इटाभट्टा, पुस १८ । झापाको मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्ने स्थानीय तहका रुपमा बदनाम भइसकेको छ । कार्यालय प्रमुख सबैभन्दा धेरै परिवर्तन भइरहने स्थनीय तह मध्ये मेचीनगर सबैभन्दा अग्रस्थानमा रहेको छ ।
पछिल्लो पटक पनि नयाँ कार्यालय प्रमुखका रुपमा राजकपुर चम्लागाई मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनु भएको छ । तर आएको केही महिना पनि नहुँदै नगरपालिकाका जनप्रतिनिधिहरुले नै चम्लागाईलाई सरुवा लिएर जानुहोस भन्न थालिसकेका छन । गत पुस १ गते बसेको कार्यापालिका बैठकमै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले तपाइले सरुवा लिएर जानुहोस भनेर प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई भन्नुभयो ।
आखिर किन जनप्रतिनिधिले नै कार्यालय प्रमुखको सरुवा माग गर्नु पर्यो त्यो बिषय बाहिर आए पछि आम नगरबासीको गम्भिर चासो बढेको छ । कार्यालय प्रमुखले कुनै गलत काम गरेका कारण जनप्रतिनिधिहरुले वहाँको सरुवा मागेको होइन । कार्यालय प्रमुखले आफ्नो अधिकारलाई नियमसंगत रुपमा कार्यान्वयन गर्न खोज्दा वहाँको सरुवा माग गरिएको हो । खास गरी मेचीनगरको आन्तरिक कार्यालय व्यवस्थापनमा प्रमुख प्रशासकीय अधिकृतले खुलेर आफ्नो अधिकार प्रयोग गर्न नदिने गरी विगतदेखि नै अनौठो लाग्ने संरचना तयार गरिएको छ । जुन कार्यालय प्रमुखले कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरेर कार्यालयलाई नियमसंगत रुपमा सञ्चालन गर्न खोज्छन त्यस्ता कार्यालय प्रमुख मेचीनगरबाट लखेटिन्छन । यो मेचीनगरको नियती जस्तै बनेको छ ।
यो प्रकरणमा नगरका केही कर्मचारीहरुले जनप्रतिनिधिहरुलाई गलत ढंगबाट व्याख्या गर्ने गरेको नगरका कर्मचारीहरु नै बताउँछन । जनप्रतिनिधिहरुलाई नियमभन्दा बाहिर गएर काम गर्न उक्साउनेहरुले नै कार्यालय प्रमुख बिरुद्ध मोर्चाबन्दी गर्ने गरेको र त्यसकै भरमा जनप्रतिनिधिहरु कार्यालय प्रमुखको सरुवा गराउन लाग्ने गरेको नगरपालिकास्रोतले बताउँछ ।
‘कुनै कुनै त गलत नै होलान र छिटो सरुवा गराउनु पर्ला,’ एक कर्मचारीले भन्नुभयो, ‘तर सबैजसोको छिटो छिटो सरुवा हुनु पर्ने कारण कार्यालय प्रमुख नै गलत भएर हो त ?’ नगरलाई पारदर्शी र जनभावना अनुरुप कार्यालय प्रशासन चलाउन खोज्ने कार्यालय प्रमुखहरुको छिटो सरुवा हुने गरेको बिगतले पनि देखाउने ति कर्मचारीको भनाई छ । ती कर्मचारीका अनुसार आफ्नो अधिकारको प्रयोग नगरी मनपरी कार्यालय सञ्चालन गर्न दिने कार्यालय प्रमुख टिक्ने तर कार्यालयलाई चुस्तदुरुस्त चलाउने, खर्चका बारेमा अलि कडाइ गर्ने हाकीम नटिक्ने गरेका छन । यो भनाईलाई यस भन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले सरुवा हुने बेलामा भनेको कुराले पनि पुष्टी गर्छ । दाहालले एक सञ्चारकर्मीसंग भन्नुभयोको थियो, ‘कार्यालय प्रमुखले समेत थाहा नपाउने गरी नगरपालिकाभन्दा बाहिर गएर बजेट बनाउने नगरपालिकामा कसरी काम गर्नु, त्यसैले म हिडेको हो ।’ मेचीनगर आएको पाँच महिनामा नै काम गर्ने वातावरण नभएको भन्दै दाहालले आफैं सरुवा लिएर जानु भएको थियो ।
दाहाल पछि लामो समय मेचीनगर प्रमुख प्रशासकीय अधिकृत बिहिन भयो । त्यस बेला धेरै काम कार्यालय प्रमुख नभएका कारण अड्किएको भनेर नगर प्रमुख बुढाथोकी र उपप्रमुख मिना उप्रेती लगायत सबैजसो वडा अध्यक्षहरुले सार्वजनिक रुपमै भन्ने गरेका थिए । सामान्यतया कुनै पनि कार्यालय लामो समय कार्यालय प्रमुख बिहिन हुन हुँदैन र कानूनी व्यवस्था पनि त्यस्तै छ । तर मेचीनगरमा जो कोही प्रमुख प्रशासकीय अधिकृत भएर आउन नै नचाहने भएका कारण पनि समस्या हुने गरेको स्वयम नगरप्रमुख बुढाथोकीले सञ्चारकर्मीसंग बताउनु भएको छ । नगरमा लामो समय प्रमुख प्रशासकीय अधिकृत नहुँदा सञ्चारकर्मीको एउटा प्रश्नको उत्तर दिंदै नगरप्रमुख बुढाथोकीले भन्नुभएको थियो, ‘मन्त्रालयका सचिवले नै मेचीनगर कोही जान मान्दैनन, तपाई जसलाई मनाउनु हुन्छ म उसैलाई पठाइदिन्छु भन्छन ।’ पछिल्लो पटक मेचीनगरका प्रमुख बुढाथोकीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई कानूनले दिएको अधिकारलाई लिएर नै सार्वजनिक रुपमा प्रश्न उठाउन थाल्नु भएको छ ।
यस अघि पनि मेचीनगरमा प्रमुख प्रशासकीय अकिधृतका रुपमा आउनु भएका सहदेव रायमाझी, दिनानाथ लम्साल लगायतको छोटो समयमा नै सरुवा भएको थियो । खेमराज ओझा करीब १५ महिना र महेन्द्र खाम्याहाङ दुई बर्ष मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्नु भएको थियो । खाम्याहाङले धेरै अधिकार आफुसंगै राखेर काम गर्नु भयो भने ओझाले प्रशासन शाखा प्रमुख लगायतका अधिकार अन्य अधिकृतलाई हस्तान्तरण गर्नु भएको थियो ।