इटाभट्टा, पुस २१ । झापाको मेचीनगर नगरपालिकाका उद्योगी व्यवशायीहरु यतिबेला चुनावी माहोलमा छन । नगरका व्यवशायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनबाट नयाँ नेतृत्व चयनका लागि मिति समेत तोकिसकिएका कारण नगरका उद्योगी व्यवशायीहरु संघको नेतृत्वका बारेमा छलफलमा जुटेका छन ।
आगामी माघ ६ गते बार्षिक साधारण सभा र माघ २१ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भए पछि व्यवशायीहरु बिच चुनावी छलफल सुरु भएको हो । बिषेश गरी विगत झैं यो पटक पनि व्यवशायीहरुको चुनावमा पनि राजनितिक दल नै हाबी हुने देखिएको छ । निर्वाचनको उम्मेद्वारी नै राजनितिक दलहरुको तर्फबाट तय गरिने भएकाले दलका नेताहरुसंग उद्योग वाणिज्य संघमा उम्मेद्वार हुन चाहनेहरुले पहुँच बिस्तार गरिरहेका छन ।
यो पटक नेपाली काँग्रेसका तर्फबाट संघको नेतृत्व दाबी गर्ने मुख्य तीन जना देखिएका छन भने नेकपा एमालबाट एक जनाले मात्रै नेतृत्व दाबी गरेको देखिन्छ । काँग्रेसबाट संघका बर्तमान बरिष्ठ उपाध्यक्ष मोहन निरौला, महासचिव ध्रुव कनाल र उपाध्यक्ष किसोर क्षेत्री (कपिल) ले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन भने एमालेका तर्फबाट खेम प्रसाईको एक्लो दाबी देखिन्छ । तर एमालेकै एउटा पक्षले वर्तमान अध्यक्ष ऋषिराज तिम्सिनालाई नै दोहोर्याएर उम्मेद्वार बनाउनु पर्ने धारणा राखेको बुझिएको छ ।
पदीय जिम्मेवारीका हिसाबले पनि आफुले अध्यक्ष पाउनु पर्ने वर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका निरौलाको दाबी छ । ‘यस अघि नै अर्को पटक अध्यक्षमा तपाई हो भनेर बरिष्ठ उपाध्यक्षमा उम्मेद्वार बनाएको हो,’ निरौलाले भन्नुभयो, ‘पार्टीले यो पटक मलाई नै अध्यक्षको उम्मेद्वार बनाउने पुरानै सहमति छ ।’ हक्की स्वभावका निरौला यस अघि दुई कार्यकाल संघको कार्यसमिति सदस्यमा रहेर समेत काम गरिसक्नु भएको थियो ।
अध्यक्षका अर्का दाबेबार वर्तमान उपाध्यक्ष कपिल क्षेत्री आफु संघ स्थापनादेखि नै कार्यसमितिमा रहेर काम गरेका कारण पनि यो पटक अध्यक्ष आफुले पाउनु पर्ने दाबी गर्नुहुन्छ । ‘संघको स्थापना हुँदा नै म सचिव भएर काम गरेको छु,’ क्षेत्रीले भन्नुभयो, ‘मसंग दुई कार्यकाल सचिव र दुई कार्यकाल उपाध्यक्ष गरी संघको चार कार्यकाल समितिमा बसेर काम गरेको अनुभव छ, त्यसैले यो पटक नेतृत्व गर्ने हो ।’ व्यवशायीको संस्थामा दलिय राजनिति भन्दा पनि व्यवशायीक बिषयले महत्व पाउनु पर्ने आफ्नो जोड रहेको क्षेत्रीको भनाई छ । ‘विगत ६ बर्षदेखि वाणिज्य संघ निदाएको अवस्थामा छ,’ क्षेत्रीले भन्नुभयो, ‘व्यवशायीहरुलाई सहज व्यापार गर्ने कुरामा सहजीकरण गर्न नसकेका कारण समस्या बढेको छ, अब मेरो नेतृत्वमा व्यापार गर्ने वातावरण बनाउने अभियानमा छु ।’
अध्यक्षकै दाबी गरिरहनु भएका संघका वर्तमान महासचिव ध्रुव कनाल वर्तमानमा सबैभन्दा बढी समय संघका गतिविधिलाई दिएका कारण पनि आफुले नेतृत्व दाबी गरेको बताउनु हुन्छ । ‘म सबैलाई संगै लिएर व्यवशायीको समस्याको समाधान गर्न सक्छु,’ कनालले भन्नुभयो, ‘संघको गतिविधिलाई व्यवशायीको हितमा मात्रै केन्द्रीत गर्ने योजना लिएर नेतृत्वको दाबी गरेको छु ।’
वाणिज्य संघको अध्यक्षका अर्का दाबेदार खेम प्रसाई अहिलेसम्म संघले व्यवशायीहरुबाट पैसा लिने मात्रै गरेको र समस्या परेको बेला खर्च नगर्ने बताउनु हुन्छ । ‘व्यवशायीहरुबाट उठाएको पैसा उनीहरुकै लागि खर्च गर्ने बनाउँछु,’ प्रसाईले भन्नुभयो, ‘व्यवशायीहरु बिचको आपसी समस्याका बारेमा छलफल गर्दा पनि दस्तुर लाग्ने नियम संघले बनाएको रैछ म त्यो खारेज गरेर निशुल्क व्यवशायीहरुलाई सेवा दिन्छु ।’ बजार क्षेत्रमा सिसि क्यामेरा जडान र नियमित मर्मतसम्भार गर्ने, व्यवशायीहरुको बिमा गरिदिने लगायतका काम आफ्नो नेतृत्वमा गर्ने योजना बनाएको प्रसाईले बताउनु भयो ।