिएको छ ।
प्रमुख र उपप्रमुख एउटै कार्यक्रममा सहभागि हुँदा के हुन्छ ?
सामान्य रुपमा हेर्दा नगरका प्रमुख र उपप्रमुख पनि कार्यक्रममा सहभागि हुनै नपाउने हो त भन्ने प्रश्न उठ्न सक्छ । त्यसो भन्न खोजिएको होइन । नगरका कार्यक्रमहरुमा उपस्थीत हुनु पर्छ । तर कस्तो कार्यक्रम ? को जाने ? भन्ने निक्र्यौल हुनु अति आवश्यक भएको छ ।
प्रमुख र उपप्रमुख एउटै संस्थाका पहिलो र दोस्रो दर्जाका जिम्मेवार व्यक्ति हुन । स्थानीय सरकारका प्रतिनिधि हुन । एउटा संस्थाबाट एक जनाले प्रतिनिधित्व गर्दा अधिकाशं कार्यक्रममा पर्याप्त हुन्छ । दुवै जना पुगेर भाषण गर्नु पर्दैन । त्यस बाहेक पनि प्रमुख र उपप्रमुख ले नै एउटै समयमा एउटै कार्यक्रममा सहभागि हुँदा अधिकाशं समय नगरपालिका कार्यालयमा प्रमुख र उपप्रमुख भेटिदैंनन । किन कि ठूलो भूगोल र जनसंख्या भएको नगरपालिका भएका कारण दैनिकजसो कुनै न कुनै वडामा केही न केही कार्यक्रम भइरहेकै हुन्छन । त्यसैले पनि नगर कार्यालयमा प्रमुख वा उपप्रमुखले नै गर्ने काममा प्रत्यक्ष अवरोध सृजना हुन्छ भने वहाँहरुलाई भेटेर आफ्ना कुरा राख्न आउने नगरबासीले प्रमुख र उपप्रमुखलाई कार्यालयमा भेट्न पाउँदैनन ।
त्यति मात्रै होईन एउटै समयको एउटै कार्यक्रममा नगरप्रमुख र उपप्रमुखले फरक फरक गाडीको प्रयोग गर्नु हुन्छ । त्यो वहाँहरुको निजि सम्पत्ती होईन कि वहाँहरुले मनलाग्दी प्रयोग गर्ने । त्यो नगरपालिकाका आम नागरिकको सामुहिक सम्पत्ति हो । इन्धन, सवारी साधानमा आउने नियमित खर्च बढी हुन्छ । जुन एक प्रकारको भ्रष्टचार पनि हो ।
त्यस बाहेक दैनिक कार्यक्रममा प्रमुख र उपप्रमुख नै सहभागि हुँदा नगरपालिकाको दैनिक काम काज समेत प्रभावित हुने गरेको तथ्य बाहिर आएका छन । कैयन बिषयमा प्रमुख र उपप्रमुख नै आवश्यक हुने दैनिक कामकाज हुने गर्छन तर कार्यक्रममा सहभागि भएका कारण आम नगरबासीले दुःख पाइरहेका छन ।
अझै नगरपालिका भित्र कर्मचारी र कर्मचारी बिचको बैमन्यस्यता यति बढेको छ की त्यसले आम मानिसले हदैसम्मको दुःख पाइरहेका छन । खासगरी नगरका सामुदायिक शाखा र लेखा शाखा बिचको दुरी यति बढेको छ कि कर्मचारीले तलबसम्म नपाउने अवस्था पुगेको सार्वजनिक नै भइसकेको छ । कुनै पनि प्रमुख प्रशासकिय अधिकृत मेचीनगर आउन मान्दैनन । भने आएका पनि टिक्न सक्दैनन वा टिक्न दिइदैंन । यी सब बेथिति मौलाउनुमा कहिं न कहिं नगरप्रमुख र उपप्रमुख नियमित पुरा समय कार्यालयमा नबस्नु पनि हो ।
अहिले पनि प्रमुख र उपप्रमुख एउटै समयको एउटै कार्याक्रमहरुमा सहभागि हुनु हुँदैन भन्ने आवाज नागरिक तहबाट आइरहेका छन तर त्यसको सुनुवाई प्रमुख र उपप्रमुखबाट नभए पछि आम मानिस निराश छन ।
यसो गर्नु उचीत हुन्छ ।
ठुलो नगर र त्यही नगरबासीले मतदान गरेर प्रमुख र उपप्रमुख बनाएका कारण नगरका कार्यक्रमहरुमा सहभागि जनाउनु नै पर्छ । तर त्यसको एउटा मापदण्ड बनाउनु अति जरुरी देख्छु ।
