इटाभट्टा, पुस १३ । झापाको मेचीनगर नगरपालिका भित्र कर्मचारीहरु बिचको झगडा बढ्दै गएको छ । निजामति कर्मचारी र स्थानीय सरकारले नियुक्ती गरेका कर्मचारी बिचको झगडाले नगरका दैनिक काम कारबाही नै प्रभावित हुन थालेको छ ।
खास गरी नगरका प्रमुख प्रशासकीय अधिकृत र सामाजिक बिकास अधिकृत बिचको झगडाले नगरको सेवा प्रवाहमा समेत नकरात्मक असर पर्न थालेको छ । प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई र सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्ती बिच नगर कार्यपालिका बैठकमा नै भनाभन भए पछि स्थीति तनाव पूर्ण बनेको थियो । पुस १ गते बसेको नगर कार्यपालिको बैठकमा नै चम्लागाई र वस्ती बिच कर्मचारी गर्ने काम कारबाहीका बारेमा भनाभन भएको नगरपालिकास्रोतले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत चम्लागाईले गरेका निर्णयका बारेमा सामाजिक विकास अधिकृत वस्तीले अवरोध गरेका कारण समस्या उत्पन्न भएको नगरपालिकाका एक कर्मचारीले सेतोपत्रलाई बताउनु भयो ।
बैठकमै भनाभन गरे पछि प्रमुख प्रशासकीय अधिकृत चम्लागाईले वस्तीको अधिकार कटौती गरिदिनु भएको छ । सामाजिक विकास अधिकृत वस्तीले सम्हाल्दै आएको प्रशासन शाखा प्रमुख, जिन्सी तथा खरिद शाखा प्रमुखको जिम्मेवारी प्रमुख प्रशासकिय अधिकृतले खोसिदिएको नगरपालिकास्रोतले बताएको छ । ‘प्रमुख प्रशासकीय अधिकृतले दिएको जिम्मेवारी फिर्ता लिएको हो,’ नगरका एक कर्मचारीले सेतोपत्रसंग भन्नुभयो, ‘कार्यालय प्रमुखले जसलाई दियो उसैले जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।’
नगरका मुख्य दुई कर्मचारी बिचको झगडामा जनप्रतिनिधि भने निरीह जस्तै देखिएका छन । नगर प्रमुख र उपप्रमुख सहित सम्पूर्ण जनप्रतिनिधिहरु लामो समयदेखिको कर्मचारीबिचको झगडा मिलाउन असफल देखिएका छन ।
प्रमुख प्रशासकीय अधिकृतले काममा ढिलासुस्ती गरेका कारण समस्य उत्पन्न भएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सेतोपत्रलाई बताउनु भयो । ‘गत आर्थिक बर्षकै थुप्रै फायल अगाडी बढेको छैन,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘ती काम छिटो अगाडी बढाउनु भन्दा वहाँले जवाफ दिनु भएको छैन ।’ ‘यही तरिका हो भने तपाईले बिकल्प दिनुहोस भनेर हामीले भनेका छौं,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो । सामाजिक विकास अधिकृत वस्तीको जिम्मेवारी कटौती गरेको बिषय आफुलाई थाहा नभएको नगरप्रमुख बुढाथोकीले बताउनु भयो ।
नगरपालिकाको कार्यलाई पारदर्शी र कानून बमोजिम सञ्चालन गर्न खोज्दा आफुलाई काम गर्न अवरोध भएको प्रमुख प्रशासकीय अधिकृत चम्लागाइले बताउनु भयो । ‘मैले मेरो अधिकार भित्र रहेर जनताको कामलाई केन्द्रमा राखेर काम गर्छु भन्दा केही कर्मचारीको कुरा सुनेर जनप्रतिनिधिहरुले मलाई सरुवा लिएर जानुहोस समेत भन्नु भयो,’ चम्लागाईले भन्नुभयो ।
मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत छिटो छिटो सरुवा हुने रोग जस्तै भएको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल पनि बजेटसम्म आफुलाई थाहा नदिई नगरपालिका भन्दा बाहिर गएर तयार पारेको भन्दै छोटो समयमा नै सरुवा लिएर जानु भएको थियो ।