झापा ,मंसीर ६ । झापाको ५ निर्वाचनमा जारी प्रतिनिधी सभातर्फको मतगणनामा नेकपा एमाले अगाडी देखिएको छ ।
नेकपा एमाले ३ निर्वाचन क्षेत्रमा अगााडी देखिएको हो । त्यस्तै नेपाली काँग्रेस र राप्रपाले १ १ स्थानमा अग्रता कायम गरेका छन । झापा निर्वाचन क्षेत्र नम्बर १ मा काँगे्रस,३ मा राप्रपा तथा २,४ र ५ मा नेकपा एमालेले अग्रता बनाएका हुन ।
झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले आफ्ना निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेललाई ५ हजार २ सय १ मतले पछाडी पार्नुभएको छ । मतगणना भइसकेको २७ हजार ४ सय ८ मतमा शर्माले १३ हजार ८ सय ५० मत प्राप्त गर्नु भएको छ भने एमालेका खरेलले ८ हजार ६ सय ४९ मत प्राप्त गर्नु भएको छ ।
उता झापा क्षेत्र नम्बर २ मा भने नेकपा एमाले अगाडी रहेको छ । एमालेका देवराज घिमिरेले ७ हजार ३ सय २८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ६ हजार २ सय ६ मत ल्याएर दोस्रो स्थानमा रहदाँ गठबन्धनबाट माओवादीका उम्मेदवार हरि कुमार राना तेस्रो स्थानमा रहनुभएको छ ।
त्यस्तै झापा क्षेत्र नम्बर ३ मा भने राप्रपा अगाडी रहेको छ । राप्रप्रा अध्यक्ष राजेन्द्र लिङदेनले ५ हजार २सय ७४ मत ल्याउदाँ कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३ हजार ७सय ८८ मत ल्याएर दोस्रो स्थानमा रहनुभएको छ । उहाँहरुको बिचमा १ हजार ४ सय ८६ मतको मतान्तर रहेको छ ।
त्यस्तै झापा ४ मा सुरुवाती रुपमा अगाडी देखिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाललाई पछि पार्दै एमालेका लालप्रसाद सावा अगाडि आउनुभएको छ । साँवाले ४ हजार २०४ मत ल्याउँदा ढकालले ४ हजार १७० मत प्राप्त गर्नुभएको छ। गठबन्धनका साझा उम्मेदवार कांग्रेसका देउकुमार थेबेले भने २ हजार ४६७ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र नम्बर ५ मा एमालेको सुरुवाती अग्रता कायमै रहेको छ । ओलीले नेपाली कांग्रेसका डा खगेन्द्र पाण्डव अधिकारीलाई ४ हजार ५ सय १२ मतले पछि पार्नुभएको अवस्था छ । ओलीले ११ हजार २८ मत ल्याउँदा अधिकारीले ६ हजार ५सय १६ मत ल्याएको निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले जानकारी दिनुभयो ।