अहिले चलिरहेको जस्तो कहिं कतै पाँच जना मान्छे भेला भएर प्रमुख र उपप्रमुखलाई बोलाउने बित्तिकै दुवै जना दुई वटा गाडी लिएर कुदिहाल्ने जुन थिति बसेको छ त्यसको अन्त्य हुनै पर्नेछ । त्यसका लागि प्रमुख र उपप्रमुख मध्ये सामान्यतया एक जना मात्रै कार्यक्रममा सहभागि हुने । त्यसमा पनि कार्यक्रमको अवस्था हेर्ने । वडास्तरका कार्यक्रममा वडा अध्यक्षलाई पठाउने । प्रमुख र उपप्रमुख नजाने । नगरस्तरिय कार्यक्रमहरुमा पनि सबैमा प्रमुख र उपप्रमुख जानु पर्दैन । कार्यपालिका सदस्यहरु छन । विभिन्न समितिका पदाधिकारीहरु छन । उनीहरुलाई पठाउने । त्यति मात्रै होईन प्रमुख र उपप्रमुख कार्यक्रममा सहभागि हुँदैनन, त्यसले नगरपालिकाको कार्यसम्पादनमा समस्या हुन्छ भन्ने आम नगरबासीलाई सन्देश दिने गरी जानकारी बाहिर ल्याउने । प्रमुख र उपप्रमुख दुवै जना सहभागि भएर दुवै जना बोल्नु पर्ने कार्यक्रम सायदै हुँदैनन तर अहिले त्यसो भन्दा बिरोध गरेको जस्तो देखिएला तर त्यो गलत संस्कृतिका रुपमा स्थापित भएका कारण त्यस्तो लाग्न सक्छ । जे गलत हो त्यो गलत नै हुन्छ । गलत कुरा स्थापित हुँदा परिणाम पनि गलत नै आउँछ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकी तहगत हिसाबमा माथिल्लो तहको प्रदेश सांसद त्यागेर नगरप्रमुख हुन आउनु भएको दैनिक कार्यक्रमहरुमा उपस्थीत हुन नपाएर हो त ? यसभन्दा अघि पनि उपप्रमुख भएर पाँच बर्ष बिताउँदा पनि यसरी नै कार्यक्रममा प्रमुखसंग दौडिएर नथाकैरै मिना उप्रेती अहिले पनि कुदिरहनु भएको हो त ? कि यसको पछि अन्य कुनै कारण पनि छ ? यदि त्यस्तो कुनै कारण छ भने नगरप्रमुख र उपप्रमुखले नगरबासी समक्ष खुलेर भन्नु पर्छ नत्र अब यस्तो गलत संस्कार बस्नु हुन्न ।
अन्त्यमा, अब कार्यक्रम आयोजकहरुले पनि एउटा कुरामा निर्मम बन्नु पर्छ । यदि नगरको कार्य सम्पादन चुस्त बनाउने हो र हाम्रो नगरलाई समृद्ध नगर बनाउने हो भने कार्यक्रमका लागि प्रमुख र उपप्रमुख मध्ये एकलाई मात्रै निम्तो दिनु पर्छ । दुवैले आउन खोजे प्रष्ट भन्न सक्नु पर्छ कि एक जना मात्रै आउनुहोस र एक जना कार्यालयको काममा लाग्नुहोस । त्यतिले मात्रै पुग्दैन, कार्यक्रमका आयोजकहरुले लामो समय प्रमुख वा उपप्रमुखलाई कार्यक्रममा राखेर समय खेर फाल्नु हुँदैन ।
पाँच बर्षे कार्यकाल तपाई दुईका लागि फेरि आउँदैन । तपाई के हो भन्ने कुराको जग यही पाँच बर्षमा राखिसक्नु पर्नेछ । यो नगर तपाई दुईको अकर्मण्यताका कारण बबार्दीको बाटोमा गयो भने तपाई दुईलाई त्यसको स्राप लाग्नेछ । जुन स्रापले तपाईको आगामी जीवन राजनितिक रुपमा बहिस्कृत र तिरस्कृत बन्नेछ । जसका कारण तपाई मात्रै होईन हाम्रो राजनितिक दलीय पद्दत्तीका लागि नै घातक बन्ने खतरा छ ।