इटाभट्टा, पुस २५ । झापाको मेचीनगर नगरपालिका कार्यालय आज (सोमबार) विहानै देखि सबैको चासोको केन्द्रमा थियो । बिहान १० बज्न नपाउँदै नगरपालिका कार्यालय प्रवेशको मुलद्वारमा नेपाल प्रहरी र नगरप्रहरी तैनाथ गरिएको थियो । नगरपालिकाका अधिकाशं कर्मचारीहरु पनि कार्यालय समयभन्दा अघि नै पुगेर कार्यालय प्राङ्गणमा देखिन्थे । झट्ट हेर्दा लाग्थ्यो कि आज नगरपालिका कार्यालयमा केही बिषेश व्यक्तित्वको आगमन हुँदैछ ।
तर वास्तविकता अलि फरक थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई काज सकिएर नियमित काममा नगरपालिका फर्किदैं हुनुहुन्थ्यो । यो सुरक्षा व्यवस्था वहाँकै आगमनलाई ध्यान दिएर गरिएको थियो । स्वभाविक प्रश्न उब्जीन सक्छ कि कार्यालयका प्रमुखको नियमित कार्यालय आगमनमा यस्तो तयारी किन गर्नु पर्यो भन्ने लाग्न सक्छ । तर प्रमुख प्रशासकीय अधिकृत चम्लागाई काजमा काठमाण्डौ जानु भएको बेला पुस १८ गते नगर कार्यापालिकाले चम्लागाईको बजेट खर्च गर्ने अधिकार स्थगन गर्ने निर्णय गरेको थियो र वहाँलाई फिर्ता पठाउने निर्णय समेत गरेको थियो । त्यस निर्णयको रक्षा गर्न मेचीनगरका जनप्रतिनिधि चम्लागाईलाई कार्यालय प्रवेशमा रोक लगाउने योजनामा थिए । यसै क्रममा कुनै अप्रिय घट्ना नहोस भन्नका लागि स्थानीय प्रशासनका तर्फबाट सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
माथि भनिएको देखिएको दृश्य हो । तर नदेखिएको दृश्य पनि छ । प्रमुख प्रशासकीय अधिकृृत चम्लागाई कार्यालय आउन तयार भएर धुलाबारीस्थीत निवासमा हुनुहुन्थ्यो । वहाँले कार्यालय आउन नियमित झैं कार्यालयको गाडी चालकलाई फोनमार्फत भन्नुभयो । चालकले नगरप्रमुखले गाडी लिएर नजानु भन्ने आदेश भएको सुनाए पछि मात्रै चम्लागाईलाई थाहा भयो कि आज गाडी लिन आउने छैन । त्यस पछि वहाँ केही समय निवसमा नै बस्नु भयो । त्यत्तिकैमा नेकपा एमालेका नेता रविन कोइरालाले चम्लागाईलाई फोन गर्नु भयो र काकरभिट्टास्थीत अर्का एमाले नेता श्रीप्रसाद मैनालीको घरमा आउन आग्रह गर्नु भयो । पहिला बसेर सल्लाहा गरौं अनि नगरपालिका जानु होला भन्ने सन्देश कोईरालाले चम्लागाईलाई सुनाउनु भयो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी हिजै काठमाण्डौ जानु भएको थियो । नगरप्रमुख बाहिर भएका कारण नगरपालिकाको कमाण्ड उपप्रमुख मिना उप्रेतीसंग थियो । उपप्रमुख उप्रेतीले पनि चम्लागाईलाई विहानै फोनमार्फत कार्यालयमा नआउन भनिसक्नु भएको थियो । यस्तो अवस्थामा एमाले नेता कोइरालाले भेट्न गरेको प्रस्ताव स्वीकारेर चम्लागाईले काकरभिट्टा जाने निधो गर्नु भयो तर वहाँले कोईरालालाई आफुसंग साधन नभएको बताउनु भयो । कोइरालाले अर्को गाडी पठाउँछु भन्दा चम्लागाईले नगरको प्रमुख प्रशासकीय अधिकृत भएकाले नगरपालिकाकै गाडीमा मात्रै आउने जवाफ दिनु यभो ।
यता नगरपालिकाको गाडी नगरप्रमुखले रोक्नु भएकै थियो । त्यसैले चम्लागाई काकरभिट्टा पुग्ने अवस्था रहेन । यसैबिच मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना चम्लागाईको निवासमा आफ्नो निजि कार लिएर पुग्नु भयो र कारभिट्टा जानका लागि लिन आएको भन्नु भयो तर आफु नगरपालिकाकै गाडीमा मात्रै जाने अडान चम्लागाईले छोड्नु भएन । केही समयको भलाकुसारी गर्दागर्दै काकरभिट्टा जाने समय घर्कियो र नगरपालिका कार्यालय नै जाने निधो भयो । नगरपालिकाको गाडी लिन नआउने निश्चित नै थियो त्यसैले केही निकटस्थहरुको सुझावका आधारमा तिम्सिनाकै निजि गाडीमा चम्लागाई नगरपालिका पुग्नु भयो ।
