मंसिर ४ गते भएको आम निर्वाचनको देशैभरि मतगणना अन्तिम चरणमा पुगेको छ । देशका ३ वटा क्षेत्रबाहेक अन्य क्षेत्रका सबैजसोको परिणाम सार्वजनिक भइसकेको छ । झापा १ सहित जिल्लाका सबै क्षेत्रका मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
झापा १ मा नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका विश्वप्रकाश शर्मा निर्वाचित हुनु भएको छ । शर्माले नेकपा एमालेका स्थायी कमिटि सदस्य अग्नीप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गर्दै विजयी नतिजा निकाल्न सफल हुनु भएको छ ।
झापा १ मा नेकपा एमालेको सांगठनिक संरचना निक्कै बलियो मानिन्छ । राप्रपासंग समेत तालमेल गरेरको एमालेले आफ्ना उम्मेद्वारलाई किन जिताउन सकेन भन्ने यतिबेला चसोको बिषय बनेको छ । यस क्षेत्रमा २०५६ र २०६४ को निर्वाचन बाहेक कहिल्यै एमालेबाहेका उम्मेद्वारले चुनाव जितेका छैनन । २०७४ मा माओवादीका राम कार्की विजयी हुँदा पनि एमालेकै साथले मात्रै नतिजा निकाल्न सकेका थिए । तर यति बलियो संगठन र राप्रपाको साथ पाउँदा समेत पनि एमालेका नेताहरु अग्नी खरेल र रविन कोइरालाको पराजय किन भयो ? झापा १ को चुनावलाई नजिकबाट नियाल्दा यसका केही तथ्यहरु देखा परेका छन । त्यसलाई यहाँ प्रस्तुत गरेको छु ।
चुनावी मुद्दा स्थानीय प्रतिकुल
झापा १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट अग्नी खरेल उम्मेद्वार हुने बित्तिकै वहाँले पाहुनाको आरोप खेप्नु पर्यो । २०७४ मा एमालेको सहयोगमा माओवादीका राम कार्कीले चुनाव जिते पछि क्षेत्रका नागरिकसंगको सम्बन्ध स्थापित गर्न सक्नु भएन । तीन बर्षे कोरोना कालको महामारीमा यो क्षेत्रको सांसदलाई खोज्दा पनि आम नागरिकले भेटेनन । त्यसले बाहिरबाट आएको पाहुना उम्मेद्वारलाई जिताउनु नहुने रैछ भन्ने छाप यस क्षेत्रका मतदातामा परेको थियो । त्यसलाई व्यवस्थापन गर्न एमाले र खरेलले नजानेको देखियो । खरेलले हरेक भाषणमा आफु पाहुना होईन भनेर भनिरहे जुन कुराले वहाँ पाहुना नै भएको कुरा स्थापित गर्दै लग्यो । खरेलले त्यसलाई बिषयान्तर गरेर भावि रणनिति बनाउन सक्नु पर्थ्यो तर त्यस भएन र आधाभन्दा बढी समय पाहुना होइन भन्ने मै खर्च गर्नु पर्यो । एकातिर काँग्रेस उम्मेद्वार विश्वप्रकाशले स्थानीयस्तरका कुरा गरेर मतदाता आफ्नो पक्षमा पारिरहेका मात्रै थिएनन अग्नी खरेलका बारेमा कुनै प्रतिक्रियासम्म पनि शर्माले चुनावी अभियान भरि दिएनन । शर्माको चलाकपुर्ण चुनावी रणनितिको सुइको पनि नपाएका खरेलले सबैजसो कोणसभाहरुमा शर्मा बिरुद्ध स्थानीय भएको भरमा राजनिति गर्ने भन्दै गाली बर्साए । जुन कुरा मतदाताहरुका लागि बिष झैं भयो । स्थानीय नेता नहुँदाको पिडा भोगेका मतदाताले खरेलले शर्मालाई गाली गरेको रुचाएनन । शर्माको बिनम्र स्वभावका बिरुद्द खरेलको गाली मतदातालाई सुर्य चिन्हबाट टाढा लाने सबैभन्दा बलियो कारण बन्यो ।
नेकपा एमालेले चलाएको ‘NO SYMPATHY’ अर्थात सहानुभुति छैन भन्ने अभियानले शर्मालाई जित निकाल्न झन सजिलो बनायो । मानव स्वभाव बिरुद्ध सहानुभुति नै नराख भन्ने एमालेको फरमान कार्यकर्ता तहमा नै अस्वीकार्य भयो भने मतदातासम्म पुग्दा त्यसले खरेलबिरुद्ध जनतम निर्माण गर्न सजिलो बनायो । कसैलाई सहयोगी भावना नराख्नु भन्ने बुझाई मतदाताको रह्यो । असहयोगी मान्छे र पार्टीलाई किन भोट दिने ? अहिले नै सहानुभुति नराख्नु भन्ने आदेश गर्नेले जितेर गए पछि हामीलाई अप्ठ्यारो सारोगारो पर्दा कसरी सहानुभुति राख्छ भन्ने कुरा जनजनमा स्थापित भयो र बर्षौंदेखि सुर्य चिन्हमा मतदान गर्दै आएका सयौंं मतदातालाई खरेललाई भोट हाल्न मन नलाग्ने वातावरण बन्यो । जुन कुरा एमालेजनले अध्ययन गर्न सकेनन ।
