कुरा २०७९ माघ २३ गते सोमबारको हो । बिहान करीब ११ बजेको थियो । एउटा सामुदायिक विद्यालयको भवन निर्माण सम्बन्धी बिषयमा जानकारी लिन मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टा गएको थिएं । निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहनु भएका नगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको कार्यकक्षमा पुगें । केही मानिस बसिरहेका थिए । होमसरले भित्रै बस्न आग्रह गरे पछि म वहाँको कार्यकक्षको सोफामा बसे ।
दुई जना व्यक्ति अलि रुखो रुपमा प्रस्तुत भइरहेका थिए । कार्यालय प्रमुख पनि भएका कारण धेरै बिषयका सेवाग्राही होम सरको कार्यकक्षमा आउने नै भए । त्यो क्रम चलिरहेकै थियो । अघिदेखि झोंक्किएर बोलिरहेका ति व्यक्तिलाई होम सरले केही सम्बोधन गर्नु भयो र ति व्यक्ति कार्यकक्षबाट बाहिरिए । मैले होम सर र ति व्यक्तिको कुरा सुनिमात्रै रहे । म आफ्नै बिषय बुझन होम सरसंग गफ गर्न थालें । खास गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भवन निर्माण तर्फको बजेट खर्च गर्ने र भवन निर्माणको मापदण्डका बारेमा मेरो चासो थियो । त्यही बिषयमा होम सर र म कुराकानी गरिरहेका थियौं होम सरले मलाई त्यस सम्बन्धी जानकारीमुलक कानूनी व्यवस्था समेत भएको एउटा पुस्तीका निकालेर अध्ययन गर्न दिनु भयो । म त्यो पुस्तीका हेर्दैमात्रै के थिएं एकै छिन अघि झोंक्किएका व्यक्ति फेरि होम सरको कार्यकक्षमा प्रवेश गरे । उनको अघिको स्वभाव उस्तै थियो । अलि तनावमा भएको भान हुन्थ्यो ।
म आफ्नै सुरमा होम सरले दिएको पुस्तीका हेर्दै थिएं तर कान भने ति व्यक्तिको कुरा तिरै सोझिएका थिए । आँखा पुस्तीका तिर र कान ति व्यक्तिले होम सरलाई भन्दै गरेको कुरा तिर थिए । त्यस पछि थाहा भयो कि त्यो बिषय खोला ठेक्कासंग सम्बन्धीत रहेछ ।
अब मैले पुस्तीका बन्द गरेर ति व्यक्तिका कुरामा ध्यान दिन थालें । यतिबेरसम्म ति व्यक्तिले म पत्रकार भएको कुरो थाहा पाएका छैनन । होम सरलाई भने म त्याहा भएको केही असजिलो हो कि जस्तो भएको मैले महसुश गरें तर पनि मैले ति व्यक्तिको कुरा सुन्नु पर्ने थियो र सुनिरहें । कुरै कुरामा ति व्यक्तिले अब नगरपालिका तालाबन्दी गर्ने र पत्रकारलाई बोलाएर सार्वजनिक गर्ने भने । तालाबन्दी नै गर्ने भने पछि मैले ति व्यक्तिलाई रोकेरै सोधें भएको के हो ? मेरो प्रश्नको उत्तरमा तिनले भने, ‘यो नगरपालिकाले निकालेको हडिया खोलाको ठेक्का हाम्रो कम्पनीले पायो, पहिलो किस्ता रकम जम्मा गरेर ठेक्का सम्झौता गर्न आउनु भनेर पत्र पनि पठायो । हामीले साढे १२ लाख रकम बैंकमा जम्मा गरेको पनि दुई महिना भइसक्यो तर नगरपालिकाले ठेक्का सम्झौता गरिदिएको छैन ।’ ति व्यक्तिले के बुझे कोनि म तिरै फर्केर यो नगरपालिकामा कति धाउनु पर्ने हो ? हामी कर्मचारी जस्तै दैनिक नगरपालिका आउन भ्याउँछौं ? हाम्रो अरु काम हुँदैन ?
