मेचीनगर, माघ १८ । मेची उद्योग वाणिज्य संघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिनु भएका धुलाबारीका युवा व्यवसायी हरिप्रसाद कोइरालाले आफ्नो उम्मेद्वारी वास्तविक व्यवसायीहरुको प्रतिनिधिको तर्फबाट भएको दाबी गर्नु भएको छ । ‘व्यवसायीको संस्थामा राजनितिक दलले उम्मेद्वार बनाउने होईन,’ कोइरालाले सेतोपत्रसंग भन्नुभयो, ‘व्यवशायीको दुःख बुझेको मान्छेले मात्रै अहिलेको आर्थिक संकटका बेला व्यवसायीको पक्षमा काम गर्न सक्छ ।’
दलीय सहमतिमा उम्मेद्वार बनाउने कुराको बिरुद्ध बरिष्ठ उपाध्यक्षमा दिएको उम्मेद्वारी कायम राख्नु भएका कोइरालाले यो चुनाव राजनितिक दलको चुनाव नभएको बताउनु भयो । ‘यो चुनाव राजनितिक दलको चुनाव होईन,’ कोइरालाले भन्नुभयो, ‘व्यवसायीहरुको दुःख र पीडा मैले बुझेको छु त्यसैले उम्मेद्वारी दिएको हो ।’
‘यस अघिको समितिले व्यवसायीहरुको हितमा कुनै काम गर्नै नसकेका कारण पनि अब दलीय उम्मेद्वारले काम गर्न सक्दैनन भन्ने पुष्टी भइसकेको छ,’ वहाँले भन्नुभयो ।
कोरोनाले थला परेको व्यापार व्यवसायलाई उकास्न राजनितिक दलबाट उम्मेद्वार हुनेहरुले केही गर्न नसक्ने भएकाले पनि आफुले उम्मेद्वारी दिनु परेको कोइरालाको भनाई छ । ‘कोरोनाका कारण व्यवसायीहरु थला परेका छन,’ वहाँले भन्नुभयो, ‘व्यापार उकास्न नयाँ योजना ल्याउनु छ, त्यसका लागि म जस्ता शुद्ध व्यवसायी नै मेची उद्योग वाणिज्य संघमा निर्वाचित गराउने आम व्यवसायीको चाहाना छ ।’
एका तर्फ नेपाली काँग्रेसको एकल प्यानल र अर्को तर्फ एमाले नेतृत्वको ६ दलीय गठबन्धनको प्यानलका उम्मेद्वार रहेको अवस्थामा कोइरालाले ति दुई प्यानलभन्दा बाहिर रहेर बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको हो । दलीय उम्मेद्वारलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता गराउन दबाब दिए पनि आफुले उम्मेद्वारी फिर्ता नलिएको कोइरालाले बताउनु भयो । व्यवसायीहरुको हितका लागि उम्मेद्वारी कायम राखेको कोइरालाले प्रतिक्रिया दिनु भएको छ ।
बैंकहरुको नाफा बढ्दै जाने तर व्यवसायीहरु टाट पल्टिदै जाने र आत्महत्या गर्नु पर्ने स्थीतिमा पुग्ने अवस्थाको बिरुद्ध अभियान सञ्चालन गर्न पनि आफुले उम्मेद्वारी दिएको कोइरालाले बताउनु भयो ।
नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा मोहन निरौला र ६ दलीय गठबन्धनका तर्फबाट एमालेका खेमराज प्रसाई अध्यक्षको उम्मेद्वार हुनुहुन्छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा काँग्रेसका कपिल क्षेत्री र माओवादी केन्द्रका पन्नालाल जैन उम्मेद्वार हुनुहुन्छ । माघ २१ गते हुने निर्वाचनमा एक हजार ८ सय मतदाता रहेको संघले जनाएको छ ।