झापा, माघ ११ । मानव बेचबिखन नियन्त्रणका लागि नेपाल भारत सिमाहरुमा प्रभावकारी निगरानी र गाउँ गाउँमा सचेतना आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन । मानव बेचविखत बिरुद्ध सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रियामा मंगलवार बोल्दै त्यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नेपाल र भारतका प्रतिनिधिहरुले मानव बेचबिखनमा संलग्नहरुले परम्परागत तरिकालाई परिवर्तन गरी नयाँ नयाँ तरिका अपनाउन थालेकाले समेत पनि चुनौति थपिदैं गएको बताएका थिए ।
वीरता लेडी जेसीज, बिर्तामोडको आयोजनामा हिजो पुर्वी सिमा नाका मेची पुलमा नै गरिएको खुला अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले इन्टरनेटको माध्यमको प्रयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत मानव बेचबिखनको जालो फैलिदैं गएको बताएका थिए । नाकामा प्रभावकारी निगरानी मात्रै गर्ने हो भने पनि मानव बेचबिखन नियन्त्रण गर्न सहज हुने बक्ताहरुले बताएका थिए । सहभागिहरुका अनुसार नेपाली चेलीहरुलाई रोजगारको प्रलोभन देखाएर भारत तर्फ लैजानेक्रम अहिले पनि राज्य संयन्त्रलाई छलेर लाने गरेको अवस्था छ । नेपालबाट भारततर्फ जाने महिलाहरुलाई मात्रै अलि सोधीखोजी गरिदिने हो भने मात्रै पनि नेपाली महिला भारतमा बेचिनबाट जोगाउन सकिने सहभागिहरुले बताएका थिए ।
मानव बेचबिखन जघन्य मानवीय अपराध रहेको भन्दै त्यसको नियन्त्रणका लागि कुनै एउटा पक्षको मात्रै सक्रियताले सम्भव नहुने भन्दै यसकालागि राज्यलाई नागरिक संस्थाहरुले समेत एकजुट भएर सहयोगी भुमिका खेल्नु पर्ने सहभागि बक्ताहरुले बताएका थिए ।
इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माइति नेपालका काकरभिट्टा कार्यालय प्रमुख गोबिन्द घिमिरे, नेपाल जेसीजकी उपाध्यक्ष स्वस्तिका आचार्य, अध्यागमन कार्यालय पानीटेंकी भारतका सहायक निरीक्षक योगेश ठाकुर, अधिकारकर्मी कञ्चना सिटौला, पत्रकार पर्वत पोर्तेल, चेलिबेटी बेचबिखन नियन्त्रणमा लामो समयदेखि काम गरिरहेका अनिता खनाल गुरागाई, गणेश राई लगायतले अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको थियो ।
वीरता लेडि जेसिजकी अध्यक्ष संगिता गिरीको सभापतित्वमा भएको कार्यक्रममा बिरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष संगिता चिमरीयाले कार्यक्रमबारे प्रष्ट पार्नु भएको थियो । । उदघाट्न सत्रमा कार्यक्रम संयोजक युनिता दवाडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेडी जेसीजकी महासचिव निशा शाक्यले गर्नु भएको थियो । लेडी जेसीजका पुर्व अध्यक्षहरु, पत्रकार तथा सिमामा खटिएका सुरक्षाकर्मीहरुको समेत सहभागिता रहेको अन्तरक्रियात्मक छलफल कार्यक्रमको सहजिकरण पत्रकार लिला अनमोलले गर्नु भएको थियो ।