झापा, माघ ३ । सत्ता साझेदार दलहरु बिच हिजो साँझ मन्त्रालय बाँडफाडको सहमति पछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् गर्दै हुनुहुन्छ । नवनियुक्त मन्त्रीहरुले आजै दिउँसो १ बजे सपथ लिने कार्यक्रम तय भएको बताइएको छ । नेकपा एमालेका ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ र राष्ट्रिय स्वतन्त्र पार्टीका २ जना आज मन्त्री बन्न लागेका हुन ।
एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरीले स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिंदै हुनुहुन्छ भने बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी रहेको एमालेस्रोतले बताएको छ । माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किरातीलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने हुनु भएको छ ।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने हुनु भएको छ भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्दै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाललाई पठाउने भएको छ । रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ । काठमाण्डौ ६ बाट निर्वाचित हुनु भएका खनाल टिच फर नेपालका संस्थापक हुनुहुन्छ । वहाँले लामो समय शिक्षा क्षेत्रमा काम गर्नु भएको छ ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रास्वपाका डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ । अर्याल रास्वपाका उपसभापति पनि हुनुहुन्छ । धादिङका अर्याल रास्वपाबाट समानुपातिक तर्फबाट सांसद हुनु भएको हो ।
पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले समेत सपथ लिनु भएको थियो । उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री हुनुहुन्छ ।