मेचीनगर, माघ ९ । झापा मेचीनगर नगरपालिकाका प्रमुख र उपप्रमुख आफ्नै क्षेत्रका सांसद सहभागि भएको कार्यक्रममा उपस्थीत नहुने गरेको खुल्न आएको छ । मंसिर ४ को निर्वाचन पछि आयोजना भएका प्रतिनिधिसभा र प्रदेशसभा सांसद सहभागि भएको औपचारिक कार्यक्रममा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना उप्रेती सहभागि नभएको पाइएको छ ।
खास गरी नेपाली काँग्रेसबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र प्रदेशसभा सदस्य गोपाल तामाङ सहभागि भएको कार्यक्रममा नगरप्रमुख र उपप्रमुख सहभागि नहुने देखिएको हो ।
यतिसम्म देखियो कि माघ १ गते मेचीनगर वडा नं. ४ को कार्यालयको आयोजनामा प्रदेश १ मै पहिलो पटक बाहुनडाँगीमा तरुल महोत्सव आयोजना भयो । त्यसको उदघाटन प्रतिनिधिसभा सदस्य शर्माले भव्य कार्यक्रमका बिच गर्नु भयो । उक्त कार्यक्रमको उदघाटन सत्रमा नगरका प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेती दुवै उपस्थीत हुनु भएन । आफ्नै वडा कार्यालयले आयोजना गरेको महोत्सवको भव्य उदघाटन सत्रमा उपस्थीत नहुनु भएका मेचीनगरका प्रमुख र उप्रमुख सोही कार्यक्रमको बेलुका भएको सांस्कृतिक कार्यक्रममा भने दुवै जना एक साथ सहभागि हुुनु भएको थियो ।
त्यस्तै मंसिर ४ निर्वाचनको मतगणना सकिए लगत्तै पहिलो कार्यक्रमका रुपमा प्रतिनिधिसभा सदस्य शर्माले मेचीनगर १५ मा निन्दा खोलामाथि बन्ने झोलुङ्गे पुल निर्माणको शिलान्यास गर्नु भयो । उक्त कार्यक्रममा पनि नगरप्रमुख र उपप्रमुखको उपस्थीती देखिएन । प्रदेश सरकार र नगरको समेत बजेटमा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा नगरप्रमुख र उपप्रमुख दुवै जनालाई बोलाएको भए पनि सहभागि नभएको निर्माण समितिका पदाधिकारीले बताएका छन ।
त्यस्तै माघ ८ गते ल्होसारको भव्य कार्यक्रम काकरभिट्टामा आयोजना गरिएको थियो । नेपाल तामाङ घेदुङ संघले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङ हुनुहुन्थ्यो । उक्त कार्यक्रममा पनि नगरका प्रमुख र उपप्रमुख उपस्थीत हुनु भएन । ‘नगर प्रमुख र उपप्रमुख आउनु भएन,’ घेदुङ संघका एक सदस्यले भन्नुभयो, ‘सायद प्रदेश सांसदलाई प्रमुख अतिथि बनाएकाले होला वहाँहरु नआउनु भएको ।’
हुन त यो संयोग मात्रै पनि हुन सक्छ । तर सामान्य लाग्ने कार्यक्रमहरुमा जसरी पनि पुग्ने मेचीनगरका प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेती सांसद सहभागि भएका महत्वपूर्ण कार्यक्रमहरुमा लगातार सहभागि नहुनुले प्रश्न भने उब्जीएको छ । नेकपा एमालेबाट निर्वाचित हुनु भएका मेचीनगरका प्रमुख र उपप्रमुखले काँग्रेसबाट निर्वाचित भएका सांसद सहभागि भएको कार्यक्रममा उपस्थीत नहुने रणनिति नै बनाएको हो त ? यदि यो संयोग नभएर नियत हो भने यसले समग्र नगरको विकासमा नकरात्मक असर पर्न सक्ने मेचीनगरका एक जनप्रतिनिधिको भनाई छ ।