मेचीनगर, असोज ९ ।
कोरोना भाइरसका कारण बिद्यालयको पठन पाठन सुचारु नभएका कारण घरबाटै अध्ययन गर्नका लागि अनलाईन कक्षा सञ्चालनलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।
नेपाल टेलिकमले सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मुल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको जनाएको छ ।
असोज १ गतेदेखि लागु भएको विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु २६० मा ६ जिबी र रु ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । रु २६० मा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रत्येक दिन जम्मा १२ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।
यसैगरी रु ५०० मा उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रत्येक दिन जम्मा १२ घण्टा मात्र प्रयोग गर्न सकिने छ र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।
इशिक्षा प्याकेज अन्तर्गतका ६ जीवी र १५ जिबी प्याकेज एक पटकमा २८ दिनका लागि हुने नेपाल टेलिकमले जनाएको छ ।
उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई टेलिकमले उपलब्ध गराउने छ । टेलिकमले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ ।
सिफारिश प्राप्त भएका नम्बरहरुलाई एस्ट्रिक १४४१ ह्यास डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट एस्ट्रिक १४४१ ह्यास डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ । यो डाटा चलाउँदा आफ्नो मोबाइलमा भएको ब्यालेन्सबाट नै पैसा काट्न सकिने ब्यवस्था समेत नेपाल टेलिकमले गरेको छ ।
त्यस बाहेक बिद्यालयको परिचय पत्रको स्क्यान गरेर बिद्यार्थी आफैंले पनि नेपाल टेलिमकबाट सिधै इशिक्षा प्याकेज लिन सकिने छ । यी प्याकेजहरु लिनका लागि नेपाल टेलिकमकै मोबाइल नम्बर हुनु पर्नेछ ।
त्यस्तै अनलाई कक्षाकै लागि ह्याप्पी लर्निङ प्याकेज पनि ल्याएको छ । जस अन्तर्गत २४ जिबीको जुनसुकै बेला चलाउन सकिने डाटाका लागि ३१५ रुपैया र ३५ जिबीका लागि ५०० रुपैया तिर्नु पर्छ । २४ मध्ये २० जिबी अनलाईन कक्षाका लागि प्रयोग हुने एप मात्रै प्रयोग गर्न सकिन्छ भने ४ जीबी जुनसुकै एप चलाउन सकिने छ । त्यस्तै ३५ जिबी मध्ये ३० जिबी अनलाईन कक्षाका एपका लागि मात्रै र ५ जिबी जुनसुकै एप चलाउन मिल्ने गरी ब्यवस्थापन गरिएको टेलिकमले जनाएको छ ।
यो पनि हेर्नुहोस ।