झापा,मंसिर ११ । झापा १ बाट प्रतिनिधीसभामा उम्मेदवार बनेका १२ उम्मेदवारको जमानत जफत भएको छ । कुल १५ उम्मेदवार रहेकोमा ३ बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो ।
प्रतिनिधीसभा तर्फ नेपाली काँग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्मा,नेकपा एमालेका अग्नी प्रसाद खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीको बाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत भएकामा ३ जना स्वतन्त्र र अन्य दलका उम्मेदवार रहेका छन ।
निर्वाचन कानुन अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । झापा १ मा खसेको ८१ हजार ६ सय २४ मध्ये ७६ हजार ४ सय ४७ मत सदर भएको छ ।
जनता समाजवादी पार्टीका राधा थापा,मंगोल नेशनल अर्गनाइजेशनका सन्तोष तामाङ,नेपाल जनता पार्टीका रामकुमार काफले,जनसमाजवादी पार्टी नेपालका रमेश बास्तोला तथा राष्ट्रिय जनमुक्त्ति पार्टीका चित्रहाङ जबेगुको जमानत जफत भएको छ ।
त्यस्तै संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदममाया लिम्बु,नेपालका नेपाली पार्टीका मुकुन्द दाहाल,लोकतान्त्रिक समाजवादी पाटीै नेपालका ओलीन राजवंशी र हाम्रो नेपाली पार्टीका ठण्ड बहादुर अधिकारीको पनि जमानत जफत भएको छ ।
स्वतन्त्र उम्मेदवार बनेका ३ जनाको पनि जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार केन्द्र कुमारी दाहाल,बिदुर कुमार खतिवडा र बिकास राजवंशीको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।