प्रिय गगन, जयनेपाल ।
तिमीलाई कहिल्यै तपाईं भन्ने मन लाग्दैन। माफ गर, पंक्तिकार उमेरले जेठो भएर यसो भनेकै होइन। खुद सत्य हो, मभन्दा उमेरमा तिमी कान्छो नै हौ। जन्मदा तिमी भन्दा म केही पहिला नै जन्मेको हुँ। यहाँ एजको होइन, एजेन्डाको कुरा हो । तिमीसँग एज पनि छ, एजेन्डा पनि त्यो पंक्तिकारसँग छैन। त्यसैले पंक्तिकार तिम्रो हिम्मत, साहस र दृढताप्रति जीवनभर सम्मान गरिरहने छ। तिमीले पंक्तिकारलाई केही दिन्छौ अनि त्यो लिएर र पाएर आलिसान जीवन बिताउँला भन्ने कुनै कोणबाट सोचेको छैन ।सँगै त्यो मनसाय पनि किमार्थ होइन। पंक्तिकारमा त्यो लालसा किन्चित जाग्ने पनि छैन। पंक्तिकारले केहीदिन अघि पहिलोपटक तिम्रो बुबाको अन्तरवार्ता गम्भीर भएर हेरेको थियो ।
तिमी र पंक्तिकारमा एउटा कुरा मेल रहेछ, तिमी पनि माइलो पंक्तिकार पनि माइलो। परम्परागत एउटा कटु टिप्पणी छ, माइलाहरु अलिक कडै हुन्छन् । जो हामीले मूर्दा झैँ बनाएर हटाएको राजतन्त्रसँग जोडेर स्वार्थीहरुले गरेको कथली हो। यसमा धेर पर्गेल्नु पर्दैन । पंक्तिकार तिमीलाई हरेक दिनजसो सुनेको र हेरेको मान्छे हो, तिमीसँग धेरै पटक आम्नेसाम्ने नभए पनि। तिमीले पंक्तिकारलाई चिन्दैनौँ, त्यो खास जरुरी पनि छैन। तर पंक्तिकार तिमीलाई चिन्दछ। तिमी र पंक्तिकार एउटै विचारमा अडिग भएर मात्रै होइन, तिम्रो अदम्य साहस देखेर आह्रीस लाग्छ। कोही तिमी जस्तो किन हुन सकेन ? कसैले आफैंलाई प्रश्न गर्यो भने सहज जवाफ पाउँछ, गगनको गुण अरुमा छैन। भएपनि कमैछ। यो सत्य हो, दुइटा गगन हुँनै सक्दैन । तिमी जे छौँ, बेजोड छौ, हरेकको ऎनामा । सफेद तिम्रो अनुहार जस्तो छ ऎनामा त्यस्तै देखिन्छ । यो आवारण हो। पंक्तिकारले गजब्ब तारिफ गर्यो भनेर मख्ख नपर्नु ।
पंक्तिकारले तिम्रो तारिफ किन्चित गरेको होइन, दुनियाँले जे देखेको छ, त्यही भनेको हो। तिम्रो यो साहस र जुझारु स्वभावलाई हल्लिन नदिन र लिकमा हिडाउन संसदमा पनि झापा १ का मतदाताले एउटा शालीन र भद्र मानिस तिम्रो साथमा पठाइ दिएका छन् । यत्तिनै काफी छ, नाम नै चाहिन्न। ठ्याक्कै अहिलेको हकमा भन्दा असान्दर्भिक बनाइएको काँग्रेसलाई पुस्तौंसम्म सान्दर्भिक बनाउन। जो अभिभारा तिम्रो र उनको काँधमा आएको छ। झापालीले तिम्रो अग्रज महामन्त्री पठाइ दिएको छ। तिम्रो बेगलाई उसले हरेक ठाउँमा नियन्त्रण गर्छ त्यो उसको दायित्व हो। यति चाहिँ बुझ तिम्रो बेगमा उसले कहिल्यै ब्रेक लगाउँदैन। सम्यम बनेर तिम्रो अदम्य साहसमा गति भरिरहन्छ। जबसम्म तिमीले उसको आवश्यकता महसुस गर्नेछौ। दिवङ्गत नेता प्रदीप गिरीले कुनै दिन भन्नूभएको थियो, तिमीहरू ( गगन - विश्व ) मिलेर बिग्रीएको काङ्ग्रेस सुधार्नु भनेर । गिरीले