आज फेब्रुअरी १३ अर्थात १२ औं बिश्व रेडियो दिवस । यो बर्ष रेडियो र शान्ती भन्ने नाराका साथ विश्व रेडियो दिवस मनाइदैंछ । अहिले पनि आम नागरिकको सबैभन्दा सजिलो र सहज पहुँच भएको सञ्चार माध्यम भनेको स्थानीय रेडियो नै हो भन्ने कुरा तथ्याङ्कले पुष्टी गरिसकेको छ ।
पछिल्लो समय आम सञ्चार र सामाजिक सञ्चारका माध्यमहरु बिभिन्न रुपमा आइरहेका छन । तर पनि तीनीहरुको तुलनामा स्थानीय रेडियो आम नागरिकका लागि सुचना र जानकारी पाउने सबैभन्दा सजिलो माध्यम हो । संक्रमणकालिन समयमा केन्द्रीय मुद्धाका बिषयहरु आम नागरिकहरुको प्राथमिकतामा थिए तर २०७२ सालमा नयाँ संविधान बनेर मुलुक तीन तहको सरकारको संरचना सहितको संघिय खाकामा रुपान्तरण भए पछि फेरी आम नागरिकको चासो स्थानीय बिषयबस्तु र स्थानीय मुद्धाहरुमा केन्द्रीत भएका छन । तसर्थ स्थानीयकरणमा सबैभन्दा सजिलो र सहज पहुँच भएको आम सञ्चारमाध्यम भनेको स्थानीय रेडियोहरु नै भएकाले पनि रेडियो स्थानीय समुदायको नजिकको साथीको रुपमा स्थापित भएका छन ।
कोरोना काल पछि छापा सञ्चारमाध्यम धराशायी भएको छ । तर रेडियोहरुले आफ्नो प्रशासरणलाई अप्ठ्यारै परिस्थीतीमा भए पनि निरन्तरता दिएका छन । कोरोना कालको महासंकटका बेला समाजका धेरै गतिविधि रेडियो मार्फत नै सम्पन्न भएका थिए । चाहे त्यो विद्यालयको कक्षा सञ्चालन होस या त स्थानीय तहका सार्वजनिक सुनुवाई नै किन नहोस रेडियोबाट नै गरिएका थिए ।
देशका सबै जिल्लामा अहिले रेडियोको पहुँच बिस्तार भइसकेको छ । नेपालका अति बिकट क्षेत्रका जनताले स्थानीय, प्रदेश र संघिय सरकारलाई आफ्नो कुरा सुनाउन आफ्नै छेउको रेडियोलाई प्रयोग गर्न सक्ने अवस्था छ ।
तीन तहका सरकार र आम नागरिकका बिचमा पुलको काम गर्न स्थानीय रेडियोहरु सबैभन्दा भरपर्दा माध्यम भएका छन । आवाज बिहिन नागरिकको आवाजलाई बुलन्द गर्न रेडियो शसक्त माध्यमको रुपमा स्थापित भइसकेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको तथ्याङ्ग अनुसार अहिले देशभर ७३३ वटा रेडियोको लाईसेन्स जारी गरिएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब) का सदस्य रेडियो ३७२ छ भने ब्रोडकाष्टिङ एसोशिएशन अफ नेपाल (बान) का सदस्य रेडियोको संख्या २०० छन ।
सामाजिक सञ्चालको प्रयोग र पहुँचका कारण रेडियो सुन्ने स्रोताको संख्या घट्दै गएको भन्ने आरोप रेडियोहरुले खेपिरहेको भए पनि तथ्याङ्कगत रुपमा हेर्दा सामाजिक सञ्जालको तुलनामा रेडियोको विश्वसनियता भने कयौं गुणा बढी रहेको देखिन्छ ।
