झापा, माघ २३ । मेचीनगर–२ स्थित बौद्वमोडमा शनिवार कृत्रिम हातखुट्टा वितरणका लागि नाप शिविर सम्पन्न भएको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई कृतिम हात तथा खुट्टा लगाउन नाप शिविर राखिएको ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले जानकारी दिनु भयो ।
ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका बिभिन्न जिल्लाबाट फरक क्षमता भएका मानिसहरुसहरु सहभागि गराएर शिविर सञ्चालन गरेको हो । नारायण सेवा संस्था उदयपुर राजस्थान भारतबाट शिविर इन्चार्ज हरिप्रसाद लड्डाको नेतृत्वमा आएको ७ जनाको प्राविधिक टोलीले फरक क्षमता भएका व्यक्तिको हात खुट्टाको नाप लिइएको थियो । शिविरमा नाथु सिंह, किसन सुतार, नरेन्द्र सिंह, सत्यनारायण मिणा र रजनी मेननको प्राविधिक टेली सहभागि थियो ।
हात, खुट्टा नहुँदा जीवनभरी पीडा बोकेर बसेका व्यक्तिहरुको लागि मात्र होइन वहाँहरुको परिवार र सिंगो समाजलाई यस अभियानले खुशी दिएको अपाङ्गता भएका व्यक्तिका अभिभावकहरुले बताएका छन ।
शिविरको उद्घाटन प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले गर्नु भएको थियो । प्रमुख अतिथि सिटौलाले मानव सेवानै सबैभन्दा ठूलो धर्म भएको बताउँदै ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था र सहभागि सहयोगी टिमले ठूलो पुण्यको काम गरेको भन्दै आयोजक तथा सहयोगि सिंगो टिमको प्रशंसा गर्नु भएको थियो ।
शिविरमा संखुवासभा, भोजपुर काठमाडांै लगायत देशभरबाट सहभागी भएका १०८ जना अपाङ्गता भएका मानिसको हात खुट्टाको नाप लिएको र उनीहरुलाई आगामी चैत १५ गते एक कार्यक्रम आयोजना गरेर कृत्रिम हात खुट्टा वितरण गरिने सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताउनु भयो ।
कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, मेचीनगर– २ का वडाध्यक्ष दीपक बराल, नेप इण्डिया फाउण्डेसनकी सचिव इन्दिरा शर्मा ,रुद्र गौरी प्रतिष्ठानका कोषाध्यक्ष गोपाल ओली, रोजी हिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राई, अगुवा सहकारीकर्मी रामचन्द्र उप्रेती, नारायण सेवा संस्थानका हरिप्रसाद लड्डा लगायतले बोलेका थिए ।
सहकारी संस्थाका अध्यक्ष निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, सविना बजगाईँ, नेपाली काँग्रेसका झापा जिल्ला उपसभापति केशवराज पाण्डे, बौद्वमोड कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, शुभ चिया सहकारी संस्थाका अध्यक्ष शम्सेर बहादुर खड्का, समाजसेवी केशव ओझा, रमेश दाहाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।