आम चुनावको परिणाम सार्वजनिक भए लगत्तै युवा सांसदलाई देशको प्रधानमन्त्री बनाउनु पर्छ भन्ने चर्चा शुरु भएको छ । त्यसमा पनि नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन दलहरुको सरकार बन्ने सम्भावना बढेसंगै प्रधानमन्त्री काँग्रेस भित्रैबाट खोज्न शुरु भएको हो । काँग्रेसभित्र मुख्य रुपमा ६ जना प्रधानमन्त्रीका आकाँक्षी देखिएका छन । वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक प्रधानमन्त्रीका दाबेदार हुन भने बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला र महामन्त्री गगन थापा प्रधानमन्त्रीका आकाँक्षी हुन ।
अर्का महामन्त्री तथा झापा १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले चुनाव प्रचारकै बेला गगन थापालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने बताएका थिए । चुनाव जितेर पहिलो पटक काठमाण्डौ पुग्दा विमानस्थलबाट सोझै रातोपुलस्थीत थापाको घरमा गएर अबको प्रधानमन्त्री थापालाई बनाउने बताएर शर्माले चुनाव अघिको आफ्नो प्रस्तावलाई अघि बढाउने संकेत गरिसकेका छन ।
महामन्त्री शर्माले थापालाई प्रधानमन्त्री बनाउने अभियान नै सञ्चालन गर्छु भनेर सार्वजनिक अभिव्यक्ती दिएका कारणले दुई महामन्त्री एउटै कित्तामा उभिएर पुराना नेता बिरुद्ध मोर्चाबन्दी गर्ने सहजै बुझ्न सकिन्छ तर के शर्मा र थापा मिल्दैमा गगन प्रधानमन्त्री बन्लान त ? गगनका लागि प्रधानमन्त्री बन्ने बाटो सहजै छ त भन्ने हो भने पनि त्यस्तो पटक्कै देखिदैंन । खास गरी काँग्रेसको नेतृत्वमा सरकार बन्दा पार्टी सभापति देउवा नै पहिलो दाबेदार हुने निश्चित नै छ । देउवाले गगनलाई प्रधानमन्त्री बनाउन अहिलेकै अवस्थामा सहमति जनाउलान जस्तो देखिदैंन । हुन त राजनितिमा नदेखिएका कुरा परिणामका रुपमा प्राप्त हुनु अनौठो होइन । तर पनि गगनको प्रधानमन्त्रीको बाटो सहज भने छैन ।
यस्तो अवस्था देख्दा देख्दै पनि विश्वप्रकाश किन गगनलाई प्रधानमन्त्री बनाउने अभियानमा छन त ? गगन आफैं पनि प्रधानमन्त्रीको दौडमा किन छन त ? अब पनि देउवालाई नै प्रधानमन्त्री बनाउने हो भने काँग्रेसबाट आम जनता टाडिने खतरा बढेर गएको छ । आफुहरुले मुख्य नेतृत्व गर्ने बेलामा देउवाका कारणले काँग्रेस कार्यकर्तामा निराशा आउने होकी भन्ने महामन्त्रीद्वयलाई भित्री चिन्ता देखिन्छ । चुनाव ताका गगनले प्रधानमन्त्री हुने र शर्माले गगनलाई प्रधानमन्त्री बनाउने भनेरै भोट मागे र जिते पनि । चुनावताका कुनै दिन पार्टी सभापति देउवाको नाम उच्चारण समेत नगरेका महामन्त्रीद्वयले प्रधानमन्त्रीका लागि अन्तिमसम्म लडाई लड्ने देखिन्छ ।
गगन प्रधानमन्त्री बन्ने बाटो
१) गगन थापा प्रधानमन्त्री बन्नै सक्दैनन त ? त्यसो पनि होईन । गगन प्रधानमन्त्री बन्ने केही आधारहरु बनेका छन । गगनका लागि सबैभन्दा मुख्य आधार भनेकै आफुभन्दा सिनियर नेता विश्वप्रकाशको दरिलो साथ नै हो । त्यस बाहेक विश्वप्रकाशले पार्टी नेतृत्वलाई सहमतिमा ल्याउन सक्ने क्षमताले पनि गगनलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्याउन सक्छ ।
