झापा, मंसिर १३ ।नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनुभएको छ ।
मङ्गलवार काठमाण्डौमा महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुग्नुभएका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनुभएको हो ।
झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाण्डौ पुग्नु भएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताउनुभयो ।
महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ ।
त्यस कारण अहिले म महामन्त्री गगन थापालाई काठमाण्डौ ४ बाट निर्वाचित हुनुभयो, तपाईं सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नुभएको हो । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने ढङ्गले अगाडि बढ्नुस् भन्नका लागि म आएको हो । यसलाई अभियानकै रूपमा सुरु गर्न पनि म आएको हो ।’
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेता र सांसदसँग छलफल अगाडि बढाउने पनि बताउनुभयो । पत्रकारसं कुरा गर्दै उहाँले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताउनुभयो । शीर्ष नेतालाई थापाको प्रस्तावक बनाउन नसकेमा आफु प्रस्तावक बसेर गगनलाई प्रधानमन्त्री बनाउने अभियान सञ्चालन गर्ने शर्माले बताउनु भयाे ।