बाहुनडाँगी, मंसिर २४ । झापामा अहिलेसम्मकै सबैभन्दा सुन्दर पर्यटकीय बृन्दावनलाई सर्वसाधारणका लागि खुला गरिएको छ । पुर्वोत्तर झापाको मेचीनगर ३ तेलपानीमा रहेको अत्यन्तै रमणीय पर्यटकीय स्थल बृन्दावन पर्यटकीय स्थललाई व्यवस्थीत गर्न स्थानीयहरु जुटेका छन ।
तेलपानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रहेको बृन्दावनमा बनभोज खान र घुम्न आउन स्थानीयहरुले सबैलाई आव्हान गरेका छन । ‘बृन्दावन प्राकृतिक रुपमा नै जिल्लाकै सबैभन्दा सुन्दर पर्यटकीय स्थल हो भन्ने हाम्रो दाबी छ,’ तेलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्सुराम पोखरेलले भन्नुभयो, ‘हामी यसलाई थप व्यवस्थीत बनाएर नेपालकै रमणीयस्थलहरु मध्येको एउटा गन्तव्य बनाउने अभियानमा लागेका छौं ।’
सामुदायिक वनकै अगुवाईमा स्थानीयबासीहरुको सक्रियतामा बृन्दावनलाई व्यवस्थीत बनाउन जुटेको स्थानीय युवा सचिन निरौलाले बताउनु भयो । ‘प्राकृतिक रुपमा अत्यन्तै रमणीय स्थान भएकाले पनि हामी यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने अभियानमा छौं,’ निरौलाले भन्नुभयो, ‘बृन्दावनबाट दक्षीण तर्फ सुन्दर तराईका फाँट तथा उत्तर तर्फ रमाइला पहाडको दृष्यावलोकन गर्न सकिने छ ।’ निरौलाका अनुसार बनभोज खानका लागि न्यूनतम सुविधा बृन्दावनमा उपलब्ध हुनेछ । खानेपानी, बिजुली र सुरक्षाको व्यवस्थापन गरिएको निरौलाले बताउनु भयो ।
प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र सुर्योदयको दृश्यावलोकन समेत गर्न सकिने भएकाले पनि यो क्षेत्रमा पर्यटकहरु लोभिने अर्का स्थानीय युवा कोषराज भट्टराईले बताउनु भयो । पर्यटकीय क्षेत्र बनाउन सक्रिय मध्येका एक भट्टराई बृन्दावनमा आएर आनन्द लिन सबैसंग आग्रह समेत गर्नु भएको छ ।
बृन्दावनको दुई सय मिटर दक्षीण तर्फ तपतपे पाथिभरा मन्दिर र दुई किलोमिटर उत्तर तर्फ अर्को पर्यटकीय क्षेत्र कुर्सीढुंगा समेत रहेकाले पनि यस क्षेत्रमा आउने जो कोहीले आनन्द महशुस गर्ने स्थानीय गायत्री पौडेलले बताउनु भयो । तपतपे पाथिभरा मन्दिर र बृन्दावन हुँदै कुर्सीढुंगासम्म पदयात्राका लागि समेत मार्ग निर्माण गर्ने काम शुरु भएको वन समूहका अध्यक्ष पोखरेलले बताउनु भयो ।
प्रकृतिको उपहारका रुपमा रहेको बृन्दावन क्षेत्रलाई प्राकृतिक रुपमा नै व्यवस्थीत गर्ने गरी स्थानीयस्तरमा छलफल सुरु गरिएको स्थानीय अगुवा सन्तोस दाहालले बताउनु भयो ।
पुर्वपश्चिम राजमार्गको धुलाबारी वा इटाभट्टाबाट करीब ८ किलोमिटर उत्तरको भृकुटी बजारबाट एक किलोमिटर पश्चिममा पर्ने बृन्दावनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न राज्यले विषेश चासो राख्नु पर्ने तेलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमिला राई तामाङले बताउनु भयो ।