एमाले उम्मेद्वार खरेलका छोरा अमेरिकी सेनामा भएको खबर सार्वजनिक भइसकेको थियो । लगभग त्यो बिषय सेलाउँदै पनि गएको समयमा काँग्रेस उम्मेद्वार शर्माकी छोरीले आफ्ना बुवाले पढेको र हजुरआमाले पढाएको धुलाबारी माविमा आएर पढाउने मन छ भनेर बनाएको भिडियो प्रति एमाले पार्टीले संस्थागत रुपमा बिरोध जनाउनु खरेल हार्ने अर्को महत्वपुर्ण कारण बन्यो । एकातर्फ खरेलका छोरा अमेरिकी सेनाको बन्दुक बोकेको र अर्का तर्फ शर्माकी छोरीले आफ्नै गाउँको बिद्यालयमा पढाउन आउँछु भनेर बनाएको भिडियो बिच आम मानिसले तुलना गरे । त्यसबाट पनि परिवारका हिसाबले पनि खरेलभन्दा शर्मा अब्बल रहेछन भन्ने कुरा स्थापित हुँदै गयो । सदन भित्र एमसीसीको घुमाउरो पाराले समर्थन गर्ने र बाहिर आएर बिरोध गर्ने तर आफ्नो छोरो एमसीसीवाला देशकै सेनामा बन्दुक बोकिरहेको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक नगरेका खरेलका लागि शर्माकी छोरीले बनाएको भिडियो सामग्रीप्रतिको विरोध एमालेकै लागि ‘ब्याकफायर’ भयो । बिषयलाई तत्काल आफ्नो पक्षमा पार्न सक्ने चतुर खेलाडी शर्माले आफैंले त्यस बिषयको कुनै बिरोध गरेन नै बरु थप तीन वटा विद्यालयहरुलाई आफु र आफ्नो परिवारको योगदानलाई दर्शाउने गरी बिषय समेटेर थप दुई वटा भिडियो छोरीलाई बनाउन लगाएर सार्वजनिक गरे । जसले शर्मालाई भावनात्मक रुपमा मतदातासंग जोड्ने काम गर्यो ।
सामाजिक सञ्जालको कमजोर व्यवस्थापन
चुनावताका सामाजिक सञ्जालको प्रयोगले महत्व राख्छ । झापा १ को चुनावमा यस पटक सामाजिक सञ्जाल हेर्नेले सहजै अनुमान लगाउन सक्थ्यो कि शर्मा के गर्दैछन र खरेल कुन बाटो हिडिरहेका छन । तर त्यस बारेमा गहिरो गरी अध्ययन गर्न एमालेले चाहेन वा त्यसमै रमाइरह्यो त्यो एमालेले नै भन्ला ।
तर एकातर्फ आफ्ना कार्यकर्ता र शुभेच्छुकहरुलाई सामाजिक सञ्जालको प्रयोगमा बिषेश ध्यान दिन शर्माले वडा तहसम्म संयन्त्र निर्माण गरेका थिए र त्याहाँ शर्माको स्पष्ट निर्देशन थियो कि एमालेजनलाई गाली र अपमान हुने सामग्री पोष्ट नगर्नु । तर त्यसको ठिक बिपरित एमालेका नेता कार्यकर्ताहरु सामाजिक सञ्जाललाई शर्मा बिरुद्ध बिष बमन गर्ने ठाउँ बनाएर होमिएका देखिन्थे । त्यसले आम मतदाता जो परबाट यो सबै कुरा नियालिरहेको थियो त्यसलाई शर्माको सालिनता तर्फ ढल्कीन बाध्य बनायो । यतिसम्मकी चुनाव प्रचारको अन्तिम तिर काँग्रेसजनले शर्मा र खरेलको तुलना गरेर एउटा पोष्टर सामाजिक सञ्जालमा पठाए । त्यसमा खरेलभन्दा शर्मा ठिक छन भन्ने भद्र रुपमा केही बिषय राखिएका थिए । तर त्यो पोष्टर सार्वजनिक भएको केही घण्टा बित्न नपाउँदै हुबहु रंग, त्यही फोटो राखेर शर्मा भन्दा खरेल ठिक छन भनेर अर्को पोष्टर एमालेजनले सार्वजनिक गरे । आफुलाई प्रमाणीत गर्न त अर्काको कला चोर्नु पर्ने अवस्थामा एमालेजन पुगेछ भने नयाँ के गर्ला र भनेर एउटा तहका मतदाताले अनुमान लगाए । जसबाट शर्मालाई मत थप्न सहयोग गर्यो । त्यसैले यो चुनावमा एमालेजनको सामाजिक सञ्जालको प्रयोग कमजोर देखियो ।
सहयोगी भनेका मिडिया नै हारको कारण बने