२) अन्य दलमा जस्तो काँग्रेसमा पार्टी नेतृत्व सिधै प्रधानमन्त्रीको दाबेदार हुने अवस्था छैन । काँग्रेसले आफ्नो संसदीय दलमा नेता चयन गर्छ । सर्वसम्मती नभए सांसदहरुले मतदान गरेरै संसदीय दलको नेता छान्ने काँग्रेसको परम्परा छ । संसदीय दलको नेता नै प्रधानमन्त्रीको दाबेदार हुन्छ । गगनको पहिलो खुटकिलो नै संसदिय दलको नेता हुने हो । त्यसमा आफ्ना पार्टीबाट निर्वाचित भएका सबै सांसदहरुले गगनलाई साथ दिने अवस्था छैन । ससदीय दलमा गगनले देउवासंग चुनावमै जानु पर्ने देखिन्छ । त्यतिबेला देउवालाई हराएर दलको नेता बन्न सक्ने वातावरण बनाउन सक्ने सम्भावना देखेर नै शर्मा र थापा लागेको देखिन्छ । प्रत्यक्षमा निर्वाचितहरुमा थापा र देउवालाई समर्थन गर्नेको संख्या बराबर जस्तो छ । रह्यो समानुपातिकबाट आउने सांसद । त्यसमा देउवा हाबी हुने खतरा छ । त्यसमा केही सांसदलाई मनाउन सक्ने हो भने गगन दलको नेता हुन सक्छन ।
३) अहिलेको समिकरणले सरकार बनाउन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक हुने देखिन्छ । रविले कम्तिमा अहिले देउवाको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने अवस्था देखिदैंन । नयाँ जनाधार बोकेर आएको पार्टीलाई फरक खालको दबाब छ । जुन देउवा बिरुद्धको जनमत हो । त्यस कारण काँग्रेसले गगनलाई अघि सार्दा लामिछानेले सरकारलाइ बहुमत पुर्याउन सहमति जनाउन सक्छन । स्मरण रहोस कि गगन थापाको क्षेत्र काठमाण्डौ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वार नदिएर गगनलाई सहयोग गरेको थियो ।
४) काँग्रेसका अधिकाशं नेतालाई आफ्नो पार्टी संगठन देउवाको नामले बलियो बन्दैन भन्ने लागेको छ । त्यसमा पनि समानुपातिक सूचीमा भएका नामका कारणले काँग्रेसको मत घटेको कुरा गगन स्वयमले सार्वजनिक रुपमै भनिसकेका छन । यस्तो बेलामा विश्वप्रकाशले देउवा समुहमा रहेका नेताहरुलाई मात्रै होईन देउवा स्वयमलाई पनि गगनका पक्षमा सहमति गराउन सक्ने सम्भावना छ । समानुपातिक सूची तयार गर्दा पनि काँग्रेस भित्रको असन्तुष्टि मिलाउन मुख्य भुमिका महामन्त्री शर्माले नै खेलेका थिए । देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जु खाँडको नामलाई समानुपातिक सूचीमा तल राखेर निर्वाचन आयोगमा पेश गर्न शर्माले नै सभापति देउवा र आरजुलाई मनाएका थिए । पार्टीको आन्तरिक संगठनमा शक्तिशाली बन्दै गएका शर्माले अहिले पनि गगनका लागि देउवालाई सहमतिमा आउने वातावरण निर्माण गर्न सक्छन ।
५) गठबन्धनको मुख्य साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका रुपमा गगनलाई स्वीकार्न सकिने बताइसकेका छन । काँग्रेसले निर्णय गरेर गगनलाई प्रधानमन्त्री बनायो भने मान्न तयार रहेको प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन । प्रचण्डको अभिव्यक्तिले पनि गगनका लागि प्रधामन्त्रीको कुर्सीमा पुग्ने बाटो फराकिलो बनाएको छ ।
निर्वाचन जितेका देउवा पक्षीय केही नेताहरुले अबको प्रधानमन्त्री देउवा नै हुने भन्दै अभिव्यक्ति दिन थालेकाले पनि देउवा प्रधानमन्त्रीमा गगनलाई छोड्न तयार छैनन भन्ने संकेत गरिसकेको छ । उनी आफैंले केही बोलका छैनन तर आफ्ना निकटहरुबाट बोल्न लगाइरहेका छन । अवस्था जे जस्तो भए पनि काँग्रेस भित्र अब दुई महामन्त्री शर्मा र थापा एकै ठाउँमा उभिएर अघिल्लो पुस्ताका नेतामाथि धाबा बोल्ने निश्चित नै छ ।