मेचीनगर, माघ २३ । दुई महिनादेखि पारिश्रमिक नपाएको भन्दै मेचीनगर नगरपालिकाका करार र ज्यालादारी कर्मचारीहरुले आज काम ठप्प पारेका छन । बिगत लामो समयदेखि काम गरिरहेका भए पनि नगरपालिकाले नियमित गर्नु पर्ने कागजात उपलब्ध नगराएका कारण मंसिर पछिको मासिक तलब खान नपाएका कारण समस्यामा परेका करार र ज्यालादारी कर्मचारीहरुले आज निमित्त प्रमुख प्रशासकिय अधिकृत होमनाथ भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती र लेखा अधिकृत पदमबहादुर कार्कीलाई संयुक्त रुपमा ध्यानाकर्षण गराएको नगरपालिका कर्मचारी एसोसिएशनका मेचीनगरका अध्यक्ष रबिन्सन थापाले बताउनु भयो ।
‘खाइपाई आइरहेको तलब एकाएक रोकिए पछि समस्या भयो,’ थापाले भन्नुभयो, ‘के कारणले कर्मचारीको तलब रोकिएको हो भन्नेसम्म थाहा नपाई मासिक तलब रोकिएका कारण हामीले कर्मचारी प्रमुखसंग त्यसको जवाफ मागेका हौं ।’
कानून अनुसारका नियुक्ती प्रक्रियाका कागजात प्रशासन शाखामा हुनु पर्नेमा नभएको पाईए पछि त्यसलाई नियमित गरेर मात्रै तलब खुवाउन सकिने भएकाले तत्काल तलब रोकिएको र कागजात आए पछि तलब नियमित हुने लेखा अधिकृत कार्कीले बताउनु भयो ।
नगरसभाको निर्णयले नै सबै करारका कर्मचारीको हरेक बर्ष नविकरण भएका कारण व्यक्तिगत नविकरण गर्नु नपर्ने भन्ने सोचाईले नै व्यक्तिगत नविकरण नगरिएको नगरका प्रशासन शाखा प्रमुख वस्तीले बताउनु भयो ।
पुस र माघको तलब पुरानै कागजातका आधारमा भुक्तानी गर्ने र फागुन देखि करार र ज्यालादारी कर्मचारी सबैको नियुक्ती पत्र र करार सम्झौता नियमिति गरेर मात्रै तलब भुक्तानी हुने गरी तत्कालका लागि समस्या समाधान गरिएको नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताउनु भयो ।
करीब एक सय भन्दा बढी करार र ज्यालादारी कर्मचारी रहेको मेचीनगरमा आज दिनभरजसो कर्मचारीको आन्दोलनका कारण सेवा प्रवाह ठप्प भएको थियो भने १५ वटै वडाको काम समेत प्रभावित भएको थियो ।