चुनावताका उम्मेद्वारलाई स्थापित गराउने सबैभन्दा बलियो भनेकै आमसञ्चार माध्यम नै हुन । सामाजिक सञ्जालमा मानिसले व्यक्तिगत कुरा लेख्ने भएकाले मिडियाको बिषयले चुनावताका महत्व पाउँछ । तर झापा १ मा यस पटक सहयोग गर्ने भनेर प्रयोग भएका मिडियाहरुकै कारण एमाले उम्मेद्वार खरेल र कोईरालालाई पराजित गरायो ।
एमाले पक्षका समाचार बाहिर ल्याउने नाममा केही मिडियाले यस्ता यस्ता सामग्री छापेकी त्यसलाई स्थानीय मतदाताले पचाउनै सकेनन । समाचार छापेर आफु निकट नेताको स्याबास्सी पाउने र त्यसैमा रमाउने कारणले एमाले उम्मेद्वारका बलियो पक्षको बारेमा मिडियाहरुले लेख्नै खोजेनन वा त्यता तिर ध्यान पुगेन । केही मिडियाहरु एमालेको प्रचार माध्यम मात्रै भएकै कारण पनि सन्तुलित सञ्चारमाध्यमले पनि एमाले उम्मेद्वारका बारेमा लेख्न मन गरेनन । केही मिडियाले आफुलाई सामाजिक सञ्जालस्तरकोसम्म पनि नराख्ने गरी एमाले उम्मेद्वारको प्रचार गरे जुन कुरा त्यसका पाठकले रुचाएनन ।
लामो समय स्थानीयस्तरमा गतिलो छवि निर्माण गरेका सञ्चारकर्मीहरुले एमालेको पक्षमा देखाएको रबैया त झन एमाले उम्मेद्वारकै लागि यति खतरनाक भयो कि त्यस्तै कारणले पनि केही सय मत घटेको अनुमान गर्न सकिन्छ । एकतर्फी लागेकै कारण ति मिडियाहरुले लेखेको कुरालाई आम मतदाताले पत्याएनन र त्यसको बिरुद्ध जनमत निर्माण भयो । त्यसको ठिक बिपरित काँग्रेस उम्मेद्वार शर्माको चुनावी शैली, स्वभाव र उनले उठाएका चुनावी मुद्दाले देशव्यापी रुपमा सकरात्मक चर्चा पायो । स्थानीय देखि राजधानी केन्द्रित मुलधारका मिडियाले पनि शर्माको समाचार लेख्दा सकरात्मक नै बिषय बाहिर गयो । जसले शर्मालाई खरेलको तुनलामा अब्बल सावित गर्यो ।
शर्मा मात्रै होईन ‘अण्डर डग’ टिम जस्तो देखिएका काँग्रेसका प्रदेशसभा १ का उम्मेद्वार गोपाल तामाङ्गले बिना चर्चा भित्रभित्रै आफ्नो जनमत निर्माण गर्दै गरेको कुरा उनका प्रतिस्पर्धी एमालेका रविन कोईराला र उनी निकटकाहरुले आँकलन नै गर्न सकेनन । अन्तिम अवस्थामा खरेल हार्ने निश्चित देखेर कोइरालालाई मात्रै भए पनि जिताउन सकिन्छ कि भनेर उनी निकटकाहरुले केही प्रयास गरेको देखिन्थ्यो तर ढिलो भइसकेको थियो । त्यो बेलासम्म तामाङ्गको रफ्ताले गति लिइसकेको थियो ।
त्यस बाहेक बिगतमा एमालेका उम्मेद्वारहरुको दायाँबायाँ को र कस्ता व्यक्ति हुन्थे र अहिले कस्ता व्यक्तिहरु थिए भन्ने कुराले पनि एमाले उम्मेद्वारलाई हराउन काफि देखियो । संगठनमा प्रभाव राख्ने, समाजमा सकारात्मक छवि निर्माण गरेका व्यक्ति मात्रै होईन पुराना र इमान्दार कार्यकर्ताहरुलाई ओझेलमा पारेर विगतमा विभिन्न प्रकारका गलत प्रकरणहरुमा नाम जोडिएकाहरु जो स्थानीयहरुले नरुचाएका व्यक्ति हुन उनीहरु नै अहिले एमाले उम्मेद्वारको दायाँबायामा संधैजसो देखिए मात्रै होईन उनीहरुकै वरिपरि चुनावी अभियान घुमिरह्यो त्यसैले पनि एमालेले नराम्रो पराजय व्यहोर्नु पर्यो ।
यी नै कारणले स्थानीय तहमा यस क्षेत्रको २१ वडा मध्ये १४ वडा अध्यक्ष, मेचीनगरको प्रमुख र उपप्रमुख सहित ८८ प्रतिशत बढी जनप्रतिनिधि जिताउन सफल भएको एमालेले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नमीठो हारको सामना गर्नु पर्यो ।
शसक्त संगठन निर्माण गरेको झापा १ को एमालेले आगामी दिनमा समाजमा सकारात्मक छवि निर्माण गरेका व्यक्ति र नेताहरुलाई अघी सारेर पुन आफुलाई बलियो पार्टीको रुपमा स्थापित गरोस शुभकामना ।