पछिल्लो अनुसन्धान अनुसार सामान्य अवस्थामा नेपालमा रेडियो सुन्नेको संख्या ४५.२ प्रतिशत छ । त्यस्तै कोरोना कालमा रेडियो सुन्ने स्रोताको संख्या ८० प्रतिशत पुगेको थियो भने भुकम्पका बेला ८३ प्रतिशतले रेडियोबाटै पहिलो सूचना पाएको तथ्याङ्कले बताउँछ । त्यस्तै निर्वाचनका बेला, बाढी पहिरो जस्ता अत्यावश्यक सूचना लिने बेलामा आम मानिसको पहिलो रोजाई रेडियो नै हुने गरेको छ । त्यस्तै विश्वसनियताका हिसाबले पनि सामाजिक सञ्चाल भन्दा रेडियोलाई मानिसले धेरै विश्वास गरेको देखिन्छ । अनुसन्धान अनुसार नेपालमा रेडियोबाट प्रसारण भएको सूचना सामग्रीको विश्वसनियता ३० प्रतिशत रहेको छ भने सामाजिक सञ्चालको विश्वसनियता ३ प्रतिशत मात्रै छ । पहुँच र प्रयोग बढी हुँदैंमा विश्वसनियता हुन्छ भन्ने हुँदैन भन्ने कुरा यो तथ्याङ्कले पनि पुष्टि गरेको छ । सामाजिक सञ्चालमा आएका बिषयहरुको विश्वसनियता जाँच्न पनि मानिसहरुले रेडियो खोल्ने गरेको देखिन्छ ।
रेडियोको सबल पक्ष
१) प्रविधिका कारण व्यापकता ।
स्थानीय एफ एम रेडियोहरु प्रविधिको प्रयोगका कारण प्रसारण क्षमता बिस्तार गरिरहेका छन । सामान्य रुपमा हेर्दा रेडियोका स्रोता कम हुँदै गएको होकी भन्ने भान हुन्छ तर रेडियो सुन्ने तरिका फेरिएकाले हामीलाई त्यस्तो लागेको हो । अहिले ठुला ठुला रेडियो सेट राखेर रेडियो सुन्ने स्रोता भने घटेकै हुन तर अहिले हरेक मानिसको हात हातमा रेडियो छ । मानिसहरु मोबाईल मार्फत रेडियो सुनिरहेका छन । इन्टरनेटको पहुँचको बिस्तारसंगै त्यसलाई उपयोग गर्दै मोबाइल एप, अनलाईन मार्फत पनि रेडियो सुन्न सकिने भएकाले पनि मानिसहरुलाई रेडियो सुन्ने तरिकामा परिवर्तन गर्न छुट मिलेको छ । तर सुचना प्राप्त गर्न कुनै न कुनै माध्यम प्रयोग गरेर पनि मानिसले रेडियोमा आफ्नो पहुँच स्थापित गरिरहेकै छन ।
२) स्थानीय मुद्दामा सहयोगी ।
स्थानीय मुद्दा उठानका हिसाबले एफ एम रेडियोहरु सबैभन्दा अगाडी छन । अहिले पनि महत्वपूण स्थानीय बिषयबस्तू उठान र समाधानमा रेडियोहरुले नै अगुवाई गरिरहेका छन । स्थानीय समुदायको भाषा, कला, संस्कृति, शीप तथा युवा रोजगारीको प्रबद्र्धनका हिसाबले पनि स्थानीय रेडियोहरु शसक्त छन । अहिले पनि नेपालका रेडियोहरुले स्थानीय समुदायको भाषा, संस्कृति र शीपको संरक्षणमा महत्वपूर्ण भुमिका खेलिरहेका छन । देशभरका रेडियोहरुले हाम्रा स्थानीय समुदायको भाषामा आधारित कार्यक्रम र समाचार उत्पादन तथा प्रसारण गरेर ती भाषासंगै संस्कृतिको जगेर्ना गरिरहेका छन ।
३) आपत र विपतको साथी हो रेडियो ।
जब जब आपत आइलाग्छ तब तब स्थानीय समुदायले सम्झने नै स्थानीय रेडियोलाई नै हो । गाउँमा जंगली हात्ती आउँदा होस या बाँदरले आतकिंत बनाउँदा स्थानीयहरुले सहयोगका लागि रेडियो गुहार्ने गरेका छन । त्यसो त बेवारिसे सामुदायिक कुकुरहरुले दुःख दिंदा समेत रेडियोमा फोन आउने गरेको उदाहरण प्रशस्तै छन ।
