मेचीनगर, माघ १९ । मेची उद्योग वाणिज्य संघको माघ २१ गते शनिबार हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा रोचक भिडन्त हुने देखिएको छ । १६ पदका लागि हुने निर्वाचनमा ३३ जना उम्मेद्वार चुनावी मैदानमा छन । बरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेद्वार छन । तीनै जना उम्मेद्वार एउटै भूगोल अर्थात धुलाबारी क्षेत्रका हुन । नेपाली काँग्रेसको एकल प्यानलबाट मेचीनगर १० का कपिल क्षेत्री उम्मेद्वार हुनुहुन्छ भने एमाले नेतृत्वको ६ दलीय गठबन्धनका तर्फबाट मेचीनगर १० कै माओवादी केन्द्रका पन्नलाल जैन उम्मेद्वार हुँदा दलीय उम्मेद्वार बिरुद्ध बिद्रोह गरेर मेचीनगर ९ का हरिप्रसाद कोइरालाले उम्मेद्वारी दिनु भएको छ ।
मतदाताको संख्यालाई हेर्दा काँग्रेस निकटको उपस्थिति बलियो देखिए पनि व्यक्तिगत सम्बन्धका आधारमा मतदान हुने विगतको नजिरले पनि तीनै जना उम्मेद्वारबिच कडा प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।
माओवादी केन्द्रका उम्मेद्वार जैन संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । यस अघि पनि कार्यसमिति सदस्यमा समेत पराजित भएको र अहिले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वार हुँदा संस्थापकको गरिमा रहेन भन्ने एक थरि मतदाता देखिएका छन भने पुराना र अनुभवी भएका कारण पनि जैन उपयुक्त उम्मेद्वार भएको जिकिर गर्नेहरुको पनि कमी छैन ।
त्यस्तै काँग्रेसका आधिकारिक उम्मेद्वार भनिएका कपिल क्षेत्रीलाई काँग्रेसकै एउटा ठुलो समूहले मत नदिने सम्भावना बढेर गएको छ । अरुबेला पार्टी प्रति प्रतिबद्ध नभएको, एमालेसंग जोडिएका केही व्यक्तिको इसारामा काम गर्ने, साथिभाईलाई परेको बेला सहयोग नगर्ने जस्ता थुप्रै आरोप क्षेत्रीलाई लागेको छ । जसका कारण चुनावको मिति नजिकिदैं जाँदा क्षेत्री कमजोर हुँदै गएको देखिन्छ ।
यता बिद्रोह गरेर उम्मेद्वार हुनु भएका हरिप्रसाद कोइराला पनि काँग्रेससंगै आबद्ध युवा व्यवसायी हुनुहुन्छ । व्यवसायीको चुनावमा पार्टीले उम्मेद्वार उठाउनु हुँदैन भन्दै बिद्रोह गरेर चुनावी मैदानमा होमिनु भएका कोइराला मतदाताहरु बिच लोकप्रिय बन्दै जानु भएको देखिएको छ । सहयोगी स्वभाव भएका कारणले पनि कोइरालाले परिणाम आफ्नो पक्षमा पार्ने सम्भावना बढेको स्थानीय व्यवसायीहरुले बताउने गरेका छन ।
पछिल्ला दिनमा काँग्रेसका केही अगुवा कार्यकर्ताहरु नै क्षेत्री बिरुद्ध मैदानमै उत्रिएर कोइरालाको पक्षमा खुलेका कारण पनि क्षेत्री कमजोर हुँदै गएको र कोइराला बलियो हुँदै गएको धुलाबारीका एक व्यवसायीले बताउनु भयो ।
तीनै जना धुलाबारी क्षेत्रका उम्मेद्वार भएकाले त्यस क्षेत्रको मत विभाजित हुने र काँकरभिट्टा क्षेत्रको मत तुलनात्मक रुपमा कोइरालाको पक्षमा बढी आउने आँकलन समेत हुन थालेको काँकरभिट्टाका एक जना व्यवसायीले बताउनु भयो ।
एक हजार ८ सय मतदाता रहेको संघको चुनावमा बरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त हुने निश्चित भए पनि परिणाम कसको पक्षमा आउने हो भन्ने चासो बढेर गएको छ । संघको चुनावका लागि काँग्रेस प्यानलबाट काँकरभिट्टाका मोहन निरौला अध्यक्षको उम्मेद्वार हुनुहुन्छ भने ६ दलीय गठबन्धनका तर्फबाट एमालेका धुलाबारीका व्यवसायी खेमराज प्रसाई अध्यक्षको उम्मेद्वारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ । महासचिवमा काँग्रेसका उदयकुमार श्रेष्ठ र एमालेका दिनेश शाक्य उम्मेद्वार हुनुहुन्छ ।