भनेको त्यो बेला आएको छ, अगुवाइ गर्न थोरैमात्र ढिलो भयो र गर्यौँ भने अवसर फुत्किने छ। काङ्ग्रेसमा निरासाको कालो बादल मडारिएको यो क्षणमा एउटा सही मार्ग पहिल्याउन अबेर गरिनु हुन्न। त्यो हिम्मत तिमीहरुले राख्नु नै छ। महामन्त्रीका दुबै उम्मेदवारहरु साथमा हुनुहुन्छ । हातमा आएको सत्ता फुत्किएपछि हरेक काङ्ग्रेसीमा बैचनी छ। सत्ता नहुँमा काङ्ग्रेस बहकिँदैन। यो इतिहासले दर्ज गरेको सत्य हो। जननिर्वाचित प्रधानमन्त्रीलाई नजरबन्द गरेर व्यवस्था नै "कु" गर्दा पनि काङ्ग्रेस काङ्ग्रेस नै रह्यो । एकएक गरेर सबै नेता जेलमा कोचिए तर काङ्ग्रेस हडबडाएन।
प्रजातन्त्र प्राप्तिका खातिर निरन्तर क्रियाशील बनिरह्यो। जसको प्रतिफल देशमा प्रजातन्त्र आयो। धेरै पटक काङ्ग्रेस सरकारमा पुग्यो। काङ्ग्रेसको बेमेलकै कारण सत्ताबाट धेरैपटक बैरगमनमा पर्यो । तथापि, काङ्ग्रेसले गणतन्त्र ल्यायो। शाहीकालमा सडकमा गणतन्त्रको पहिलो आगो ओकल्ने तिमी नै हौ। एकपटक त्यही हिम्मतलाई स्मरण गर । अनि काङ्ग्रेसलाई सही लिकमा ल्याउन तत्काल विकल्प खोज। अब रुपान्तरित काङ्ग्रेस बाहेक यथास्थितिको कल्पना नै गर्न सकिन्न । कुनै अलमल छैन, अब तिमीहरुले गर्ने यही हो। अभागीलाई खाने बेलामा रिस उठ्छ भनेर बस्ने छुट तिमी र तिम्रो पुस्तालाई छैन । काङ्ग्रेस बनाउने हो भने आलोचना, आत्मालोचना गर्न काम्नु हुँदैन । शालीन र सम्यमताका साथ निर्मम समीक्षा गरेर अघि बढ्नै पर्छ। लडखडाउने छुट युगले दिनै सक्दैन र दिने छैन।
ऎतिहासिक पार्टीलाई युगीन बनाउने हो भने अब समय सम्मुखमा छ । त्यो सुअवसर गुम्न दिनु अर्को ऎतिहासिक भूल हुनेछ । पार्टीमा पुस्तान्तरणको मुद्दा तिमीले उठाएको हो। १३ औँ महाधिवेशनमा महामन्त्रीमा तिम्रो उम्मेदवारी नेतृत्वका लागि गरिएको जबर्जस्त हस्तक्षेप नै हो। तिम्रो हिम्मतकै कारण १४ औँ महाधिवेशनमा दुई महामन्त्री र धेरै युवाको केन्द्रीय समितिमा प्रतिनिधित्व सम्भव भएको हो। अहिले काङ्ग्रेस अप्रत्याशित र अनपेक्षित परिणामको सामना गरिरहेको छ। तर, काङ्ग्रेस नेतृत्व सुध्रने मुडमा छैन। आफ्नै जिद्दीका कारण सत्ता गुमेको होस विश्राम लिनु पर्ने अवस्थामा पुगेको नेतृत्वमा घुसेको देखिएन। निर्लज्ज सरकारलाई विश्वासको मत विषयमा बहस भइरहेको छ। यो जसरी पनि रोक, नत्र काङ्ग्रेसलाई बचाउन निक्कै कठिन हुनेछ। मंगलबार (आज ) प्रचण्ड नेतृत्वको बहुरङ्गी सरकारले विश्वासको मत लिँदैछ। काङ्ग्रेस नेतृत्वले सोमबार साँझ नै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वचन दिइ सकेको छ। यो काङ्ग्रेसको रङ मेट्ने कर्म हो। यसलाई रोक्न सकेनौ भने "गगनहरु" काङ्ग्रेस कसैको कोटरीमा सीमित बन्ने पक्का छ।