झापा, पुस २३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सरकार गठनको अभ्यास नगरेको बताउनु भएको छ । ‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै हो । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन,’ झापा १ का प्रतिनिधिसभा सदस्य शर्माले भन्नुभयो, ‘भर्खर बनेको समीकरणलाई भत्काउन लागेको कुरामा कुनै सत्यता छैन ।’
हिजो सभापति शेरबहादुर देउवासँग छलफलपछि महामन्त्री शर्माले पार्टीको केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकको तयारीका विषयमा छलफल भइरहेको बताउनु भयो ।
‘हामी हिजो सत्तामा थियौँ, त्यो बेलासम्म सभापतिजीसँग संवादमै थियौँ, अन्तिम चरणका छलफलमा मात्रै हाम्रो संलग्नता भएन, गराइएन,’ शर्माले भन्नुभयो, ‘पाइलटले कोपाइलटलाई सहभागी नगराई जहाजको कुशल अवतरण गराए त्यसको जस पाउने हो, होइन दुर्घटना भयो भने त्यसको दोष पनि कोपाइलटमाथि भिराउन मिल्दैन ।’
शर्माले पार्टीका सभापति र महामन्त्रीहरूबीचको भेटलाई सामान्य रुपमा लिन समेत आग्रह गर्नु भयो । सभापति देउवाले पार्टीका बैठकका विषयमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र शर्मासँग छलफल गर्नु भएको हो । कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ भने २८ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।