मेचीनगर, माघ १६ । मेचीनगरका व्यवशायीहरुको छाता संस्थाका रुपमा रहेको मेची उद्योग वाणिज्य संघको यही माघ २१ गते हुने निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता भएको छ । वाणिज्य संघको १६ पदका लागि ३४ जनाले आज उम्मेद्वारी दर्ता गराएका छन ।
व्यवशायीहरुको चुनाव भए पनि राजनितिक दलको प्रत्यक्ष हस्तक्षेपमा उम्मेद्वारी चयन भएको छ । नेपाली काँग्रेस र एमाले नेतृत्वको ६ दलिय गठबन्धनको दुई प्यानलबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । काँग्रेसको प्यानलबाट मोहन निरौला अध्यक्ष रहने गरी प्यानलले उम्मेद्वारी दर्ता गराएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री(किसोर), उद्योग उपाध्यक्षमा भुमि पौडेल, बाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारी र महासचिवमा उदयकुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनु भएको छ । काँग्रेसका तर्फबाट सदस्यहरुमा देवीमाया तामाङ, सुन्दरीकुमारी श्रेष्ठ, श्यामप्रसाद न्यौपाने, चन्द्रबहादुर घोर्साई, राजेशकुमार बंशल, विनोदकुमार बानियाँ, बिष्णुबहादुर बुढाथोकी, सन्तोस खवास, बर्मलाल ओझा र कमलप्रसाद कोइरालाले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
त्यस्तै एमाले नेतृत्वको ६ दलीय गठबन्धनबाट अध्यक्षमा एमालेका खेमराज प्रसाई, बरिष्ठ उपाध्यक्षमा माओवादी केन्द्रका पन्नालाल जैन, उद्योग उपाध्यक्षमा एमालेका आनन्द खड्का, वाणिज्य उपाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका भिमबहादुर कुँवर, महिला उपाध्यक्षमा राप्रपाका सुनिता शर्मा र महासचिवमा एमालेका दिनेश शाक्यले उम्मेद्वारी दर्ता गराउनु भएको छ । त्यस्तै सदस्यहरुमा एमालेका केपी शिवाकोटी, दिपेन्द्रराज पाण्डे, भिम बिष्ट, कृष्णकुमारी सुवेदी र गोपाल गुप्ता रहनु भएको छ भने माओवादी केन्द्रका श्रवणकुमार बानियाँ, पवित्रादेवी तिवारी, नेकपा एसका श्रवणकुमार शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रकुमार भण्डारी र राप्रपाका ललित अग्रवालले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
दलीय प्यानल बाहेक पनि हरिप्रसाद कोइरालाले बरिष्ठ उपाध्यक्षमा र गोपालप्रसाद चुडालले उम्मेद्वारी दर्ता गराउनु भएको छ । वाणिज्य संघमा एक हजार ८ सय मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।