ति व्यक्तिले म तिर फर्केर भनेको कुरा होम सरले सुनिरहनु भएको छ । वहाँले पनि म पत्रकार भएको कुरा ति व्यक्तिलाई भन्नु भएको छैन । त्यति भनेर ति व्यक्ति फेरि होम सरको कार्यकक्षबाट बाहिर निस्किए । त्यस पछि मैले होम सरलाई सोधें, भएको के हो सर ? त्यस पछि होम सरले मलाई दिएको जवाफले हाम्रो नगरपालिका कस्तो अवस्थामा पुगेको छ भन्ने छर्लङ्ग बनाउँछ ।
होम सरका अनुसार ठेक्का सम्झौताको अन्तिम हस्ताक्षर गर्ने अधिकारी वहाँ नै हो । तर नगरपालिकाका उच्च अधिकृतहरुलाई वहाँले रोहबरमा बस्न अनुरोध गर्नु भएको रहेछ तर कोही कर्मचारी रोहबरमा बस्न नमान्ने अवस्था रैछ । त्यसको मुल कारण चैं बिगतको ढुंगा गिटी उत्खननको बिषय अख्तियारमा मुद्दा चलिरहेकाले फेरि मुद्दामा परिन्छ की भन्ने डरका कारण कुनै कर्मचारी रोहबरमा बसेर ठेक्का सम्झौतामा हस्ताक्षर गर्न पछि सर्ने अवस्था रैछ । खास गरी एउटा शाखाका कर्मचारी र अर्को शाखाको कर्मचारीबीच यतिसम्म द्वन्द छ की एउटाले गरेको काममा अर्कोले मुद्दा हाल्न ठिक्क परेर बसेको छ । त्यसकै चपेटामा निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी पनि पर्नु भएको रैछ । वहाँले भन्नुभयो, ‘अन्तिम जिम्मेवारी लिने मैले हो, तपाईहरु रोहबरमा मात्रै बसिदिनु म ठेक्का सम्झौता गर्छु भन्दा पनि कसैले मानेनन र ठेक्का सम्झौता हुन पाएको छैन ।’
त्यत्तिकैमा अघिका ठेकेदार कम्पनीका मान्छे फेरि होम सरको कार्यकक्षमा प्रवेश गरे र सबैलाई बाहिर निस्कनु हामी ताला लगाउँछौं भन्दै ताला देखाउँदै आए । यति भने पछि मैले ति व्यक्तीलाई आफ्नो परिचय दिएर भने बस्नोस, तपाईको कुरा सुनाउनु म पत्रकार हो । त्यति भने पछि ति व्यक्ति मेरो छेउमा आएर बसे । उनको भावले लाग्थ्यो कि उनले निक्कै ठुलो साथ भेटे । मैले उनको परिचय मागे । उनी रहेछन फाल्गुना निर्माण सेवाका जीवन ढुंगेल । उनले होम सरसंग भनेकै कुरा मसंग दोहोर्याए र भने पत्रकारहरुले लेखिदिनु पर्यो यो नगरपालिकामा सारै दुःख पाइयो । अरु तिर यस्तो छैन । हुन्छ भने हुन्छ भनेर काम अगाडी बढ्छ नत्र ठेक्का रद्द गरिदिन्छन । तर मेचीनगरमा न ठेक्का रद्द गर्छन न सम्झौता नै गर्छन । अनि हामीले जम्मा गरेको पैसाको व्याज कसले तिरिदिन्छ । खोलामा पनि सामान निकालिरहेका छन । अनि हामीले के गर्नु । यति भनेर ढुंगेल जीले होम सर लगायत हामी सबैलाई कोठाबाट बाहिर निकालेर ढोका लगाइदिए ।
होम सर र म बाहिर घाम ताप्दै कुसीमा बसिरहेका थियौं । त्यसैबेला कर्मचारीको ठुलो हुल होम सर तिर आयो । उनीहरुको फेरि अर्कै समस्या रहेछ । नगरपालिकामा काम गरिरहेका करार र ज्यालादारी कर्मचारीले दुई महिनादेखि तलब नपाएर आन्दोलनमा रैछन । एकै छिनमा निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम सर, बरिष्ठ प्रशासकिय अधिकृत तथा प्रशासन शाखा प्रमुख अनन्तप्रकाश वस्ती र लेखा अधिकृत पदमबहादुर कार्कीलाई कार्यालयको प्राङ्गणमै राखेर कर्मचारीहरुले आफुहरुले तलब नपाउनुको कारण सोधे । तिनै जनाले आ आफ्नो तर्क पेश गरेको देखियो । कर्मचारीको नियुक्ति पत्र