गरीब नागरिकलाई प्राण घातक रोग लागेर उपचार गर्न खर्च अभाव हुँदा सबैभन्दा बढी सम्झिने भनेकै स्थानीय रेडियो नै हो । यस्तो असहज परिस्थितिका बेला उपचार खर्च जुटाउन रेडियोहरुले खुला रुपमा आवहान गरिरहेका हुन्छन । रेडियोमा प्रसारण भएकै कारण उपचार खर्च जुटाएर आफ्नो उपचार गराउन सफल भएका थुप्रै स्थानीयहरु हाम्रै वरिपरि भेटिन्छन ।
भुकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपतका बेला अन्य सञ्चार माध्यमको पहुँच ह्वात्तै घट्दो अवस्थामा हुन्छ तर स्थानीय रेडियोहरु झन शसक्त रुपमा विपत्तीका बेला स्थानीय नागरिकको सेवामा तल्लीन हुन्छन । विपत्तीका बेला इन्टरनेट र बिद्युत प्रवाह पनि नहुने भएकाले त्यस्तो बेलामा स्थानीय रेडियोहरु मात्रै सञ्चारका साधनका रुपमा रहेका हुन्छन । जसको उदाहरण हामीले २०७२ को महाभुकम्पका बेला प्रत्यक्ष भोग्न पाएका थियौं भने हरेक बर्ष आउने बाढी पहिरोका बेला पनि रेडियोहरुले नै स्थानीयस्तरमा सहयोगीको रुपमा काम गरिरहेको हुन्छ ।
४) पालिका सरकारको पहुँच बिस्तारमा सहयोगी ।
संघीयता पछि स्थानीय तहहरु सक्रिय भएका छन । गाउँ गाउँमा पालिका सरकारले काम गरिरहेका छन । वडा सरकारहरु नागरिकका घरदैलोमा पुगिरहे पनि आम नागरिक र जनप्रतिनिधि बिच सुचना मार्फत सम्बन्ध स्थापित गरि घर गाउँका देख्दा सानो लाग्ने तर आम नागरिकका लागि अत्यन्तै महत्वपूर्ण बिषयहरु रेडियो मार्फत समाधान गर्न अहिले पनि स्थानीय रेडियोहरु क्रियाशिल छन । त्यति मात्रै होईन स्वयम पालिकाहरुको पहुँच बिस्तारमा पनि स्थानीय रेडियोहरुलाई साधनका रुपमा उपयोग गर्न सकिन्छ । पालिकाहरुको सेवा प्रवाहलाई आम मानिसको पहँुचसम्म पुर्याउन अहिले पनि स्थानीय रेडियोलाई सकारात्मक रुपमा प्रयोग गर्ने रणनिति लिने हो भने त्यो पालिकाले सबैभन्दा धेरै आफ्ना पालिकाबासीको सेवामा आफुलाई समर्पित गर्न सक्छ ।
रेडियोका चुनौति ।
रेडियोका सबै राम्रा पक्ष मात्रै छैनन । पछिल्लो समयमा संख्यात्मक रुपमा भएको रेडियोको बृद्धिको तुलनामा रेडियोको प्राविधिक पक्ष र प्रसारण सामाग्री उत्पादनमा गुणात्मक रुपमा केही कमी आएकै छ
१) दक्ष जनशक्तिको कमी ।
दक्ष जनशक्ति उत्पादन गर्न निक्कै मेहनत लाग्ने भएका कारण नयाँ पुस्तामा लामो समय आफ्नो शीपमा निखार ल्याउने धर्यता नभएकै कारण पनि एउटै मान्छे लामो समय रेडियोमा टिक्न नसकिरहेको यथार्थ पनि हाम्रा सामु छर्लङ्ग छ । त्यसैले अहिले रेडियोको सबैभन्दा कठिन चुनौति भनेको दक्ष जनशक्ति नहुनु हो । जसका कारणले हाम्रा उत्पादनमा समेत परेको छ ।
२) परम्परागत प्रसारण कै भर