करीब ११ बजेको समयमा नगरपालिका पुग्नु भएका प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई कार्यकक्षसम्म पुग्न कुनै अवरोध भएन । त्यसबेला केही सञ्चारकर्मीहरु नगरपालिका परिषरमै रहेको र सुरक्षाकर्मी पनि तैनाथी भएकाले चम्लागाईलाई कार्यालय प्रवेश मै रोक लगाउने अवस्था थिएन । नगरको कर्मचारी प्रमुख आफ्नो कार्यकक्षमा पुग्दा बाहिर राखिएको वहाँको नेमप्लेट निकालिएको थियो । वहाँको टेवलमा भएको नेमप्लेट भने थियो । वहाँ केही बेर कार्यकक्षमा बस्नु भयो । संगैपुगेका सञ्चारकर्मीहरुसंग वहाँले कुराकानी गरीसके पछि कार्यालय सहयोगीलाई हाजिरखाता ल्याउन भन्नुभयो । तर कसैले हाजिरखाता ल्याएन । सामान्यतया कार्यालय प्रमुखकै टेवलमा हुनु पर्ने कर्मचारीको दैनिक हाजिर खाता आज चम्लागाईको कार्यकक्षमा थिएन । एकैछिन पछि उपप्रमुखको सहयोगी आएर चम्लागाईलाई उपप्रमुखले आफ्नो कार्यकक्षमा बोलाउनु भएको सुनाउनु भयो । त्यस पछि प्रमुख प्रशासकीय अधिकृत चम्लागाई उपप्रमुख उप्रेतीको कार्यकक्षामा प्रवेश गर्नु भयो । त्यसबेला केही वडा अध्यक्ष र कार्यापालिका सदस्य उपप्रमुखको कार्यकक्षमा अघि देखि नै उपस्थीत थिए । इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतो पनि उपप्रमुखको कार्यकक्षमा हुनुहुन्थ्यो । सञ्चारकर्मीहरु पनि चम्लागाईसंगसंगै उपप्रमुखको कार्यकक्षमा प्रवेश गरे ।
उपप्रमुख उप्रेती र प्रमुख प्रशासकीय अधिकृत चम्लागाई बिच केही बेर हाजिर नगर्नु र हाजिर गर्न दिनु भन्नेमा नै केन्द्रीत रहेर कुराकानी भए । उपप्रमुखसंगको कुराकानीमा चम्लागाईले मेरो अन्यत्र सरुवा नभएको र काज पनि सकिएकाले आज कार्यालय आएकाले हाजिर गर्न दिन पटक पटक अनुरोध गर्नु भयो तर उपप्रमुखले कार्यापालिकाको निर्णयले तपाईलाई फिर्ता पठाउने भनेकाले हाजिर नगर्न भन्नुभयो । त्यसबीचमा नगरका जनप्रतिनिधिहरुको ठुलो संख्या एकाएक उपप्रमुख कार्यकक्षमा ठेलमठेल गर्दै प्रवेश गर्यो । उपप्रमुखले बोल्दै गर्दा नै अलि अस्वभाविक रुपमा केही वडा अध्यक्ष र सदस्यहरु बिच बिचमा बोलिरहे थिए । लाग्थ्यो कि उनीहरु प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध निक्कै आक्रोसित छन । छलफलको अन्त्यतिर उपप्रमुखको मुद्रा पनि अलि फरक देखिएको थियो । उपप्रमुखले अपरान्ह बसेर छलफल गरौं अहिलेलाई तपाई कार्यालयबाट गइदिनु भनेर चम्लागाईलाई अनुरोध गर्नु भयो । उपप्रमुखको टेवलकै छेउमा बस्नु भएका डिएसपी महतोले पनि यो सबै दृश्य निक्कै संवेदनशील रुपमा हेरिरहेको भान हुन्थ्यो । सायद अवस्था असामान्य तर्फ मोडिन सक्छ भन्ने लागेरै होला चम्लागाईले हुन्छ अहिले जान्छु तर आज म आएको कुरा हाजिर प्रमाणित गरिदिनु है उपप्रमुख ज्यू भनेर उपप्रमुखको कार्यकक्षबाट बाहिरीनु भयो ।
त्यस पछि चम्लागाई नगरका केही कर्मचारीहरु सहित नगरपालिकाको प्राङ्गणमा रहनु भयो । नियमित खातामा हाजिर गर्न नपाए पछि चम्लागाईले करीब १ बजेको समयमा आफु नगरपालिकामा हाजिर भएको टिप्पणी मार्फत हाजिरी जनाउनु भयो ।