झापा,मसिंर ३ । निर्वाचन आयोगले निर्वाचनमा हुन सक्ने अवाञ्छित कार्यको कानुन बमोजिम प्रतिकार गर्न निर्वाचनमा खटिएका कर्मचारीहरुलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज बिशेष निर्देशन जारी गर्दै कसैले अवाञ्छित कार्य गर्न खोजेको अवस्थामा कानुनबमोजिम प्रतिकार गर्न निर्देशन दिनुभएको हो ।
निर्वाचनमा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरूपयोग गर्न नदिन भनिएको छ । ‘कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानुनबमोजिम प्रतिकार गर्नाेस् तर कदापी यस्ता कार्यको मतियार नबनोस’ निर्देशनमा भनिएको छ ।
९ बुदाँमा जारी गरिएको निर्देशनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न भन्नुभएको छ । ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नाेस् ।’निर्देशनमा उल्लेख छ । निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्ने भन्दै प्रमुख आयुक्त तर थपलियाले कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन भन्नुभएको छ ।
त्यस्तै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य गर्नन र मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरूबाट पर्न सक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न भनिएको छ ।
साथै, आयोगले मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि भनेको छ ।