संसारमा प्रविधिले फड्को मारिसकेको छ । तर रेडियोहरु अहिले पनि परम्परागत रुपमा नै प्रसारणमा केन्द्रीत छन । रेडियोको प्रसारणमा प्रविधि र बिषयबस्तुका हिसाबले नयाँ पनलाई पूर्ण रुपमा भित्र्याउन सकिएको छैन । जसका कारण हाम्रा स्रोता घट्दो अवस्थामा छन । स्मार्ट फोनका कारण हरेक मानिसलाई गित सुन्न मात्रै अब रेडियो खोल्नु पर्दैन । गित लगायतका सामग्री सुन्न थुप्रै माध्यमको उपलब्धता हरेक मानिसको हात हातमा छ । त्यसैले प्रविधिको प्रयोगमा कमी देखिएका स्थानीय रेडियोहरुले क्रमश स्रोता गुमाउँदै गएका छन ।
३) सुन्न लायक सामग्री उत्पादनमा कमी
हरेक मानिसले नयाँ कुरा जान्न र सुन्न पन पराउँछ । प्रविधिको विकासले मानिसले धेरै कुरा आफैं खोजेर जान्न सक्ने अवस्था छ । त्यसको तुलनामा रेडियोकर्मीहरुले आम स्रोतालाई चाखलाग्ने सामग्री उत्पादन गर्न मेहनत कम गरेको देखिन्छ । जसका कारण हाम्रा रेडियोहरुमा प्रसारण भइरहेका कार्यक्रमहरु आम मानिसको चासो, चाख र रुची भन्दा सामान्य लाग्ने खालका हुन थालेका कारण स्रोता रेडियोबाट टाढा हुँदै गएको देखिन्छन ।
४) दीगो स्रोतको कमी
स्थानीय रेडियोहरुका लागि दीगो स्रोत व्यवस्थापन सबैभन्दा चुनौतिको बिषय बनेको छ । दीगो स्रोत नहुँदा रेडियोहरु धराशायी हुँदै गएका छन । रेडियोहरुका लागि ठुलो लगानी गरेर बिज्ञापन दिने ग्राहकहरु कम हुँदै गएका छन भने रेडियो आफैंले पनि स्रोत व्यवस्थापनमा नयाँपन दिन नसकेको देखिन्छ । स्रोतकै कमीका कारण रेडियोले प्रविधिमा फड्को मार्न सकेको छैन भने दक्ष जनशक्तिलाई टिकाई राख्न चुनौति भएको छ ।
निष्कर्ष
रेडियोको प्रसारणलाई शसक्त र जनउपयोगी बनाउन प्रसारकहरुले अहिले पनि रेडियोको प्रसारणलाई आम नागरिकमा केन्द्रीत गरेका छन । रेडियोहरुलाई स्थानीय समुदायसंग जोड्नुले नै अहिलेका लागि रेडियोको प्रसारणलाई बलियो बनाउँछ ।
अहिले स्थानीय तहहरु स्थानीय सञ्चार माध्यमको राम्रो स्रोत बनेको देखिन्छ तर त्यो पनि सबैतिर समान छैन । पहुँचकै भरमा स्थानीय तहहरुले सञ्चारमाध्यमलाई पैसा बितरण गर्ने गरेका छन । स्थानीय रेडियोहरु मार्फत पालिकाहरुले आफ्ना गतिविधिलाई नियमित गर्ने हो भने त्यसबाट पालिकाहरुको सेवा प्रवाह पनि प्रभावकारी हुने र रेडियोहरुका लागि केही हदसम्म दिगो स्रोतको व्यवस्थापन हुन्छ । त्यस्तै विज्ञापनका पनि नयाँ क्षेत्रका बारेमा रेडियो प्रसारकहरु आफैंले थप मेहनत गर्नु पर्ने देखिन्छ ।
तसर्थ रेडियो एउटा सशक्त र प्रभावकारी सञ्चारमाध्यम हो । त्यसलाई नयाँ परिवेश अनुसार रुपान्तरण गरी आम स्रोता लागि सुन्न लायक सामग्री उत्पादन गरी प्रसारण गर्न सके रेडियो प्रसारणमा तत्काल देखिएको संकट हटाउँदै फेरि एक पटक रेडियोको युग फर्काउन सकिनेछ ।
कार्यकारी निर्देशक
रेडियो मन्त्र १०५.४ मेगाहर्ज
मेचीनगर–७, झापा