झापा, माघ १८ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्ला झापामा पुरस्कृत गरिएको छ । मेचीनगर–११ स्थित लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले मंगलबार आयोजना गरेको चौथो वार्षिक उत्सव एवम सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ का असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत तीनै जना प्रतिभाहरूलाई जनही ३१ हजार रुपैयाँसहित कदर पत्रद्वारा सम्मान गरिएको थियो । सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरूलाई कदर गर्न विगत चार वर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
मेचीनगर ११ स्थीत जालपा सामुदायिक भवनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईँ, सम्मानितहरु व्यक्तित्व शर्मा, प्रतिष्ठानका सदस्य मोहन काजी, समाजसेवीहरू शिव पौडेल, डिल्ली खतिवडा, हरिनारायण भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लाल–भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनोज बानियाँ र सञ्चालन सचिव डम्बरबहादुर देउजाले गरेका थिए ।