मेचीनगर, माघ २६ । झापा मेचीनगर ५ अँधेरीका मोहन सुवेदी घर अगाडीको ४२ फुटको रिङरोड हेर्दै बेलाबेला टोलाइरहनुहुन्छ । यहि रिङरोड हो जुन २०५४ सालमा ठुलो आशा र भरोशा बोकेर उहाँको घर अगाडी आइपुगेको थियो । त्यसबेला घर अगाडी यति ठुलो बाटो बन्दै गर्दा उहाँको हर्षको सिमा नै थिएन । रिङरोड निर्माण हुदैँ गर्दा अब घर अगाडी कालोपत्रे सडक बन्ने भयो भन्दै उहाँ कल्पना गर्नुहुन्थ्यो ।
तर समय धेरै फेरियो, परिवेश पनि फेरियो उहाँको आशा भने आज पनि जस्ताको तस्तै छ । कालोपत्रे सडकको ठुलो सपना बोकेर आएको रिङरोड अहिले झन बेहाल अवस्थामा छ । “कत्रो उत्साहका साथ रिङरोड निर्माणका लागि जग्गा दियौँ, तर खोइ उपलब्धि ?” उहाँ निरास बन्दै प्रश्न गर्नुहुन्छ । कालोपत्रे नभएपनि सडक स्तरोन्नती मात्रै भएपनि गर्न उहाँको आग्रह छ ।
२०५४ सालमा मेचीनगर ३ को दोकानडाँडाबाट मेचीनगर ५ को धिमाल बस्तीसम्म यस रिङरोड खनिएको थियो । “हामी यहाँ आउँदा सानो गोरेटो बाटो थियो, मानिसहरु यस बाटो भएर भारतिय बजार नक्सल खुब जान्थे” उहाँ सम्झनुहुन्छ “पछि रिङरोड भन्दै ४२ फुटको बाटो खनियो, तर अहिले भने रिङरोड तर्फ कसैको ध्यान छैन ।”
रिङरोड बनेपछि २०७१ सालमा एकपटक स्तरोन्नती पनि भयो । झारैझारले ढाकिएको बाटोमा ग्राबेल बिछ्याउँदा स्थानीयको मनमा फेरी एकपटक आशाको दियो झुल्किएको थियो । तर आशा धेरैसमय टिक्न नपाउँदै कतै रिङरोड भत्किन थाल्यो त कतै सिमानाका नाला नै हराउन थाले । अन्तमा रिङरोड ओझेलमा मात्रै परेन गाउँका बासिन्दाको आशा समेत निराशामा परिणत हुन थाल्यो ।
“साँच्चै हाम्रो रिङरोड कहिले बन्छ ?” आजपनि मेचीनगर ५ का अनन्त कुमार दाहाल यस्तै प्रश्नको जवाफ पर्खिरहनुभएको छ । चुनावका बेला कयौँ नेताहरुले देखाएका आश्वासन आजपनि उहाँको मनमा गुञ्जिरहन्छ । चुनावका बेला रिङरोड बनाउछौँ भनेर निर्वाचित भएका प्रतिनिधिहरुले समेत अहिले आएर रिङरोड तर्फ चासो नदेखाएको स्थानीय नागरिकहरु बताउँछन् ।
दशकौँअघि निर्माण भएको यस रिङरोड मेचीनगरका ३ वटा वडा (३, ४ र ५) को भुभाग हुदैँ खनिएको छ भने ७ वटा टोल भएर रिङरोडको संरचना बनेको छ । तत्कालिन मेचीनगर नगरपालिका र बाहुण्डागीँ गाविस रहेका बेला रिङरोड (सिमाना) का रुपमा यस संरचना निर्माण भएको हो ।
तर स्थानीय तहको संरचना फेरिएसगैँ रिङरोड पनि ओझेलमा परेको नागरिकहरुको बुझाई छ । त्यति ठुलो आशा बोकेर घर अगाडी आएको रिङरोड आजपनि त्यस्तै अवस्थामा हुदाँ स्थानीयहरु कुन निकायसगँ गुनासो राख्ने अन्योलमा छन् । “रिङरोड बन्छ भनेर सुनिएको छ, अहिले नै नबनेपनि एकदिन त कसो नबन्ला !” एकजना स्थानीयले आशाको भावमा यसो भन्नुभयो ।