इटाभट्टा, असोज ८ ।
झापाको मेचीनगर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म करिब एक करोड २० लाख रुपैया खर्च गरिसकेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नगरको प्रकोप ब्यवस्थापन कोषबाट गरिएको खर्च बिवरणका आधारमा २०७६ फागुन अन्तिम सातादेखि २०७७ असार मसान्तसम्ममा कोभिड १९ रोकथाम तथा नियन्त्रणमा एक करोड १९ लाख ८६ हजार २२० रुपैया खर्च गरेको छ ।
प्रकोप ब्यवस्थापन कोषबाट कोभिड बाहेक अन्यलाई समेत सहयोग गरिएको छ । त्यस्ता सहयोगका लागि नगरपालिकाले १३ लाख ५५ हजार ११७ रुपैया खर्च गरेको छ ।
नगरपालिकाले कोभिड १९ को रोकथामका लागि सबैभन्दा ठुलो खर्च क्वारेन्टाइन ब्यवस्थापनमा गरेको देखिन्छ । मेचीनगरले असार मसान्तसम्म क्वारेन्टाइन ब्यवस्थापनका लागि मात्रै २८ लाख ५१ हजार ७९७ रुपैया खर्च गरिसकेको नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कले पुष्टी गर्छ । यो रकम क्वारेन्टाइन ब्यवस्थापनकै लागि भनेर तोकिएर खर्च गरेको देखिन्छ ।
त्यस बाहेक कार्यपालिका सदस्य टिकाराम सार्कीलाई दिइएको पेश्की रकम र सार्कीले बिल भरपाइ बापत खर्च गरेको रकम दोस्रो ठुलो खर्चको रुपमा देखिएको छ । उक्त रकम करिब २० लाख रहेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको प्रकोप ब्यवस्थापन कोषको खर्च विवरणको ‘अति संवेदनशील विपद अवस्थामा खर्च हुने’ शिर्षकको १३ नम्बरमा ‘कोभिड १९ को व्यवस्थापनको लागि नगर प्रमुखज्यूको आदेशले कार्यपालिका सदस्य श्री टीकाराम सार्कीले लिएको पेश्की रु. १५ लाख र निजले पेश गरी प्रमुखज्यूबाट प्रमाणित विलका आधारमा पेश्की फर्च्योट र टीकाराम सार्कीलाई भुक्तानी समेत कूल रकम’ भन्ने सहायक शिर्षकमा १९ लाख ९८ हजार ५६ रुपैया खर्च भएको देखिन्छ ।
कोरोना महामारीका कारण भएको लकडाउनमा नगरबासीलाई राहतका रुपमा खाद्यान्न बितरणका लागि चामलमा मात्रै नगरपालिकाले १८ लाख खर्च गरेको छ । त्यस्तै दाल खरिदमा ५ लाख ८८ हजार खर्च भएको छ भने आलु खरिदका लागि दुई लाख ९२ हजार ५०० नगरपालिकाले खर्च गरेको छ ।
वडा नं. ११ स्थीत धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई आइसोलेट सेन्टर निर्माणका लागि पनि १३ लाख २१ हजार ७६९ रुपैया नगरपालिकाले खर्च गरेको छ । उक्त असार २४ गतेदेखि उक्त सेन्टरमा नगरका संक्रमितहरुलाई राखेर उपचार सेवा दिइदैं आएको छ । आइसोलेट सेन्टरको स्थापनाको खर्च मात्र यहाँ उल्लेख गरिएको छ । त्यसको दैनिकी खर्च यसमा समावेश गरिएको छैन ।
त्यसो त कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले विभिन्न समयमा प्रयोग गरेको गाडीको भाडा बापत मात्रै पनि १९ लाख भन्दा बढी रकम भुक्तानी गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख भए अनुसार कोभिडको प्रयोजनका लागि भनेर प्रयोग गरिएका गाडीभाडा बापतको १९ लाख ७२ हजार ४३९ रुपैया असार मसान्तसम्म भुक्तानी गरिसकेको छ । यस बाहेक पनि नगरले कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न समयमा अलग अलग शिर्षकमा रकम खर्च गरेको छ ।
नगरपालिकाले खर्च गरेको रकम मध्ये प्रदेश १ सरकारबाट १४ लाख ८४ हजार ९४३ रुपैया प्राप्त भएको उल्लेख गरिएको छ भने अन्य रकम नगरपालिकाको आफ्नै कोषबाट खर्च गरेको देखिन्छ ।
मेचीनगरमा हालसम्म १३४ जनामा कोरोना संक्रमण पुष्टी भएका मध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२४ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन ।