नभएको, करार सम्झौता नविकरण नभएकाले कानून बमोजिम तलब खुवाउन नसिकने लेखा अधिकृत कार्कीले बताउनु भयो । नगरसभाबाटै सबै कर्मचारीको करार नविकरण हुने निर्णय भएको कारण व्यक्तिगत नविकरण नगरिएको तर्क प्रशासन शाखा प्रमख वस्तीले प्रस्तुत गर्नु भयो । त्यसमा लेखा अधिकृतले थप्नु भयो, ‘नगरसभाले नितिगत निर्णय गर्ने हो, कर्मचारीको फाइलमा करार नविकरण गरिदिने काम कार्यालयले गर्नु पर्छ नत्र कानून बमोजिम खर्च लेख्न सकिदैंन ।’ वहाँले भन्नुभयो, ‘कि त होम सरले केही कागज चाहिंदैन भनेर लेखिदिनु पर्यो मलाई तलब खुवाउन कुनै अप्ठ्यारो छैन ।’
होम सरले आवश्यक कागजात पुर्याएर तलब निकासा हुने कुरा गरेर तत्कालका लागि समस्या समाधानको बाटो खोज्नु भयो । त्यति गर्दै गर्दा अघिका ठेकेदार ढुंगेलले नगरपालिकाको मुल ढोकामा ताला लगाइसकेका रहेछन । त्यो बेलासम्म नगरप्रमुख र उपप्रमुख कार्यालयमा नभएको थाहा भयो । केही बेर पछि उपप्रमुख मिना उप्रेती कार्यालय प्रवेश गर्नु भयो । ठेकेदार कम्पनीका प्रतिनिधिलाई बसेर छलफल गर्नु पर्छ भने पछि ताला खोलिदिए अनि वहाँ कार्यकक्ष तिर लाग्नु भयो । त्यसको केही बेरमै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी पनि कार्यालय प्रवेश गर्नु भयो । नगरप्रमुख आए पछि कर्मचारी प्रतिनिधि र ठेकेदार प्रतिनिधिहरुसंग अलग अलग छलफल गरे पछि तत्काललाई समस्या समाधान भएको कुरा सुनियो । कर्मचारीको हकमा पुरानै कागजातबाट माघ महिनासम्मको तलब खुवाउने र फागुनदेखि कागजात नविकरण गर्ने कुरामा सहमति भएको कुरा थाहा भयो । तर ठेकेदार प्रतिनिधिलाई के भनेर पठाइयो त्यो बिषय जान्न सकिएन ।
त्यही बिचमा नगरका केही पत्रकार साथिहरु पनि नगरपालिकामा आउनु भएको थियो । पत्रकार झुलन रेग्मी, प्रकास पौडेल र म चिया खान भनेर नगरपालिका परिषरबाट बाहिर निस्केर चिया पसलमा पुग्यौं । त्याहा दुई जना व्यक्ती खाना खादैं हुनुहुन्थ्यो । प्रसंगबस वहाँहरुले पनि नगरपालिकामा धाउनुको पीडा सुनाउनु भयो । वहाँहरु मेचीनगरलाई दमकल बिक्रि गर्ने कम्पनीका प्रतिनिधिहरु हुनुहुदो रैछ । काठमाण्डौबाट भुक्तानीका लागि आउनु भएको । नगरपालिकाले ५२ लाख ९० हजारमा नयाँ दमकल किनेको करीब ४ महिना भएछ तर भुक्तानी अहिलेसम्म दिएको छैन रे । ‘अब भयो तपाई आउनु भनेर बोलाउँछन,’ ति व्यक्तिले भन्नुभयो, ‘भुक्तानी हुन्छ भनेर काठमाण्डौबाट आयो तर यहाँ एउटा कर्मचारीले के भन्छ, अर्कोले के भन्छ, कुरै नबुझिने । यस्तो त कुनै नगरपालिकामा भएको देखिन ।’ ‘तीन चार पटक काठमाण्डौबाट आउँदै जाँदै गरिसके,’ उनले गुनासो गरे, ‘एक पटक आउँदा नै २० हजारभन्दा बढी खर्च हुन्छ । कस्तो काम नलाग्ने नगरपालिका रैछ अब देखि यो नगरपालिकासंग काम गर्न सकिदैंन ।’
यति कुरा सुनेर देखिसके पछि प्रेस क्लब मेचीनगरका अध्यक्ष पत्रकार डम्बर बराल पनि आइपुग्नु भयो । त्यो बेला करीब २ बजी सकेको थियो । चिया खाजा खाएर हामी आ आफ्नो तिर लाग्यौं । म पनि आफ्नो कार्यालय इटाभट्टा चोक पुर्वमा रहेको रेडियो मन्त्रमा आएर काम गर्न थाले ।
हिजोको दिन यसरी नै बित्यो ।