इटभट्टा, पुस २३ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाभित्र कर्मचारीतन्त्र हावी भएको बताउँदै निर्वाचित भएको ७ महिना वितिसक्दा पनि जनताको काम गर्न नसकेको स्वीकार गर्नु भएको छ ।
हिजो काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभाको उदघाटन गर्दै नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘जनप्रतिनिधिलाई कर्मचारीले टेर्दैनन, केही जब्बर कर्मचारीका कारण जनप्रतिनिधि आलोचित बन्नु परेको छ ।’ ‘पटक पटक कर्मचारीलाई सम्झाइसकेँ,’ वहाँले भन्नुभयो, अव मेरो धर्यताको बाँध टुट्यो ।’ आक्रोशित मुद्रामा देखिनु भएका प्रमुख बुढाथोकीले कर्मचारी नसुध्रिए कारवाही गर्ने चेतावनी दिनु भयो ।
आम मेचीनगरवासीलाई स्वच्छ र शुद्व खानेपानी पुर्याउने अभियानमा मेचीनगरपालिका खानेपानी उपभोक्ता समितिसँग हातेमालो गर्दै अघि बढिरहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख बुढाथोकीले बताउनु भयो ।
कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इञ्जिनियर सुजित महतोले मेचीनगरका जनतालाई शुद्व खानेपानी पुर्याउन अभियानमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नु भयो ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष पराजुलीले खानेपानी क्षेत्रमा गरिएका महत्वपूर्ण कामको प्रगति विवरण सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०५० सालमा काँकरभिट्टा बजार क्षेत्रमा ७०० घर धुरीलाई पानी वितरण गर्न २ लाख २५ हजार घन लिटरको टेंकीसहित सुरु भएको खानेपानी आयोजनालाई विस्तार गर्दै ७ हजार घर धुरीमा पुर्याएको र आगामी दिनमा त्यसलाई थप विस्तार गरिने अध्यक्ष पराजुलीले बताउनु भयो ।
कार्यक्रमको अवसरमा खानेपानीले अवकास प्राप्त कर्मचारी नरबहादुर खड्का, वर्ष उत्कृष्ट ग्राहक टिकाराम कट्टेल, टिका थापा र सानुमाया चम्लागाईँलाई सम्मान गरेको छ । खानेपानीले नियमित शुल्क बुझाउने ३७ सय ५३ ग्राहक मध्येबाट गोलाप्रथा गरी तीन जना ग्राहकलाई सम्मान गरेको हो ।
वर्ष उत्कृट कर्मचारी सम्मान यामप्रसाद पोखरेलले प्राप्त गरेका छन । समितिले उनलाई नगद ७ हजार र सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहाकार संयोजक हर्कबहादुर लिम्बू, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भीम कुवँर, मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमला लगायतको आतिथ्यता रहेको थियो । उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिप सुब्बाले गर्नु भएको थियो ।